पोउवा संघले संस्थापक अध्यक्षको स्मृति दिवसमा व्यक्तित्व र योगदानबारे चर्चा

0
Shares

कास्की ।

पोखरा उद्योग वाणिज्य संघले संस्थापक अध्यक्ष स्वर्गीय अमृतप्रसाद शेरचनको १०० औं स्मृति दिवस पारेर उनको व्यक्तित्व र योगदानबारे चर्चा गरेको छ ।

१९८१ साल असार १५ गते मुस्ताङको भाक टुकुचेमा जन्मेका शेरचनकै नेतृत्वमा २०११ सालमा पोखरा उद्योग वाणिज्य संघको स्थापना भएको थियो । शेरचनले २००७ सालको प्रजातान्त्रिक आन्दोलन र त्यसपछिका आन्दोलनमा पनि सक्रिय सहभागिता जनाएका थिए । स्वतन्त्रता सेनानी शेरचन पोखरेली नवरत्नमध्येका एक हुन् ।

पृथ्वीनारायण क्याम्पसको संस्थापकमध्येका एक रहेका उनले तत्काली पोखरा मल्टीपर्पोज स्कूल,बालमन्दिरलगायतका विद्यालय स्थापना र धार्मिक कार्यमा पनि उत्तिकै योगदान दिएका थिए । स्मृतिमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वसन्त उदासले भैरवटोलमा व्यवसाय गर्ने शेरचनको व्यक्तित्व आफैंमा विशाल भएको बताए ।

आधुनिक पोखरा निर्माणमा शेरचनले दिएको योगदान अविश्मरणीय रहेको उनको भनाइ थियो । उनले सफलतापछि मान्छे भ्रममा पर्छ र आफ्नो कार्यलाई निरन्तरता दिन सक्दैन भन्ने चाणक्यको भनाइ शेरचनको जीवनमा मिथ्या सावित भएको धारणा पनि राखे ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले संस्थापक अध्यक्ष शेरचन आधुनिक पोखराका सर्जकमध्येका एक भएको बताए । संस्थापक अध्यक्ष शेरचनले संघलाई बलियो बनाउन दिएको योगदानकै कारण अहिले पोउवा संघ यो अवस्थामा रहेको उनको भनाई थियो ।

संस्थापक अध्यक्षको सम्मानमा संघले एउटा बैठक कक्षलाई अमृत कक्ष नामाकरण गरेको पनि उनले सम्झाए । स्वर्गीय शेरचनका सूपुत्र विकल शेरचनले पिताको बोली र व्यवहारमा अदृष्य प्रेरणा हुने गरेको सुनाए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकणर् कार्कीको धन्यवाद र महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा स्वर्गीय शेरचनकी धर्मपत्नी शोभा शेरचनसहितका शुभेच्छुकको उपस्थिति रहेको थियो ।