तामाङ भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने घ्याङलेख गाउँपालिकाको निर्णय

0
Shares

सिन्धुली ।

घ्याङलेख गाउँपालिकामा तामाङ भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गरिने भएको छ । गत असार १० गते गाउँपालिकाको १३ औं अधिवेशनको बैठकले घ्याङलेख गाउँपालिका मातहतका सबै कार्यालयहरुमा तामाङ भाषालाई कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।

आगामी आर्थिक बर्षको पहिलो दिन साउन १ गतेदेखि तामाङ भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गरिने घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीले जानकारी दिनुभयो । ‘तामाङ समुदायहरुले प्रयोग गर्दै आएको साम्भोटा लिपिलाई गाउँपालिका अन्तर्गतका सबै कार्यालयहरुमा कामकाजको रुपमा प्रयोग गर्न सुरुवात गर्ने निर्णय भएको छ । असार १ गते देखि लेडर प्याडमा गाउँपालिकाको नाम नेपाली र तामाङ दुवै भाषामा लेखिएको प्रयोग हुन्छ । त्यस बाहेक अन्य कामकाज आवश्यकता अनुसार तामाङ भाषामा हुन्छ’ प्रमुख प्रशासकिय अधिकृत कार्कीले भन्नुभयो ।

गाउँपालिकामा करिव ७५ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले बाहुल्यताको आधारमा तामाङ भाषालाई कामकाजको रुपमा प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताउनुभयो ।