जनताको आत्महत्या नेताको सर्वसत्ता



परिवर्तनमा प्रसन्न हुने व्यक्तिले यसका ‘साइड इफेक्ट’ अर्थात् दुष्प्रभावलाई पनि बिर्सनु हुन्न । पछिल्लो समय युवा पुस्तामा आत्महत्याको जुन लहर चलेको छ, त्यो परिवर्तनकै दुष्प्रभाव हो । परिवर्तनलाई पचाउन नसक्ने व्यक्ति विषादमा जान्छ, निराशाको सिकार हुन्छ, आफूलाई शक्तिहीन ठान्छ र अन्ततः स्वयं मृत्युको मुखमा धकेलिन्छ । पछिल्लो समय सूचना प्रविधिले मारेको छलाङ र मानवीय जीवनशैलीमा आएको परिवर्तन सबैका लागि सुपाच्य छैन । मान्छे सूचना प्रविधिबाट टाढा जान पनि चाहँदैन र परिवर्तित जीवनशैलीको धारमा उल्टो उभिन पनि सक्तैन । घाँटी हेरेर हाड निल्ने र जीवनमा सम्झौता गर्दै अघि बढ्ने बाँच्छन्, परिवर्तनसँगसँगै हिँड्न चाहने तर नसक्नेहरु विच्छिप्त बन्छन्, केहीले त बाँचिरहनुको अर्थ नै देख्दैनन् ।

मानवका अनेक कमजोरीमध्ये एक कमजोरी हो– भ्रममा बाँच्नु । जो भ्रममा बाँचेको हुन्छ उसले समयसँग सम्झौता गर्न सक्तैन । महाभारत कालमा भीष्मपितामह, सूर्यपुत्र कर्ण, द्रोणाचार्य, कुन्ती, धृतराष्ट्र आदि महान् शक्तिशाली पात्र थिए तर समयमा सम्झौता गर्न नसकेका कारण उनीहरु कि त मारिए, कि त सार्वजनिक लज्जामा परे । श्रीकृष्णले बारम्बार सम्झौता गरे, त्यसैले उनको नाम रणछोड रह्यो । जित्नै नसक्ने अवस्थामा युद्धक्षेत्र छोडेर भाग्न पनि सक्नुपर्छ भन्ने उनले पाठ सिकाए । महाभारतको युद्धमा महाबलि कर्णको वध गराउनका लागि पनि उनी अर्जुनलाई लिएर रणभूमिभन्दा बाहिर गए । किनभने उनलाई कर्णको रथको चक्का भासिने ठाउँ खोज्नु थियो, अन्यथा अर्जुनभन्दा निकै कुशल योद्धा कर्णलाई मार्न सम्भव थिएन ।

महाभारतको युद्धअघिको कुरा हो, मगधराज जरासन्धले श्रीकृष्णलाई युद्ध गर्न चुनौती दियो । उसले यवन देशको राजा कालयवनलाई पनि आफ्नो साथ रणमैदानमा उतारेको थियो । वास्तवमा कालयवनलाई भगवान् शंकरले कुनै पनि चन्द्रवंशी वा सूर्यवंशी व्यक्तिले उसलाई युद्धमा हराउन नसक्ने वरदान दिएका थिए । उसलाई कुनै हतियारको प्रयोग गरेर पनि मार्न सकिन्नथ्यो । भगवान् शंकरबाट पाएको वरदानका कारण कालयवन आफूलाई अमर ठान्थ्यो । कालयवनका अगाडि श्रीकृष्ण पनि पराजित हुन्छन् भन्ने सोचेर जरासन्धले श्रीकृष्णलाई युद्धको चुनौती दिएको थियो । यस्तो अवस्थामा ‘रणभूमि कायरले मात्र छोड्छ’ भन्दै जाइलागेका भए श्रीकृष्णको हार हुन्थ्यो । श्रीकृष्ण भाग्दै इक्ष्वाकु नरेश मानधाताका छोरा मुचुकुन्द मस्त सुतेको गुफामा पुगे । आफूले ओढेको रुमाल मुचुकुन्दलाई ओढाइदिए । जबरजस्ती कसैले उठाए आँखाको दृष्टिपर्नासाथ उठाउने व्यक्ति भष्म हुने वरदान पाएको मुचुकुन्दलाई श्रीकृष्ण ठानेर कालयवनले ‘ए उठ्’ भन्दै लात्ती हान्यो ।

