११ महिना व्यापार घाटा :१३ खर्ब ३७ अर्ब : १४ खर्ब ८० अर्ब वैदेशिक मुद्रा सञ्चिति, ११ महिनाको आयात धान्ने



 काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब ४३ अर्ब रुपियाँको निर्यात हुँदा १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँको आयात भई १३ खर्ब ३७ अर्ब ३९ करोड रुपियाँको कुल व्यापार घाटा भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा निर्यात २२ दशमलव ७ प्रतिशत र आयात १६ प्रतिशतले घटेको छ । आयात घट्दा व्यापार घाटा पनि १५ दशमलव २ प्रतिशतले घटेको छ । उक्त अवधिमा नेपाललले विभिन्न देशमा १ खर्ब ४३ अर्ब ५९ करोड रुपियाँ वस्तु तथा सेवा निर्यात गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३ दशमलव ३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२ दशमलव २ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६ दशमलव ७ प्रतिशत र ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, तयारी पोशाकलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ । चालू आर्थिक वर्षको ११ महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७ दशमलव ५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४ दशमलव ८ प्रतिशत, १७ दशमलव १ प्रतिशत र १८ दशमलव ५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामानलगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एमएस विलेट, औषधि, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm रसुवा भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा कुल वस्तु व्यापार घाटा १५ दशमलव २ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव ५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३८ अर्ब ४७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २०० अर्ब ८८ करोड बराबरको भएको थियो । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१ दशमलव ८ प्रतिशतले वृद्धि भई जेठ मसान्तमा १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा जेठ मसान्तमा १८ दशमलव ५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा जेठ मसान्तमा २५ दशमलव १ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा जेठ मसान्तमा शून्य दशमलव १ प्रतिशतले वृद्धि भई १५९ अर्ब ६३ करोड पुगेको छ । जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ९ प्रतिशत रहेको छ । ११ महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव २ महिनाको वस्तु आयात र ९ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७ दशमलव ५ प्रतिशत, ८० दशमलव ३ प्रतिशत र २५ प्रतिशत रहेका छन् । असार मसान्तमा यी अनुपातहरु क्रमशः २४ दशमलव ६ प्रतिशत, ५७ दशमलव ८ प्रतिशत र २२ दशमलव १ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्