सन्दर्भ : विश्व जनसंख्या दिवस २०८०- विश्वमा जनसंख्या बढ्दा काभ्रेमा घट्दै !



काभ्रे । विश्व जनसंख्या दिवस २०८० को अवसरमा देशव्यापी रूपमा जनसंख्या किन घट्यो र कहाँ गए भन्ने विषयमा नै नेपालले चर्चा ग¥यो । यसरी नै काभ्रेले पनि २०६८ मा देखिएको जनगणनाको तथ्यांकअनुसार २०७८ मा शहरको दाँजोमा गाउँमा जनसंख्या घट्यो यसलाई जनस्वास्थ्यका हिसाबले चुनौती थपियो भन्दै चिन्ता व्यक्त गरियो ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले धुलिखेल अस्पतालमा आयोजना गरेको जनसंख्या तथा स्वास्थ्य विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईंले २०६८ को दाँजोमा २०७८ मा काभ्रेको जनसंख्या घटेको बताउनुभयो ।

यस वर्षका विश्व जनसंख्या दिवसको मूल नारा ‘लंैगिक समानतालाई बनाऔं अपरिहार्य रिवाज ः सम्भावनाको ढोका खोल्न सुनौं महिलाका आवाज’ रहेको थियो । यसैलाई लक्षित गरी डा. सेढाईंले विश्वमा जनसंख्या वृद्धिले कस्तो असर पार्ला भन्ने चिन्ता गरिरहँदा नेपालमा जनसंख्या घट्नुका साथै लैंगिक विभेद बढेर जानु प्रमुख चिन्ताको विषय भएको बताउनुभयो । उहाँले काभ्रे जिल्लाको बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध सहरी इलाकामा जनसंख्या बढेसँगै रोगव्याधि पनि बढेको छ । गाउँमा परिवारको साइज घट्ने क्रममा छ घरधुरी संख्या बढेको छ । यो परिस्थितिका बारेमा निकै गम्भीर भएर नसोच्ने हो भने गाउँमा ज्येष्ठ नागरिक, नसर्ने रोगको सिकार भएका व्यक्तिहरू बढ्दै छन् । उनीहरूको स्वास्थ्य सेवामा कस्ता योजना बनाउने र कसरी उपचारको पहुँचमा ल्याउने यो राज्यको लागि ठूलो चुनौतीको विषय बन्दै गरेको बताउनुभयो ।

काभ्रे जिल्लामा धार्मिक, सामाजिक र विज्ञान प्रविधिको पहुँचका कारण ४ वर्ष उमेर समूहका बालबालिका जन्मदर महिला मैत्री देखिँदैनन् । २०७८ को जनगणनाअनुसार काभ्रेमा बालकको संख्या ३ दशमलव ६ छ भने बालिकाको संख्या ३ दशमलव २ रहेको छ । यो संख्या २०६८ को जनगणनामा बालिकाको संख्या बालकको भन्दा बढी थियो । कसरी घट्दै छ बालिकाको संख्या ? लिंग पहिचानका आधारमा भ्रुण हत्या त हुँदै छैन यो निकै गम्भीर विषय हो डा. सेढाईंले भन्नुभयो ।

उहाँले गाउँमा युवा विदेशिने, अशक्त बूढाबूढीहरू गाउँमा छन् । गाउँको विकास र स्वास्थ्य समस्याको समाधान कसरी हुन्छ । यसरी नै चुप लाग्ने हो भने गाउँ रित्तिने क्रममा छ भोलि सुधार्न सकिन्न । जटिल खालको स्वास्थ्य समस्या निम्तिने निश्चित छ । अहिले नै युवा शक्तिलाई गाउँमै स्वरोजगारी सिर्जना गरी परिवार र गाउँ तथा देशको जिम्मेवार बनाउने तर्फ योजना तय गर्नुपर्ने बताउनुभयो ।

काभ्रेको १३ वटा पालिकामध्ये खानीखोला गाउँपालिकाको जन्मदरमा भने जनसांख्यिक तथ्यांक २०६८ र ७८ को तुलना गर्दा प्राकृतिक जन्ममा विभेद देखिन्न । बाँकी सबै पालिकामा छोरी जन्मदरमै घट्नु जनस्वास्थ्य योजनाकै लागि चिन्ताको विषय हो । यस विषयमा सरोकारवाला निकायले गम्भीर भई अहिले नै योजना तर्जुमामा ध्यान दिनुपर्ने बताउनुभयो ।

काभ्रे जिल्ला समन्वयका प्रमुख दीपककुमार गौतमले यति गम्भीर विषयको योजना कसले सुनिदिने ? जनसंख्या दिवसका अवसरमा योजनाकारहरूमा महिलाको आवाज सुन्ने प्रेरणा मिलोस् । यस विषयमा १३ वटै पालिकाका प्रमुखहरू बसेर छलफल गरी तथ्यांकले आंैल्याएका कमीकमजोरी सुधार्न लागौं भन्नुभयो ।

काभ्रेमा मातृ मृत्युदरमा सहश्राब्दी विकास लक्ष्य प्राप्तिका लागि हासिल गर्नुपर्ने उपलब्धि हासिल गरेको छ । एसडीजी गोल ११६ प्राप्ति गर्नुपर्नेमा ११० प्राप्ति गरेको छ । पछिल्लो १ वर्षको तथ्यांकलाई केलाउने हो भने गाउँमा भन्दा शहरमा मातृ मृत्युदर बढेको छ । सानो उमेरमा विवाह गर्ने र छोडपत्र गर्नेको संख्या पनि बढी नै रहेको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौड्याल बताउनुहुन्छ । आमा नै भर्खर २० वर्षकी हुँदा साथमा बच्चा च्यापेर छोडपत्र गरेकाले बच्चाको जन्म दर्ता गराई पाउँ भन्दै आउनेको संख्या बढ्दो रहेको बताउनुहुन्छ ।

देशमा ३३ प्रतिशत अविवाहितको संख्या रहेकोमा काभ्रेमा ३० प्रतिशत रहेको तथ्यांक रहेको जिल्ला तथ्यांक कार्यालयका अधिकृत दीपक घिमिरेले जानकारी गराउनुभयो । नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएकै कारण धेरै आमाहरूले अकालमा ज्यान गुमाउनु परेको छैन । तर, कुन समुदाय या क्षेत्रमा बढी गर्भपतन किन गराउँछन् भन्ने बारेमा पहिचान गरी समयमै सही सम्बोधन गर्न सके लैंगिक विभेदमा सुधार ल्याउन सकिन्छ घिमिरेले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्