पुस्तक चर्चा

आधुनिक मानव प्रजनन केन्द्रको परिकल्पना ‘पुंसवन’



पूर्वीय दर्शन र पश्चिमी आधुनिक प्रविधिको समायोजनबाट इच्छानुसारको सन्तान जन्माउने परिकल्पनालाई आधार बनाएर तयार गरिएको ‘पुंसवन’ उपन्यास अहिले चर्चाको विषय बनेको छ । पुंसवन एक सनातन १६ संस्कारमध्ये एक हो। पूर्वीय दर्शनअनुसार भू्रणलाई लिंग प्रदान गर्नका लागि गर्भाधान भएको तीन महिनामा गरिने संस्कार हो पुंसवन ।

वरिष्ठ पत्रकार एवं मानवअधिकार अभियन्ता कपिल काफ्लेद्वारा लिखित यस उपन्यासमा कौशिकी नदीतटमा आधुनिक पुंसवन आश्रम खडा गरिएको छ। पौराणिक शैलीमा बने पनि यो आश्रमलाई आधुनिक सुविधा सम्पन्न मानव प्रजनन केन्द्रका रुपमा लिइएको छ। सन्तानको रहर भएका तर जति प्रयास गर्दा पनि असफल रहेका बाबु–आमाका लागि यो आश्रम तीर्थस्थल बनेको कुरा पुंसवन उपन्यासमा उल्लेख छ।

संस्कृति र प्रविधिले मिश्रित सो आश्रम अनि चाहेको सन्तान जन्माउन त्यहाँ पुग्ने पात्रहरुको मनोभावको गहिराइसम्म पुगेर डुबुल्की मार्न उपन्यासकार सफल भएको मान्नै पर्छ। सांस्कृतिक अन्धविश्वास र सन्तानको चाहना राख्ने दम्पतीको मनोविज्ञानलाई पनि यस उपन्यासमा बडो रोमान्टिक पाराले प्रस्तुत गरिएको छ।

यस पुंसवन उपन्यासले पूर्वीय दर्शन र पश्चिमी सभ्यताका बीच फ्यूजन ल्याएको छ । प्रविधिले फड्को मारेकाले यही प्रविधिको दुरुपयोग गरी महिला अधिकारका नाममा स्वार्थी समूहले महिलाको मातृवात्सल्यता खोस्ने प्रयास गरेको उपन्यासले इंगित गरेको छ ।

उपन्यासमा तीन दम्पतीको कथा छ, जसले नेपाली समाजको चित्रण गरेको छ । मनुराज–माया, पराशर–मीना र जयद्रथ–शोभा गरी तीन परिवारका भिन्न–भिन्न आचरण र व्यवहारलाई उपन्यासमा सूत्रबद्ध गरिएको छ । यी तीन जोडीमा माया विछोडिएर भए पनि लोग्नेलाई घुँडा टेकाउन खोज्ने, मीना सम्झौतामा आएर पुंसवन गरी चाहेअनुसारको सन्तान जन्माउन राजी हुने र शोभा पुरुषप्रधान समाजको पिञ्जडामै अटाउने प्रवृत्तिका हुन्छन् ।

पछिल्ला तीनपटकको अभ्यासमा पनि पत्नी मीनाको गर्भमा छोरा देखा नपरेपछि बारम्बारको गर्भपतनबाट त्रसित मीनाले नै पति पराशरलाई पुंसवन आश्रमको आश देखाएको कुरा बडो मार्मिक र रोचक छ ।

यता पुरुषप्रधान मानसिकताले मैमत्त भएर पत्नी मायाप्रति ज्यादती गर्न कुनै कसर बाँकी नराखेको मनुराजले अन्त्यमा आफ्नोे गल्ती महसुस गरी पत्नीप्रति क्षमाप्रार्थी बनेको कथात्मक शैलीले उपन्यासका पाठकलाई समेत सोच्न बाध्य बनाउने देखिन्छ। पुरुषप्रधान मानसिकताले पुरुषलाई नै कसरी पीडित बनाउँदो रहेछ भन्ने कुरा मनुराजको कथाले दर्शाएको छ।

शिक्षित महिला पनि पितृसत्तात्मक पिञ्जडाभित्र कसरी कैद हुन बाध्य हुन्छन् ? आधुनिक उच्च प्रविधिको दुरुपयोग गर्दै महिला अधिकारका नाममा देशी वा विदेशी स्वार्थी समूहले कसरी महिलाको मातृवात्सल्यतासमेत खोस्न पछि पर्दैनन् ? उपन्यास यही सेरोफेरोमा केन्द्रित छ।

