पहिलो पटक ‘नक्षत्र वृक्षरोपण’

0
Shares

हेटौंडा ।

बन र वनस्पति संरक्षण तथा विकासबारे मकवानपुरमा धार्मिक मान्यतालाई अनुशरण गरी नयाँ सोचअनुसार कार्य आरम्भ गरिएको छ । यसका लागि ‘नक्षत्र वृक्षरोपण’ को अवधारणा अगाडि सारिएको हो ।

भीमफेदी गाउँपालिका वडा नम्बर–१, बुङ्दल बजार क्षेत्रमा बिहीबार २७ जातका बिरुवारोपण गरिएको छ । सबडिभिजन बन कार्यालय भैंसे र दरबारडाँडा सामुदायिक बन उपभोक्ता समूहको संयुक्त आयोजनामा स्मृति नक्षत्र वाटिका शिलान्यास गरी बिरुवा रोपिएको हो ।

सम्भवत पहिलो पटक भूमिपूजन र नक्षत्र पूजा गरी राशिअनुसार बिरुवा रोपिएको डिभिजन बन कार्यालय राप्ती, मनहरी प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार १२ राशि, ९ ग्रह र २७ नक्षत्रलाई आधार मानेर नक्षत्र वाटिकामा बिरुवा रोपिएको छ । प्रकृति र संस्कृतिको संयोजनलाई पहिलो पटक प्रयोग गरिएको उहाँले बताउनुभयो ।

‘धेरैलाई आफ्नो राशिअनुसार कुन बिरुवा हुन्छ भन्ने थाहा छैन । यस कार्यले धेरै मानिसलाई राशि, नक्षत्रअनुसारबिरुवा चिन्न सहयोग गर्नेछ,’ आचार्यले भन्नुभयो । नक्षत्र बगैंचामा केरा, अमला, समि, आँक, मौलश्री, रिठ्ठा, पलास, बाँस, जामुन, डुम्री, सिसौ, खयर, पिपल, नागकेशरी, वर, लहरेपिपल, बेल, अर्जुन, कंकरो, सिमल, वेत, कटहर, कदम, आँप महुवा, निमको बिरुवा रोपिएको आचार्यले जनाउनुभयो ।

धार्मिक मान्यतानुसार हरेक नक्षत्रको आ-आफ्नो प्रभाव हुन्छ । जुन नक्षत्रमा जुन व्यक्तिको जन्म हुन्छ, सोहीअनुरुप उसको व्यक्तित्व, व्यवहार र आचरण हुन्छ । सनातन धर्ममा रुख र नक्षत्र मानवजीवनको अभिन्न अंग मानिएको छ । पुराणअनुसार २७ नक्षत्र पृथ्वीमा २७ रुखका रुपमा उत्पन्न भएका छन् । ती रुखमा प्रत्येक नक्षत्रको दैवीय अंश विद्यमान हुन्छ ।

यी रुखको सेवा वा पूजा गर्नु सम्बन्धित नक्षत्रको सेवा वा पूजा हुनजान्छ । सुख, शान्ति एवं दीर्घायुका लागि आआफ्नो नक्षत्र रुखको पूजा गर्नु राम्रो मानिने आचार्यको तर्क छ ।

नक्षत्र वाटिकामा नक्षत्रसँग मेल खाने गरी बिरुवा चयन गरिन्छ । शारीरिक, मानसिक, आध्यात्मिक हिसाबले २७ नक्षत्रका लागि सिफारिस गरिएका रुख एकै स्थानमा रोप्नु राम्रो मानिन्छ । यसबाट व्यक्तिको कल्याणमात्र नभइ वृक्षरोपणले पृथ्वीका लागि योगदानसमेत पुग्ने विश्वास छ ।

अश्विनी नक्षत्रमा कुचिला, भरणी नक्षत्रमा अमला, कृतिका नक्षत्रमा डुम्री, रोहिणी नक्षत्रमा जामुन, मृगशिरा नक्षत्रमा खयर, पुनर्वसु नक्षत्रमा बाँस, पुष्य नक्षत्रमा पिपल, अश्लेषा नक्षत्रमा नागकेशर, मघा नक्षत्रमा बर रोप्नु राम्रो मानिन्छ ।

पूर्व फाल्गुनी नक्षत्रमा पलाँस, उत्तर फाल्गुनी नक्षत्रमा लहरेपिपल, हस्त नक्षत्रमा जाई अथवा रिठ्ठा, चित्रा नक्षत्रमा बेल, स्वाति नक्षत्रमा अर्जुन, विशाखा नक्षत्रमा कंकेरो, अनुराधा नक्षत्रमा बकुलपुष्प, ज्येष्ठा नक्षत्रमा सिमल, मूल नक्षत्रमा राजवृक्ष, पूर्वाषाढा नक्षत्रमा बेत, उत्तराषाढा नक्षत्रमा कटहर, श्रवण नक्षत्रमा आँक , धनिष्ठा÷श्रविष्ठा नक्षत्रमा समी, शत्भिषा÷शततारका नक्षत्रमा कदम, पूर्वभांपद÷पूर्वप्रोष्ठपदा नक्षत्रमा आँप , उत्तरभापद÷उत्तरप्रोष्ठपदा नक्षत्रमा नीम र
रेवती नक्षत्रमा महुआ वृक्षरोपण गर्नुपर्ने बिहीबार थालिएको वृक्षरोपण कार्यक्रममा बताइएको हो ।

नवग्रह वृक्षारोपणमा सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु गरी ९ ग्रह धर्मसंस्कृतिले मानिआएको छ । ग्रहको सकारात्मक र नकारात्मक प्रभाव दुवै हुने मान्यता छ । नवग्रहको पूजाबाट सकारात्मक व्रह्माण्डीय ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ । नवग्रह वाटिकामा नवग्रह मण्डलअनुसार बिरुवा रोपणका लागि स्थान छुट््याइन्छ । हरेक ग्रहअनुसार यज्ञका लागि समिधाको प्रकार तय गरिएको हुन्छ । र सोहीअनुसार प्रजाति मिलान हुने गरी बिरुवाहरु रोपिन्छन् ।

ग्रहको विपरीत असरबाट बच्नका लागि विभिन्न प्रजातिका समिधा प्रयोग गरिन्छ । धर्मशास्त्रअनुसार आँकको समिधाले रोगको नाश गर्दछ, पलाँसले सबै कार्यसिद्ध गर्दछ, खयरले क्रोधबाट मुक्ति दिने, अपमार्गले बुद्धि विकास र निर्णय क्षमता वृद्धि गर्ने, पिपलले प्रजा (सन्तति) लाई काम गराउने, डुम्रीले स्वर्गको अनुभूति दिलाउने, समीले पाप नाश गर्ने, दुबोले दीर्घायु दिने र कुशले सबै मनोरथसिद्ध गर्ने विश्वास गरिन्छ ।