यस प्रकारको चतु¥याइँ गर्न जसले सक्यो दीर्घकालीन विजय पनि उसैले हात पा¥यो । श्रीकृष्णबाट सिक्ने हो भने कुनै सन्दर्भमा बाबु सन्तनुलाई दिएको वचनको दास भएर भीष्म पितामहले दुर्योधनका हरेक अपराधमा साथ दिनुहुने थिएन । द्रौपदीको चिरहरणमा मौन समर्थक बन्नुहुने थिएन । कुन्तीले हिम्मत गरेर ‘कर्ण मेरो जेठो छोरा हो’ भन्न सकेको भए महाभारतको युद्ध नै हुने थिएन । निष्कर्ष हो, समयमा सम्झौता गर्न वा झुक्न जान्नुपर्छ ।

पछिल्लो समय बढ्दो आत्महत्याको कारण खोज्दै जाने हो भने तथाकथित आडम्बर र नझुक्ने मानसिकता कारण देखिन्छ । आफ्नो क्षमताले भ्याउँदैन भने ठूलो घर–परिसरको सपना किन देख्ने, बढी सुख–सुविधाका लागि किन दौडिने, विवाहको भोज–भतेरमा किन खर्च बढाउने, फेसबुक चलाउन नै समय छैन भने युट्युब र इन्स्ट्राग्राममा किन जाने ! आफूले बहुमत साबित गर्न सकिन्न भने भैरहेको सरकारलाई किन ढाल्ने ! व्यवहारले कम्युनिस्ट हुन सकिन्न भने पार्टीको नाम ‘कम्युनिस्ट’ किन राख्ने ! ‘स्पेलिङ चेकर’ चलाउन नै नजान्नेले च्याट जिपिटीका लागि किन बल गर्ने ! आइफोन एघार बोकेर चार प्याकेट चाउचाउको राहत पाउन किन लाममा उभिने ! जब मानिस सम्झौता गर्न सक्तैन तब आत्महत्याको विकल्प रोज्न पुग्छ ।

पछिल्लो समय सारुक ताम्राकारको आत्महत्याले धेरैलाई चकित पा¥यो । त्यति सबल र सुन्दर शरीरको व्यक्तिले आत्महत्या गर्छ भने अपाङ्गता भएका व्यक्तिले के गर्ने ! नाम चलेका कलाकारले नै आत्महत्या गर्ने हो भने गुमनाम सर्वसाधारणले कसको मुख हेरेर बाँच्ने ! नेपालमा मात्र होइन, विदेशमा पनि आत्महत्या बढेको छ । चिनियाँ गायिका काको लीलाई नपुग्दो केही थिएन भन्छन् बुझ्नेहरु । जापान सूचना प्रविधिमा मात्र नभएर आधुनिक परिवर्तनमा पनि अगाडि छ र मृत्युको परिमाण पनि अधिक भोगिरहेछ । वास्तवमा मान्छे जति आडम्बरमा बाँच्छ उति आत्महत्या गर्ने सम्भावना बढ्छ । जस्तो, चर्चित कलाकार कुनै कारणले ‘फ्लप भयो’ भने आत्महत्या गर्न पुग्छ । असफल भएको खबर पढ्न र सुन्न सक्तैन । त्यसैले कसैको असफलतामा बढी निर्दयी भएर कलम चलाउने हामी पत्रकार पनि कतिपय मृत्युका कारण बनेका हुन सक्छौं, सतर्क र संयम हुनु आवश्यक छ । जिम्मेवारीपूर्ण पत्रकारिता गर्ने पत्रकारको संख्या बढाउनु छ ।