साथै अवैध क्रियाकलापबाट अकूत सम्पत्ति जोडेर विलासी जीवन जिउनेहरुले राज्य सञ्चालकलाई कसरी वशमा पारेका हुन्छन् र राज्यले पनि उनीहरुलाई कसरी संरक्षण दिएको हुन्छ ? आखिर जनविरोधको सामना गर्न नसकेको अवस्थामा राज्यद्वारा त्यस्ता व्यक्ति कसरी मारिन्छन् ? यावत् प्रश्नको उत्तर पनि यस ‘पुंसवन’ उपन्यासले दिएको छ ।

चाहेको सन्तान जन्माउन सकिने प्राचीन प्रविधि ‘पुंसवन संस्कार’को सदुपयोग र मानवसृष्टि नै खलबलिने गरी महिला अधिकारका नाममा हुन सक्ने आधुनिक प्रविधिको दुरुपयोग अनि स्वार्थी एवं निरीह राज्यप्रति लेखक चिन्तित देखिनुहुन्छ । यसैको उपज पुंसवनलाई मान्न सकिन्छ ।

यसरी महिला उत्पीडन र उन्मुक्तिको सेरोफेरोमा प्रेम, विछोड, मिलन र द्वन्द्वको खोलो बहाएर पाठकलाई कतै उद्वेलित पार्ने, कतै आवेगमा ल्याउने त कतै आँसु झार्ने गराउन सक्ने उपन्यासकारको खुबीलाई मान्नै पर्छ । पितृसत्ताले पुर्‍याएको नारी पीडाप्रति पुरुषहरू संवेदनशील बनून् र पितृसत्ताले पुर्‍याएको पुरुषजीवनको सास्तीप्रति पनि नारीहरू उत्तिकै संवेदनशील बनून् भन्ने उपन्यासको आशय देखिन्छ । त्यसै गरी आधुनिक प्रविधिको दुरुपयोगलाई निरुत्साहित गर्न पनि उपन्यासले इंगित गरेको छ।

सृष्टिको निरन्तरताका लागि एक अनिवार्य र निर्विकल्प वस्तु गर्भाशय अर्थात् पाठेघर हो । आधुनिक प्रविधिको कृत्रिम पाठेघरमा वीर्य निःसेचन गरी प्रजनन गर्दा महिला भ्रूण बोक्ने झन्झटबाट मुक्त त हुन्छन् तर आफ्नै पाठेघरमा भ्रूण बोकेर जन्माउँदा जतिको मातृवात्सल्यता प्राप्त गर्न सक्दैनन् । यस कार्यबाट स्तनपानको जिम्मेवारी पनि खोसिएर जान्छ । उपन्यासमार्फत लेखक काफ्लेले कतै आधुनिक प्रविधिले मातृवात्सल्यता हरण हुने त होइन भन्ने भाव झल्काउन खोज्नुभएको छ ।

उपन्यासभित्र ‘पुंसवन आश्रम’को परिकल्पना जसरी अगाडि सारिएको छ, त्यसले यसको कथालाई रोचकताको नयाँ मोडमा पुर्‍याएको छ । पैसाका लागि शरीर बेच्न बाध्य यौनकर्मी नारीहरूको विवशताको कथा पनि यो उपन्यासमा समाहित गरिएको छ। पूर्वीय धर्मग्रन्थहरूको सन्दर्भ र पाश्चात्य आधुनिक प्रविधिको संयोजनले उपन्यासलाई बलियो बनाएको मान्न सकिन्छ।

लेखक काफ्ले लैंगकि समानताको अभियन्ता पनि हुनुहुन्छ । हिन्दु संस्कारमा लैंगिक प्रतिनिधित्व, मिडियाको भूमिका’ मा विद्यावारिधि गर्न ‘लिटेरेचर रिभ्यू’ गर्दागर्दै पुंसवन जन्मिएको कुरा लेखकले उल्लेख गर्नुभएको छ । उहाँका अहिलेसम्म सातवटा पुस्तक प्रकाशन भइसकेका छन् । तीमध्ये उपन्यास विधामा यो पुंसवन उहाँको तेस्रो कृति हो ।

पुंसवन उपन्यास हरेक व्यक्तिका लागि पठनीय मात्रै होइन, समाज परिवर्तन र उत्थानमा समेत सहयोगीसिद्ध हुनेछ। साथै राज्यका नीति–निर्मातालाई समेत आधुनिक प्रविधिको विकास र उपयोगका बारेमा सोच्न बाध्य बनाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्