वडा अध्यक्ष र सदस्यको धम्कीपछि सर्वसाधारणले गरे आत्महत्या



– जाहेरी रोकेर सहमति प्रयास
– ८ दिनदेखि अस्पतालमा शव

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका–१ स्थित सापिङका ६८ वर्षीय ठडेन्द्रबहादुर पन्तको शव आठ दिनदेखि अस्पतालको मुर्दाघरमा राखिएको छ । ठडेन्द्रका छोरा २१ वर्षीय शेरबहादुर पन्त र ३६ वर्षीय रोमबहादुर पन्तले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दिएको जाहेरी दर्ता नगरी प्रहरी आफैं वार्ता गराइरहेको छ ।

‘बुबालाई आत्महत्या गर्न बाध्य पार्नेहरू विरुद्ध किटानी जाहेरी दिएका छौं’–छोरा शेरबहादुर पन्तले भन्नुभयो–‘प्रहरी जाहेरी दर्ता नगरी दिन दिन वार्ता भन्दै टारिरहेका छौं । जाहेरी दर्ता नगरी शव बुझ्दैनौं ।’ भुम्लु गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष ४५ वर्षीय लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भिमेश्वर महिला कृषक समूहकी अध्यक्ष ४२ वर्षीया दानकुमारी महत खत्री र ४६ बर्षिया ताराबहादुर पन्त विरुद्ध पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी फिर्ता लिन पीडितलाई दबाब दिन आइतबार पनि धुलिखेलमा वार्ता गराइएको छ । २०८० असार १० गते विहान ६ बजे भुम्लु गाउँपालिकाको सापिङ्ग स्थित उर्लेनीमा ठडेन्द्रबहादुर पन्तले रूखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

भिमेश्वर महिला कृषक समूहको भवन निर्माणका लागि ठडेन्द्रबहादुर पन्तको श्रीमती भोजकुमारी बानियाँ पन्तको नाममा दर्ता भएको पुरै कित्ता जग्गा मध्ये ३ आना जग्गा दिने सहमति भई बैना बापत ३० हजार भुक्तानी भएको थियो । बाँकी रकम यथाशीघ्र भुक्तानी गर्ने र जग्गा पास गर्ने सहमति भए पनि रकम दिन आनाकानी गर्दै आएका थिए । रकम नदिने र जग्गा पास समेत नगरी जबरजस्ती भवन निर्माण गरेको र पुनः थप भवन निर्माण गर्न तथा शौचालय निर्माण गर्नका लागि जग खन्ने, निर्माण सामग्री जम्मा गर्ने कार्य गर्न लागेको भन्दै ठडेन्द्रबहादुर पन्त सहितले अवरोध गर्ने प्रयास भएको थियो ।

२०८० असार २ गते वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, भिमेश्वर महिला कृषि समुहकी अध्यक्ष दानकुमारी महत खत्री भएको स्थानमा ठडेन्द्रबहादुर पन्तसहित गएर रकम माग गरेका थिए । खरिद गरिएको जग्गाको तत्काल रकम दिन अनुरोध गर्नुभएको छ । रकम नदिँदासम्म उक्त स्थानमा निर्माण कार्य रोक्न गरेको अनुरोधलाई अस्वीकृत गर्दै वडा अध्यक्ष श्रेष्ठ, संस्थाकी अध्यक्ष तथा वडा सदस्यसमेत रहेकी दानकुमारी खत्रीले हामी जनप्रतिनिधि हौ, तेरो घरको बत्ति समेत काट्छौं, जन्म दर्ता सिफारिस कागज पत्र दिदैनौ, सामाजिक बहिस्कार गर्छाैं तिमीहरूले सकेको गर भन्दै धम्की दिएका थिए । ताराबहादुर पन्तले उक्त जग्गामा रोपेको मकै उखेलेर फालिदिएर जग्गामा जबरजस्ती निर्माण कार्य गरी मानसिक यातना र धम्की दिएका थिए । धम्कि पछि विक्षिप्त भएका ठडेन्द्रबहादुर पन्तले सोही जग्गाको नजिकै लप्सीको बोटमा नाम्लोको पासो लगाई असार १० गते बिहान झुण्डिएर आत्महत्या गरेका थिए ।

पीडितहरूले सोही कारण आफ्ना बाबु ठडेन्द्रबहादुर पन्तले आत्महत्या गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को कसुर आत्महत्या गर्न दुरुत्साहन गरेकोमा कारबाहीको माग गर्दै दिएको जाहेरी जनप्रतिनिधिले रोकेर छलफल गराइरहेका छन् । जनप्रतिनिधिहरू आफंै अपराधलाई संरक्षण गर्नतर्फ उन्मुख भएको भन्दै स्थानीयहरूले आपत्ति गरेका छन् । निमित्त प्रहरी प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले प्रहरीमा आएको जाहेरी दर्ता हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्