क्रिकेट विश्वकप खेल्ने टिमको टुंगो

अभागी टोली

0
Shares

काठमाडौं । आगामी ५ अक्टोबरबाट शुरु हुने आईसीसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा खेल्ने १० टिमको टुंगो लागिसकेको छ । १९ नोभेम्बरसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विश्वका सर्वोत्कृष्ट १० राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछ । लिग चरणमा खेल राउण्ड रोविनको आधारमा हुनेछ । विश्वकपको १३औं संस्करणमा आइसिसी सुपर लिगका शीर्ष आठ राष्ट्र तथा छनोट पार गरेका दुई गरी १० टोलीले उपाधिका लागि खेल्नेछन् ।

आइसिसी सुपर लिगबाट आयोजक भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाएका थिए । त्यसैगरी श्रीलंका र नेदरल्यान्ड्सले भने छनोट चरण पार गर्दै विश्वकपमा सहभागिता पक्का गरेका हुन् । शीर्ष १० भित्रको वेस्ट इन्डिजमात्र विश्वकपमा अनुपस्थित हुनेछ । ग्लोबल क्वालिफायरमा असफल भएपछि आइसिसी वरीयताको शीर्ष १० मा रहे पनि दुई पटकको पूर्व विजेता वेस्ट इन्डिजले यसपटक विश्वकपमा खेल्ने छैन । बिहीबार स्कटल्यान्डमाथि सनसनीपूर्ण जित हासिल गरेपछि १५औं वरीयताको नेदरल्यान्ड्सले विश्वकपमा उपस्थिति पक्का गरेको हो ।

प्रतियोगिताको उद्घघाटन खेल अक्टोबर ५ मा इंग्ल्याण्ड र न्यूजील्याण्डबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । प्रतियोगिताको आयोजक भारतले भने आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलियाविरुद्ध चेन्नईमा खेल्नेछ । भारतले अहिलेसम्म भएका विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको छ । हाल आइसिसी एकदिवसीय वरीयताको तेस्रो स्थानमा रहेको भारत दुई पटकको च्याम्पियन हो । सन् १९८३ मा भारत पहिलो पटक एकदिवसीय विश्वकप च्याम्पियन बनेको थियो । त्यसको २८ वर्षपछि अर्थात २०११मा श्रीलंकालाई हराउँदै भारत दोस्रो पटक च्याम्पियन बनेको हो । भारतले गत संस्करणमा पनि सेमिफाइनसम्म यात्रा तय गरेको थियो ।

त्यस्तै, प्रतियोगिताकै सर्वाधिक सफल टोली अस्ट्रेलियाले पनि अक्टोबर ८ मा आयोजक भारतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । हाल एकदिवसीय वरीयताको शीर्षस्थानमा रहेको अस्ट्रेलिया पाँच पटक च्याम्पियन टोली छ । विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको अस्ट्रेलिया सन् १९८७ मा इङ्ल्यान्डलाई हराउँदै पहिलो पटक च्याम्पियन बनेको थियो । अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा लगातार तीन पटक च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गरेको थियो । एकदिवसीय विश्वकपको उपाधिमा ह्याट्रिक गर्ने एकमात्र राष्ट्र अस्ट्रेलिया सन् २०१५ मा न्यूजिल्यान्डलाई पराजित गर्दै पाँचौं पटक च्याम्पियन बनेको थियो । अस्ट्रेलियाले गत संस्करण सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।

त्यसैगरी क्रिकेटको जन्मदाता इङ्ल्यान्डले अक्टोबर ५ मा हुने उद्घघाटन खेलमा न्यूजील्याण्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।यो खेल गत संस्करणको फाइनलको रिभ्यू सरह हुनेछ । सन् २०१९ मा भएको अघिल्लो संस्करणमा न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्याण्ड पहिलो पटक एकदिवसीय विश्वकपको च्याम्पियन बनेको थियो । विश्वकपका सबै संस्करणमा सहभागिता जनाए पनि आफ्नै भूमिबाट एकदिवसीय विश्वकप सुरु भएको इङ्ल्यान्डले च्याम्पियन बन्न ४४ वर्ष कुर्नुपरेको थियो । इङ्ल्यान्ड हाल एकदिवसीय वरीयताको पाँचौं स्थानमा रहेछ ।

अभागी टोली

एकदिवसीय विश्वकपमा सबैभन्दा अभागी टोलीको परिचय बनाउँदै आएको टोली हो न्युजिल्यान्ड । न्युजिल्यान्ड लगातार दुई पटक एकदिवसीय विश्वकपको फाइनलमा पराजित भएको टोली हो । सन् २०१५ मा अस्ट्रेलियासँग पराजित भएको न्युजिल्यान्ड सन् २०१९ मा इङ्ल्यान्डसँग स्तब्ध बन्न पुगेको थियो । हाल एकदिवसीय वरीयताको चौथो स्थानमा रहेको न्युजिल्यान्डले सबै संस्करणको विश्वकप खेलेपनि च्याम्पियन हुने भोकलाई भने मेटाउन सकेको छैन। आसन्न विश्वकपमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध आफ्नो पहिलो म्याच खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । उक्त खेल अक्टोबर ६ मा हैदराबादमा हुनेछ। हाल एकदिवसीय वरीयताको दोस्रो स्थानमा रहेको पाकिस्तान एक पटकका च्याम्पियन समेत हो । पाकिस्तानले सन् १९९२ को फाइनलमा इङ्ल्यान्डलाई पराजित गरेको थियो ।गत संस्करणमा भने पाकिस्तानले समूह चरण पनि पार गर्न सकेन । पाकिस्तानलेएकदिवसीय विश्वकपको पहिलो संस्करणदेखि अहिलेसम्म खेल्ने टोलीमध्ये एक हो ।