गत मंसिर १८ गते नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेले आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरिन् । बानेश्वर बस्दै आएकी पुष्पाले प्रेमी सुधन संग्रौलासँग इन्गेजमेन्ट गरिसकेकी थिइन् । उनीहरुबीच विवाहको तयारी पनि चलिरहेको थियो । तर यही बीचमा आएको खटपटले इन्गेजमेन्ट तोडियो । त्यसको भोलिपल्ट पुष्पाले सुधनको घरको गेटमा पुगेर आत्मदाह गरेको समाचार बाहिर आयो । सुधनका अगाडि ठूलो प्रगति गरी देखाउने विकल्प छोडेर बहुमूल्य जीवन अन्त्य गर्ने मानसिकता किन जागृत हुन्छ पुष्पाहरुमा ? विश्लेषणको विषय छ ।

पुष्पाले आत्मदाह गरेको अर्को साता २५ मंसिरमा झापाकी ३० वर्षीया अर्की महिलाले पनि शरीरमा पेट्रोल छर्किन् र आगो लगाइन् । २६ मंसिरमा मकवानपुरकी ३० वर्षीया एक महिलाले पनि पेट्रोल छर्किएर आत्मदाह गरिन् । त्यस्तै, माघ ५ र ६ गते काठमाडौं र कैलालीमा लगातार यस्तै घटनाको दुष्प्रयास भयो । काठमाडौंका २८ वर्षीय पुरुष र कैलालीकी ६० वर्षीया महिलाले आफूलाई अन्त्य गर्ने प्रयास गरे । १० माघमा देशकै ध्यान तानिने गरी संसद् भवनअगाडि इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरे । प्रेमले त्यसरी आत्मदाह गरेपछि कास्की, बाग्लुङ र जुम्लामा पेट्रोल छर्किएर आत्मदाहको प्रयास भएको समाचार लहरका रुपमा सार्वजनिक भयो ।

विश्व स्वास्थ्य संगठनको गाइडलाइनले आत्महत्याका घटनालाई वर्णन गर्नुहुँदैन भन्छ । तर नेपालमा यो गाइडलाइन कसैले पनि अनुशरण गरेको देखिन्न । एपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा दैनिक २० जनाले आत्महत्या गर्छन् भने दुई सयभन्दा बढीले आत्महत्याको दुष्प्रयास गर्छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार प्रत्येक वर्ष सरदर ४ हजार ६ सय ७४ आत्महत्याका मुद्दा दर्ता हुन्छन् । विश्वमा आत्महत्याको जोखिममा नेपाल सातौं स्थानमा छ । नेपालजस्ता विकासशील मुलुकहरुमा आत्महत्या गर्ने मुख्य कारण भनेको सामाजिक लाञ्छना, धार्मिक र आर्थिक कारण रहेको विज्ञहरुको धारणा छ ।

