एसईईपछिको गन्तब्य- भर्नाको चटारो

0
Shares

परीक्षाफल प्रकाशित भएको एकसाता भएकोछ । कलेज सञ्चालक कक्षा ११ मा नयाँ विद्यार्थी भित्र्याउन ब्यस्त छन् । कोही विज्ञापन गरेर त कोहीले विद्यालय भ्रमण गराई काउन्सिलिङ गरी विद्यार्थी तान्न हानथाप बढेको छ । कतिले ए प्लस ल्याएका विद्यार्थीलाई निःशुल्क छात्रवृति उपलब्ध गराउन होडबाजी गरेका छन् ।

लेखक

हुन त विद्यार्थी भर्ना गर्नेकाम पहिला जस्तो सजिलो छैन । कक्षा १० सम्म सञ्चालन भएका सामुदायीक र संस्थागत विद्यालय आफैले ११ र १२ कक्षा सञ्चालन गर्न शुरु गरिसकेका छन् । उपत्यका बाहिर अब्बल विद्यालयको संख्या बढेको बढ्यै छ । शहरका विद्यार्थी काठमाडौ आउने क्रम क्रम रोकिदै गएको छ । १ दशमलब ६ जिपिए ल्याएका विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्ने ढोका खोलेपछि अधिकांस विद्यार्थीले जिपिए अनुसार पढन पाउछन् ।

उत्कृष्ठ विज्ञापनले मात्र विद्यार्थी तान्ने सकिन्छ भन्ने कक्षा ११ र १२ विद्यालयको भ्रम अभिभावकले काटिसकेका छन् । केवल विद्यालयको पुरानो साख,विगतको शैक्षिक अवस्थाको कारण त्यतातिर विद्यार्थीको भीडबढुन थालेको छ ।

तै पनि एसइई सकेका विद्यार्थीहरु जिपिएको आधारमा भर्ना हुन विद्यालय खोज्न भौतारिरहेका छन । परीक्षा सकिए लगत्तै अधिकांंस विद्यार्थीले आफु पढ्ने कलेज छनौट गरिसकेका छन् । हिसानका अध्यक्ष रमेश सिलवालले विद्यार्थीको ल्याकत मापन गर्न सहज हुने भएकोले प्रवेश परीक्षा अनिवार्य जस्तै रहेको बताउनुहन्छ ।

भन्नुहन्छ–विद्यार्थीलाई विज्ञान विषय पढ्ने कि व्यवस्थापन । मानविकी पढ्ने कि कानुन ? कुन विषय मा भर्ना हुने ? यी र यस्ता विषयको बारेमा जानकारी दिन प्रवेश परीक्षा आवश्यक छ । उहाँले विद्यार्थी आफैलाई विदालय छनौट गर्ने अधिकार दिनु हित हुने बताउनुहन्छ । कसैको लहलहैमा होइन, विद्यालयको इतिहास, पास प्रतिशत र शिक्षकको अवस्थाको आधारमा विद्यालय छनौट गर्नुउचित हुन्छ –अध्यक्ष सिलवाल भन्नुहुन्छ ।

तर विद्यार्थीहरु कहाँ र कुन विषय लिएर पढ्ने भन्दै विद्यालय चाहार्न थालेका छन् । कतिले त ब्रिजकोर्ष पढ्दा नै आफु यो विद्यालयमा पढ्छु भन्ने माइन्डमेकअप गरेका छन् । सरकारले कक्षा १ देखि १२ सम्मलाई माध्यमिक तह घोषणा गरिसकेको अवस्थामा विद्यार्थीहरु उच्च शिक्षाको गन्तब्य खोज्दै हिडेका छन् ।

विशेषगरी उपत्यका लगायत पोखरा, विराटनगर, इटहरी, चितवन, बुटवल दाङ, नेपालगंज धनगढी, हेटौडा लगायत शहरी क्षेत्रका ११ र १२ संचालन गर्ने विद्यालयले जिल्लामै उत्कृष्ठ विद्यालय बनाउन होडवाजी गरिरहेका छन् ।

