व्यायामकर्तालाई अभिशाप स्टेरोइड

0
Shares

चिकित्सा विज्ञानमा स्टेरोइड जीवनको लागि बरदान हो भने यो एक मन्दविष पनि मानिन्छ । यो यौगिक दुई धारे तरवार हो । चिकित्सकले रोग निको पार्नका लागि औषधिको रुपमा प्रयोग गरे यसले जीवन रक्षा गर्छ भने अन्य कुनै ब्यक्तिले आफूखुसी अन्य प्रायोजनका लागि प्रयोग गरे ज्यान समेत लिन्छ । साधारण भाषामा भन्नुपर्दा मानिसको शरीरमा प्राकृतिकतवरमा निर्माण हुने हर्मोनलाई मानिसले प्रयोगशालामा उत्पादन गरिने कृत्रिम रासायनिक यौगिक हो ।

एनाबोलिक स्टेरोइड पुरुष यौन हर्मोनको कृत्रिम संस्करण हो । एनाबोलिक स्टेरोइडहरु नियन्त्रित पद्धार्थ ऐन अन्तर्गत अनुसूची ३ मा पर्ने पद्धार्थ हुन् । खेलाडीले मांसपेशीय पिण्ड बृद्धि गर्न, खेल प्रदर्शन उकास्न, शक्ति बढाउन, शारििरक वसाज्वलन गर्न शारीरिक तवरमा राम्रो देखिन आदिका लागि यस यौगिकको दुरुपयोग गर्दछन् ।

वल्र्ड एन्टी ड्रग्स एजेन्सी, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले खेलाडीमा स्टेरोइडको प्रयोग माथि बन्देज लगाएको छ । सबै स्टेरोइडहरु १७ कार्बोन परमाणुहरुबाट बनेको चरित्रिक आणविक संरचनासंग सम्बन्धित छन, जुन चार जोडिएका (फिउज्ड) चक्रहरुमा बाँडिएका हुन्छन् । तीन छ सदस्य साइक्लोहेक्सेन चक्रहरु र एउटा पाँच–सदस्य साइक्लोपेन्टेन चक्र ।

सन् १९२९ मा मेयो क्लिनिकमा काम गरिरहेका फर्मासिष्टद्वय एडवर्ड केन्डल र ह्यारोल्ड मेसनले पहिलो पटक कोर्टिसोन नामक स्टेरोइड हर्मोन पहिचान गरेका थिए । यस यौगिकको अनाधिकृत एवं औधि मात्रामा प्रयोग गर्ने गरेका थुप्रै उच्च कोटीका खेलाडीहरु विभिन्न स्वास्थ्य समस्या (हृदयघाट, स्ट्रोक, अर्गान फेलुयर, भास्कूलार समस्या) बाट मृत्यु भइसकेका छन् भने कतिपयको जीवन नर्कसरह पनि बनेको छ । साधारणतया खेलाडीहरु यसबाट अछुटो छैनन ।

अन्य खेलको तुलनामा शारीरिक सुगठन खेलका खेलाडीहरुमा त यसको प्रयोगले विकराल समस्या नै नित्याएको छ भन्दा फरक नपर्ला । त्यसमाथि नेपालमा त खुल्लेआम यो यौगिकको प्रयोग बिनाको शारीरिक सुगठन खेल बेकार हो, कम्पिटेटिभ शारीरिक सुगठकको लागि यसको प्रयोग अवस्यम्भावी छ भनिभ्रामक, स्वास्थ्यविरोधि, क्लिनप्ले एवं ट्रु प्ले को अन्तरराष्ट्रि खेलभावना विपरित प्रचार प्रसार गरिन्छ ।

त्यस्ता लागू औषधिका प्रबद्र्धक, ब्राण्ड एम्बेसिडर्स आदिलाई रोक्नुपर्ने निकाय नै गैर जिम्मेवार तरिकाले विभिन्न माध्यमबाट प्रोत्साहित गर्न अग्रसर रहेकाले प्रायजसो शारीरिक सुगठन खेलमा लाग्ने खेलाडीहरुमा गलत सन्देश प्रवाह भइरहेको छ । स्वास्थ्यमा यस यौगिकको अनेक नकारात्मक असरदेखि मृत्युसम्म सम्भावना प्रबल हुन्छ । हृदयघाट, मिर्गाैलो बिग्रनु, मूड स्वीइङ, तीव्र यौन ईच्छा तर असफल यौनक्रिडा लगायत अरु थुप्रै समस्याबाहेक रक्तवाहिनी (भास्कूलार) समस्या पनि हुने गर्दछ । जसको हालसालैको एउटा घटनाको दृष्टान्त यहाँ प्रस्तुत गरिएको छ ।

