सैबु खानेपानी समितिको छैटौँ साधारणसभा सम्पन्न

14
Shares

 ललितपुर ।

सैंबु  खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ललितपुर–१८ क्षेत्रमा ५ सय १९ परिवारलाई खानेपानी वितरण गरेको छ । २०६६ सालमा पूर्वमन्त्री पम्फा भुषालको सक्रिय पहलमा स्थापना भएको आयोजनाले २०७० वाट पानी वितरण गरिरहेको छ । समितिको आज सम्पन्न छैठौ साधारण सभामा समितिका अध्यक्ष नवराज कुँवरले पिउन योग्य पानीको व्यवस्था गर्न सबै तहको सरकारको सहयोगको याचना  गर्नुभयो ।

साधारण सभामा बोल्दै उहाँले भन्नुभयो–हामीले तपाईहरुलाई पानी वितरण गरेका छौ, तर पिउनयोग्य पानी उपलब्ध गराउन नसकेकोमा क्षमा प्रार्थी छौ । साधारण सभाको उद्घाटन गर्दै ललितपुर–३ ख का प्रदेश सांसद प्रेमभक्त महर्जनले यस परियोजनालाई विस्तार र विकास गर्नु आफ्नो दायित्व भएको बताउनुभयो । उहाँले प्रदेश सरकारको तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

हामीले जलवायु परिवर्तनको असर भोगिरहेका छौ, त्यसको कारण एउटा विषय खानेपानी पनि हो । त्यसैले अब पर्यावरण र खानेपानीको मुहान जोगाउन हामी सबै एकजुट हुनुपर्छ–भन्नुभयो । उहाँले एक दशकदेखि निरन्तर खानेपानीको व्यवस्थापन गरिरहेकोमा संस्थाप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बोल्दै ललितपुर–१८का अध्यक्ष दामोदर खड्काले वडाको महत्त्वपूर्ण आयोजनाको रुपमा सैबु खानेपानी समितिले गरेको योगदान महत्त्वपूर्ण रहेको बताउँदै यो परियोजनालाई निरन्तर अघि बढाउन अपरिहार्य रहेको बताउनुभयो । पूर्वमन्त्री पम्फा भुषालको सहयोगबाट परियोजना सफल भएको बताउँदै अब समितिले थप बिस्तार गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– समितिले ५ सय १९ घरमा खानेपानी वितरण गरेकोमा खुसी लागेको छ । यसलाई पिउन योग्य बनाउन स्थानीय सरकारले सहयोग गर्नेछ । साधारण सभामा अध्यक्ष खड्काले आउँदो आर्थिक वर्षमा समितिलाई १० लाख बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाकोतर्फबाट कोषाध्यक्ष रामेश्वर थापाले एक वर्षको आयव्यय विवरण पेश गर्नुभएको  थियो । उपसचिव किशोर  कुँवरले समितिले गरेको कामको बारेमा जानकारी गराउनुभएको थियो ।  सचिव विसुराम थापाले योजनाबारे जानकारी गराउनुभएको थियो ।