कक्षा १ देखि १२ सम्मलाई विद्यालय शिक्षा तय गरिसकेपछि अब कक्षा १–१२ एउटै विद्यालयमा अध्ययन हुने भएपछि ११ र १२ मात्र संचालन गरेका विद्यालयमा विद्यालयमा विद्यार्थीको चाप घट्न सक्छ । कक्षा ११ र १२ मात्र संचालन गर्दै आइरहेका विद्यालयहरुले कक्षा ९ देखि १२ सम्म संचालन गर्न पाउनुपर्ने माग गर्दै आइरहेका छन् ।

त्यसो भए कक्षा ८ सकेका विद्यार्थी ९ देखि १२ सम्म अध्यापन गराउने विद्यालयमा भर्ना हुने बाटो खुल्छ । त्यसो त जिरो प्लस टु सञ्चालन गरिरहेका १ सय ५३ विद्यालयको अवस्था कस्तो हुन्छ त ? भन्ने प्रश्नमा हिसानका अध्यक्ष सिलवालले भन्नुभयो–केही फकर पर्दैन कक्षा ११ र १२ लाई उच्च शिक्षाको खुट्किलो नामाकरण गरेको कारण जस्तो हालतमा छन् । त्यही अवस्थामा सञ्चालन हुन्छन ।

हिसानका महासचिव लोकबहादुर भण्डारी विद्यालयको विगतको पढाइको आधारमा विद्यालय छनौट गर्नुपर्ने बताउनुहुन्छ । उहाको भनाई छ –विद्यालयको विगत हेरेर मात्र भर्ना हुने विषयमा सोच्नुस । जुन विद्यालयले उत्कृष्ठ शिक्षा दिदै आएका छन् । त्यही विद्यालयमा भर्ना हुन सबैलाई आग्रह गर्दै भन्नुहुन्छ–नाम भन्दापनि विगतको लगावलाई ध्यान दिएर भर्ना हुन उचित हुन्छ ।

एसइई पछिका दुईवर्ष अर्थात ११ र १२ कक्षाको पढाई विद्यार्थीका लागि धेरै महत्वपूर्ण तह र अवधि हो । यसले विद्यार्थीको भावी अध्ययनको मार्गदर्शन गर्दै उनीहरुको भावी पेशा र क्षेत्र र करियरको निक्र्योल पनि गर्छ । भविश्यसंग जोडिएको विषयलाई हचुवाको भरमा निर्णय लिनुहुदैन ।

कक्षा १२ सम्मको विद्यालय शिक्षाको पठनपाठन पूरा भएपछि स्नातक तहमा थुप्रै विषयहरु छनोट गर्न पाइन्छ । तर कक्षा ११ र१२ मा मानविकी विषय लिएका विद्यार्थी स्नातक तहमा विज्ञान विषय लिन पाइँदैन । त्यसैले स्नातक तहमा धेरै संकायले खासखास विषयको अध्ययन गरेकालाई मात्र प्रवेश दिने व्यवस्था गरेकोले कक्षा ११मा भर्ना हुँदा आफूले माध्यमिक तह पूरा गरेपछि स्नातक तहमा कुन कुन विषय अध्ययन गर्न पाइनेछ भन्ने बारेमा शिक्षकसित सल्लाह गर्नु बढी राम्रो हुनेछ ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले लहैलहैमा विद्यालय छनौट गर्ने कि, आमावुवाको इच्छा अनुसार छनौट गर्ने ? भन्ने विषयमा अभिभावक र विद्यार्थीबिच द्धन्द हुने गरेको बताउनुहन्छ । उहा भन्नुहुन्छ–अभिभावकको सल्लाह लिनु, आफुले अध्ययन गरेका विद्यालयको शिक्षकसंग सल्लाह लिएर मात्रै विद्यालय छनौट गर्नु । सकभर विद्यालय छनौट गर्दा विद्यालयको विगतको अध्ययन गर्नु वर्तमानको अवस्थाबारे जानेर मात्रै भर्ना हुनुपर्छ ।

क्षणिक रुपमा त्यो ठिक भएपनि कालन्तरमा असरपर्ने भएकोले ठोस परामर्शको आधारमा भर्ना हुनु महत्वपुर्ण हुन्छ । स्नातक तहमा कुनै विषयमा विशिष्टिकरण (स्पेसिलाइजेसन) गर्नुपर्ने हुने भएकाले ११ र१२मा इच्छाधीन विषय छनोट गर्दा बुद्धि पु¥याउनु जरुरी छ ।