भास्कुलार सर्जरी हुनुभन्दा करिब एकवर्ष अगाडी काठमाडौंको एकजना योग्य व्यायाम प्रशिक्षकले कतारमा भोग्नु परेको दुख यहाँ प्रस्तुत गरिएको छ । स्टेरोइडको प्रयोगले विदेशमा मृत्युको मुखबाट मुश्किलले बचेका ती ब्यक्ति हुन् ४१ बर्षीय नेपाली व्यायाम प्रशिक्षक किरण श्रेष्ठ । उनले कतारको राजधानी दोहास्थित एउटा व्यायामशालामा व्यायाम प्रशिक्षकका रुपमा काम गर्नुभएको थियो । प्रभावशाली प्रशिक्षणको कारण प्रशिक्षार्थीबीच पनि राम्रो छाप बसेको उनको कमाई पनि राम्रो नै थियो ।

कामप्रति वफादार उनी व्यायाम प्रशिक्षण गरेरै दिन बिताउने गर्थे । यसरी नै उनको दिनचर्या व्यतित भइरहेको थियो ।अचानक एकदिन उनलाई वायाँ घुँडामुनी पिडौलाको बायाँतर्पm टनटनी दुखाईको महसुस हुन्छ । दुखाई क्रमिक रुपमा बढ्न थाल्छ र दुःखाईले असह्य पीडाका साथै उक्त खुट्टा झनै सुन्निएपछि उनलाई तनाव हुन्छ । सन् २०२२ को अक्टूबर २३ को अपरान्ह दोहाको हमाड मेडिकल कर्पारेसनमा विभिन्न परिक्षणपछि बाँया तल्लो अंगमा गम्भिर इस्केमीया भएको रिपोर्ट आउंछ ।

इस्केमीया भनेको रक्त आपूर्तीको कमीले अक्सिजन र पोषक तत्वमा ह्रास आएर तन्तु (टिश्यू) क्षतीग्रस्त भएपछि हुने स्वास्थ्य समस्या हो । यो भास्कुलार समस्याले खुट्टाको क्याथेटर गाईडेड थ्रम्बोलाइसिस प्लसमाइनस थ्रम्बोस एस्पिरेशनको लागि उनलाई सर्जिकल इन्टेन्सिभ केअर युनिट (एसआईसीयु) राखिन्छ । यो क्याथेटर गाईडेड थ्रम्बोलाइसिस एक न्यूनतम इनवेसिभ एन्डोभास्कुलार उपचार विधि हो जुन एन्टीकोगुलेसनको सहायकको रुपमा प्रयोग गरिन्छ । यसले क्लट बोझलाई घटाएर भल्भुलर क्षतिविरुद्ध सुरक्षा गरी पोष्ट थ्रम्बोलाइसिस सिन्ड्रम (पीटीएस) को जोखिम कम गर्छ । उनलाई गम्भीर तथा घातक भास्कूलार समस्याले च्यापेको थियो । यस्तो परिस्थितिमा रोगले च्यापेको दशबाह्र दिनभित्रै शल्यक्रिया गर्नु पर्नेहुन्छ । अन्यथा उनकोको मृत्यु समेत हुने चिकित्सकले बताउंछ ।

अस्पताल भर्ना भएकै दिन उनलाई एनेस्थेसिया दिई अचेत गरी नाईटोको बायाँ कम्मरनिरबाट क्याथेटर छिराइ थ्रम्बोलाइसिस प्रक्रियाबाट ब्लड क्लोट हटाउने क्रिया गरिन्छ । भर्ना भएको तेस्रो दिन उनको बाँया खुट्टाको पूर्ववर्ती (एन्टेरिअर), पाश्र्व (ल्याटरल) र उपल्लो (सुपेरिअर) कक्षाको फासियोटोमी गरिन्छ । फासियोटोमी (फ्यासियाको शल्यक्रिया) गरिरहेको बेला अचानक प्रशिक्षक किरणको हृदयको धड्कनको चाल एकाएक बन्द भएर रक्तचाप (बीपी) शुन्यमा झर्छ ।