पूर्वीय दर्शन र संस्कारबाट जब समाज पर–पर हुन थाल्यो तब निराशा, कुण्ठा र अभिशापले मान्छेलाई दुख दिन थाल्यो । धर्म–संस्कारलाई अन्धविश्वास र प्रतिगमन ठान्ने आजको पुस्ताले न त भ्यालेन्टाइनजस्ता पश्चिमी संस्कारलाई फेसनभन्दा माथि उठेर स्वीकार गर्न सक्यो, न त पूर्वीय दर्शनका लाभलाई बुझ्यो । पूर्वीय दर्शनमा रहेको विज्ञानलाई आजको समाजले बुझिरहेको छैन । ‘धर्म–विज्ञान’ पुस्तकमा पत्रकार तथा लेखक रोहिणी घिमिरेले भनेजस्तै पूर्वीय मान्यतामा रहेका विज्ञानसम्मत संस्कारप्रति बेवास्ता गरेका कारण समाज एकपछि अर्को समस्यामा फस्दै गएको छ । जस्तो, सगोत्री र सपिण्डी विवाहलाई पूर्वीय संस्कारले पूर्णतः निषेध गरेको छ । यस प्रकारको निषेधाज्ञा युवा पुस्ताको प्रेमलाई अपमानित गर्नका लागि होइन, भोलिको पुस्ता मानसिक तथा शारीरिक कुनै पनि प्रकारको अपांगतामा नजाओस् भन्नका लागि हो । कतिपय अवस्थामा सगोत्री वा हाडनाता विवाहपछि जन्मेको पहिलो पुस्ता सामान्य भए पनि नाति–पनातिको पुस्ता वा त्यसपछिको पुस्तामा शारीरिक तथा मानसिक अपांगता देखा पर्न सक्छ । यस प्रकारको संस्कारगत विज्ञानलाई नबुझ्ने नयाँ पुस्ताका लागि आधुनिक आचारसंहिता पनि मन पर्दैन । यद्यपि सतीप्रथाको वकालत गर्ने र नारीलाई हाँस्नसम्म नदिने विभेदकारी मनु–स्मृति र निर्णयसिन्धुमा कमजोरी अवश्य छन् तर त्यसको सुनौलो पक्षलाई पनि आजको पुस्ताले संरक्षण गर्न नसक्दा आज अन्योल बढ्दै गएको छ ।

घिमिरेले ‘धर्म–विज्ञान’मा उठाएको सवाल खासगरी नयाँ पुस्ताका लागि अत्यन्त पठनीय र मननीय छ । वातावरण र स्वास्थ्यमा शङ्ख–ध्वनिको प्रभाव अत्यन्त सकारात्मक रहेको, घण्ट–ध्वनि क्षयरोगीका लागि लाभप्रद भएको, कुश हालेको पानीमा अक्सिजन अधिक भएको, हानिकारक विकिरणको असर घटेको, कुश राखेको दूध नफाटेको आदि सन्दर्भ उठाउँदै लेखक घिमिरे धर्म–संस्कारमा समाजका लागि उपयोगी विधि–विधानको भण्डारै रहेको उल्लेख गर्दछन् । रुद्राक्ष होस् वा भष्म, मृगचर्म होस् वा कुशासन, वर–पीपलको विवाह आदि अनेकौँ संस्कारमा विज्ञान छ । तर यस्ता विज्ञानलाई दिन–प्रतिदिन बेवास्ताको भाव बढाइएको छ । प्रस्ट छ, ‘धर्म–विज्ञान’लाई बुझेर पढेको व्यक्तिले कहिल्यै आत्महत्याको प्रयास गर्दैन ।

मुलुकमा आत्महत्याका घटना बढिरहेका छन् तर संसद्मा यस विषयलाई महत्व दिएको देखिन्न । नेताहरु सधैँ नै सत्तामोहमा मात्र डुबुल्की मारिरहेका देखिन्छन् । आम जनताको आवश्यकताप्रति राज्यको ध्यान नजानु दुर्भाग्यपूर्ण छ । के कारणले व्यक्तिले आत्महत्या गर्छ र त्यसलाई रोकथाम गर्न के गर्नुपर्छ भन्ने विषयमा सरकारले कुनै चासो नदेखाउने प्रवृत्तिले आत्महत्या अझ बढी बढ्ने सम्भावनालाई नकार्न सकिन्न । युवा जनशक्ति कि त देश छोडेर पलायन हुने, कि त निराशाको भूमरीमा परेर आत्महत्या गर्ने अवस्थामा छ, तर संसद्का पक्ष–प्रतिपक्षको दृष्टिमा सत्ताबाहेक केही छैन । सत्ताधारीको यस प्रकारको व्यवहारले मुलुकको अस्तित्व नै संकटमा पुग्दै गरेको प्रस्ट अनुभव हुन्छ ।

प्रतिक्रिया दिनुहोस्