कसैको लहलहैमा भन्दा पनि विद्यालय र शिक्षकको सल्लाहमा विद्यालय छनौट गर्न आग्रह गर्दै एम्स एकेडेमीका प्राचार्य टिआर ढकाल भन्नुहन्छ–कस्तो विद्यालय छनौट गर्ने विषय विद्यार्थीमा भर पर्ने भन्दापनि विद्यालयको विगतको अवस्थाको आधारमा भर्ना हुनुपर्छ । ठुलो भवन, बढी शुल्क लिने विद्यालय छनौट गर्ने परम्परा भन्दा पनि विगत इतिहास हेरेर भर्ना हुनु उचित रहेको बताउनुहुन्छ । कस्तो विषय लिदा भविष्यमा राम्रो अवसर पाउन सकिन्छ भन्ने चाहना बोकेका विद्यार्थीले विद्यालय छनौट गर्नुपर्ने उहाँको धारणा छ ।

विज्ञान र प्राविधिक विषय सबैभन्दा खर्चिलो पढाइ हो । खर्च शिक्षाशास्त्र र मानविकी र कानुन लगायतका विषय अध्ययनमा कम खर्च लाग्छ । विज्ञान विषय छनौट गर्दा प्रयोगात्मक परीक्षालाई बढी जोड दिएको कारण तुलनात्मक रुपमा महंगो हुनु स्वभाविक हो । विषय छनोट गर्दा विद्यार्थीले आफ्ना अभिभावकको आर्थिक हैसियतका बारेमा पनि विचार गर्नुपर्दछ । हुन त छात्रवृत्तिको व्यवस्था पनि छ ।

त्यसले गर्दा आर्थिक रुपमा विपन्न विद्यार्थीले छात्रवृत्ति पाएर विज्ञान वा प्राविधिक विषय अध्ययन गर्न पाइरहेका पनि छन् । सरकारले सबै विद्यालयलाई अनिवार्य रुपमा १० प्रतिशत छात्रवृति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । उक्त कोटामा पर्न तोकिएको मापदण्ड पुरा गर्नुपर्नेहन्छ । काठमाडौं महानगरपालिकाले यो वर्षबाट महानगरमा संचालित ११ र १२ अध्यापन गर्ने विद्यार्थीका लागि एकिकृत परीक्षाको व्यवस्था गरेको छ । सो परीक्षाको आधारमा मेरिटमा परेकाविद्यार्थीलाई छात्रवृति दिने व्यवस्था लागु गर्ने भएको छ ।

जेहेन्दार विद्यार्थीले छात्रवृतिमा पढ्दा उत्कृष्ठ नतिजा ल्याएका थुप्रै उदाहरण छ । तर छात्रवृतिको नाममा विज्ञान विषय पढ्ने अनि पछि विषय परिवर्तन गर्ने ? बानीले पढाइमा असर गर्न सक्छ । तसर्थ महंगो र सस्तो खर्चको हिसाबकिताब गर्नुभन्दा आफुले चाहना राखेको र वावुआमाको कमाइलाई आधार मानेर विषय छनौट गर्नु उचित हुन्छ ।

निजी कलेजमा अध्ययन गर्न बढी खर्चिलो छ । सामुदायिक कलेजमा भने कम खर्च भए पुग्छ । उच्च माध्यमिक तहको अध्ययन गर्दा निजी विद्यालयमा १ लाख देखि २ लाख रुपियाँसम्म (दुई वर्षको) खर्च लाग्छ भने सामुदायिकमा अध्ययन गर्दा दुई वर्षभरि सरदर ४० हजार रुपियाँ भए पुग्छ ।

व्यवस्थापन विषयमा अध्ययन गर्दा निजी विद्यालयमा सरदर ६० हजारदेखि एक लाख २० हजार रुपियाँसम्म, मानविकी विषयका लागि ५० हजारदेखि ९० हजार रुपियाँसम्म र शिक्षाशास्त्रका लागि ५० हजारदेखि ७० हजार रुपियाँसम्म खर्च लाग्छ । जबकी सामुदायिक विद्यालयमा अध्ययन गर्ने हो भने व्यवस्थापन, मानविकी र शिक्षाशास्त्रमा दुईवर्षका लागि सरदर ३० हजार रुपियाँले लाग्न सक्छ ।