त्यस्तै, अर्को अभागी टोलीबाट परिचित छ दक्षिण अफ्रिका । चारपटक सेमिफाइनल खेले पनि अहिलेसम्म फाइनल पुग्न नसकेको टोली हो दक्षिण अफ्रीका। दक्षिण अफ्रीका सन् १९९२, १९९७, २००७ र २०१५ मा गरी चार पटक सेमिफाइनल पुगेको थियो। जुन विश्वकपमा दक्षिण अफ्रिकाको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन पनि हो । हाल एकदिवसीय वरीयताको छैटौं स्थानको दक्षिण अफ्रिकाले गत संस्करणमा भने समूह चरण पार गर्न सकेन । दक्षिण अफ्रिकाका लागि यो नवौं सहभागिता हुनेछ । दक्षिण अफ्रिकाले सन् १९९२ देखि एकदिवसीय विश्वकपमा सहभागिता जनाउन थालेको हो ।

बंगलादेश अन्डरडगको रुपमा बंगलादेशलाई प्रतियोगितामा स्तब्धपूर्ण नतिजा निकाल्न सक्ने टोलीको रुपमा लिइन्छ। विश्वकपमा बंगलादेशले भारत र पाकिस्तान जस्तो सशक्त टीमविरुद्ध जित निकालिसकेको छ । सन् २०१५ मा क्वाटरफाइनल पुग्नु नै बंगलादेशको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । हाल एकदिवसीय वरीयताको सातौं स्थानमा रहेको बंगलादेशलाई उपाधि दाबेदार नमानिए पनि अन्डरडग टोलीका रूपमा हेरिएको छ । बंगलादेश सातौं पटक एकदिवसीय विश्वकपमा सहभागी हुँदैछ । टोलीले सन् १९९९ देखि विश्वकपमा सहभागिता जनाउन थालेको हो । गत संस्करण बंगलादेशको यात्रा समूह चरणमै सीमित बनेको थियो ।

हाल एकलिवसीय वरीयताको नवौं स्थानमा रहेको अफगानिस्तानलाई पनि विश्वकपमा अप्रत्यासित नतिजा ल्याउन सक्ने टोलीको रूपमा लिइन्छ । अफगानिस्तानका लागि एकदिवसीय विश्वकपमा यो तेस्रो सहभागिता हो । अफगानिस्तानले यसअघि सन् २०१५ र २०१९ को विश्वकपमा सहभागिता जनाएको थियो । तर, टोलीको यात्रा अहिलेसम्म समूह चरणभन्दा अगाडि बढ्न सकेको छैन ।

त्यसैगरी यसपटक विश्वकप खेल्ने अर्को एसियाली राष्ट्र हो श्रीलंका । श्रीलंका सन् १९९६ को विश्वकप विजेता राष्ट्र समेत हो। उक्त संस्करणमा अस्ट्रेलियालाई हराउँदैश्रीलंका च्याम्पियन बनेको थियो । श्रीलंकाले विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको छ । यसपटक भने श्रीलंकालाई विश्वकपमा स्थान बनाउन छनोटको सहारा लिनुप¥यो । पछिल्लो समयको लय सकारात्मक भए पनि श्रीलंकालाई उपाधि दाबेदार मान्न कठिन छ ।गत संस्करण समूह चरण पार गर्न नसकेको श्रीलंका हाल एकदिवसीय वरीयताको आठौं स्थानमा छ ।

यसपटक विश्वकपमा छनोट हुने नेदरल्यान्ड्स अन्तिम टोली हो । निर्णायक खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई चार विकेटले पराजित गर्दै १२ वर्षपछि एकदिवसीय विश्वकपमा स्थान बनाएको हो । जितपछि समान ६ अंक भए पनि नेदरल्यान्ड्सले नेट रनरेटमा जिम्बावे र स्कटल्यान्डलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । नेदरल्यान्ड्स सन् २०११ पछि पहिलो पटक विश्वकपमा पुगेको हो ।

नेदरल्यान्ड्स यसपटकको विश्वकप खेल्ने एकमात्र एसोसिएट राष्ट्र हो । आठ वर्षपछि कुनै एसोसिएट राष्ट्रले विश्वकपमा सहभागिता जनाउन लागेको हो । पछिल्लो पटक सन् २०१५ मा युएईले विश्वकप खेलेको थियो । हाल एकदिवसीय वरीयताको १५औं स्थानमा रहेको नेदरल्यान्ड्सका लागि यो पाँचौं विश्वकप सहभागिता हुनेछ । यसअघि सन् १९९६, २००३, २००७ र २०११ को विश्वकपमा सहभागिता जनाएको नेदरल्यान्ड्सले समूह चरण भने पार गर्न सकेको छैन ।

भारतका विभिन्न १० शहरमा आयोजना हुने विश्वकप क्रिकेट प्रतियोगितामा कुल ४८ खेल हुँदैछन् । जसमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियम, बेंगलुरुको एम चिन्नास्वामी स्टेडियम, चेन्नईको एमए चिदम्बरम स्टेडियम, दिल्लीको अरुण जेटली स्टेडियम, धर्मशालाको हिमाञ्चल प्रदेश क्रिकेट एशोसिएशन स्टेडियम, लखनउको इकाना क्रिकेट स्टेडियम, हैदरवादको राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम, पुणेको महाराष्ट्र क्रिकेट एशोसिएशन स्टेडियम, कोलकताको इडन गार्डन र मुम्बई वानखेडे स्टेडियम रहेका छन् ।प्रतियोगिताको उद्धघाटन र पÞmाइनल म्याच भने नरेन्द्र मोदी स्टेडियममा हुने तालिका रहेको छ ।