तीन वर्ष अघि निर्माण सुरु भएको बहुउद्देश्यीय कभर्डहल अलपत्र



रामेछाप ।

रामेछाप सदरमुकाम मन्थलीमा झन्डै तीन वर्ष अघि निर्माण सुरु भएको बहुउद्देश्यीय कभर्डहल अहिले अलपत्र बनेको छ । मन्थली नगरपालिका–२ स्थित भुत्याहा खोला किनारमा झन्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको कभर्डहलमा निर्माण कम्पनीले अटोमेटिक चियर राख्ने काम गर्न नसक्दा अलपत्र बनेको हो ।

यो कभर्डहलको १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सुनकोसी–गिरी जेभी काठमाडौँले २०७७ असारबाट काम सुरु गरेको थियो । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको ६ करोड, ५७ लाख, ९२ हजार, ८८० रुपियाँ ५३ पैसा लागतमा सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई, काभ्रेपलान्चोक मार्फत कभर्डहल निर्माणको ठेक्का लागेको थियो । यसमध्ये अन्य स्टकचर बाहेक दुई करोड ८५ लाख रुपियाँ लागतमा नेपालमै अहिलेसम्म प्रयोगमा नआएको रिमोटबाट चल्ने अटोमेटिक चियरको स्टमेट थियो ।

२ करोड ८५ लाख रुपियाँको स्टमेट रहेको अटोमेटिक चियर राख्ने काम जम्मा ८५ लाखमा सम्पन्न गर्ने गरी सुनकोसी–गिरी जेभी काठमाडौँले ठेक्का लियो । अहिले निर्माण कम्पनीले यही रिमोटबाट चल्ने एक हजार १८० वटा कुर्ची (अटोमेटिक चियर) राख्न नसक्दा कभर्डहल अलपत्र बनेको छ । सदरमुकाम मन्थलीमै लामो समयदेखि बहुउद्देश्यीय कभर्डहल निर्माणको काम अलपत्र अवस्थामा रहेको मन्थली नगरपालिका–२ का वडा अध्यक्ष सुरेन्द्र कार्कीले बताउनुभयो । एक वर्ष देखि काम रोकिएको कभर्डहलभित्र पशु चौपाय छिर्ने, झ्यालहरुमा प्रयोग गरिएको सिसाहरु फुटेर वेवारिसे बन्दा समेत कुनै पनि निकायको ध्यान नदिएको उहाँको गुनासो छ ।

यता निर्माण कम्पनीले भने कभर्डहलको ८० प्रतिशत काम सकिए पनि सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई, काभ्रेपलान्चोकको असहयोगका कारण अरू काम सञ्चालन हुन नसकेको बताउदै आएको छ । कार्यालयसँग पटक पटक कभर्डहलमा राखिने अटोमेटिक चियरको ड्रइङ डिजाइन माग गर्दा समेत यो कार्यालयले उपलब्ध गराउन नसकेको निर्माण कम्पनीको आरोप छ ।

पटक पटक म्याद थपिएकाले आगामी जेठ मसान्त भन्दापछि एक दिन पनि म्याद थप गर्न नसकिने सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई, काभ्रेपलान्चोकका इन्जिनियर कुसुम भट्टराईले बताउनुभयो । तीन वर्ष अगाडी सम्झौता गर्दा र पटक पटक म्याद सकिँदा केही नभन्ने निर्माण कम्पनीले अहिले ड्रइङ डिजाइन बुझिन भनेकाले निर्माण कम्पनी र ड्रइङ डिजाइन बनाउने कन्सल्टेन्टसँग बसेर छलफल गरिएकाले केही दिनमा एउटा निष्कर्षमा पुगिने उहाँले बताउनुभयो ।

दुई करोड ८५ लाख रुपियाँको अटोमेटिक चियर राख्ने काम ८५ लाख रुपियाँमा गर्न सक्छु भनेर ठेक्का पारेको र अहिले काम गर्न नसक्ने अवस्था भएपछि निर्माण कम्पनीले विभिन्न बहाना गरिरहेको इन्जिनियर भट्टराईले बताउनुभयो । निर्माण कम्पनीले धेरै बहाना बनाएर काम गर्न आलटाल गरिरहेकाले सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाईले दुई करोड ८५ लाख रुपियाँ भुक्तानी समेत रोकेको छ उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्