कार्डियाक अरेस्ट भएका उनलाई शल्यक्रियामा संलग्न भास्कुलार सर्जनले अविलम्ब कार्डीयो पल्मोनारी रेस्सिटेसन् (सिपिआर) सुरु गर्छ । ४० सेकेन्डको सिपिआरले मुटु पुनः धड्किन थाल्छ । लगत्रै भास्कुलार सर्जनले विरामीको दुवै कुममा वेक अप ट्यापिङ दिंदै “गेट अप किरण गेट अप किरण” भन्न थालेपछि किरणको आँखा पलकको लागि खुल्छ । तर, तत्क्षणमा नै पुनः अचेत हुन्छ । होस् फर्केपछि सर्जनले “किरण इट वाज मिराकल, यु वाज अलमोस्ट गन फर फोर्टी सेकेन्ड, यु केम व्याक” भनेर भन्छ । दुई सातापछि उनी डिस्चार्ज हुन्छ ।

यो भास्कुलार सर्जरी र विभिन्न औषधोपचार (वारफारिन ट्याब्लेट, ट्रान्सडर्मल नीकोटिन प्याच, पेन्टोक्सीफाइलिन, मल्टीभिटामिन विथ मिनरल्स, फेरस सल्फेट, इसोमप्राजोल, पारासिटामोल) आदिको लागि नेपाली रकम झण्डै चालिस लाख रुपैयाँ खर्च लाग्दो रहेछ । एकजना व्यायाम प्रशिक्षकको लागि यो रकम सानो थिएन । तर, कतार सरकारले सबै खर्च सरकारी ढुकुटीबाट व्यहोरी दिएको कारण किरणलाई धेरै राहत मिल्छ ।

नेपालमा भएको भए शायद उनको उपचार यसरी सहज नहुन सक्थ्यो । त्यति मात्र नभई कतार सरकारले दोहाबाट काठमाडौं सम्मको हवाई टिकट समेत उपलब्ध गराएपछि उनी निरोगी भई स्वदेश फर्कन्छ । आफ्नो देशका नागरिकलाई व्यायाममार्पmत् स्वास्थ्य सेवा पु¥याउन आएको विदेशी नागरिकलाई यस्तो मानवतावादी सहयोग प्रशंसा योग्य छ ।

वास्तवमा व्यायाम प्रशिक्षक किरण श्रेष्ठ एक वर्षको सम्झौतामा कतार पुगेका थिए । उनी दोहा पुगेको दश महिना बितिसकेको थियो र डेढ महिनाको हाराहारीमा उनी काठमाडौं फर्कने तरखरमा थियो । त्यसै बेला उनको मनमा कतार जाँदा बेलाभन्दा काठमाडौं फर्कंदा उनको शरीर बढी ठूलो र भिन्न देखियोस् भन्ने विचार उब्जेको थियो । त्यही लालसमा उनले प्रिमोबोलिन (प्रिमो), टेस्टोस्टेरोन र क्लेनबुटेरोल यी तीन स्टेरोइडहरु लिन सुरु गरेका थिए । हमाड मेडिकल कर्पोरेशनमा परिक्षणको बेला चिकित्सक टोलीले उनीसंग के उनले स्टेरोइड लिने गरेको छ भनेर बारम्बार सोधेका थिए । स्टेरोइडले त्यस्तो भास्कुलार समस्या निम्त्याउनेमा सर्जनहरु विश्वस्त थिए । तर, प्रशिक्षक श्रेष्ठले स्टेरोइड लिएको स्वीकारेन । स्वीकारेको भए सायद कतार सरकारले उपचार खर्च नव्यहोर्ला कि भन्ने डर उनीमा थियो ।

हाल उनी काठमाडौंमा नै छन् स्वस्थ नै छ । यहाँ भ्रामक प्रचार गरिएको कारण जथाभावी स्टेरोइडको अनाधिकृत र असुरक्षित तवरमा प्रयोग गर्ने प्रयोगकर्ताहरु किरण श्रेष्ठ जस्तो भाग्यशाली नहुन सक्छन् । ज्यान बनाउन गरिने वेट ट्रेनिंग, प्रोग्रेसिभ रेसिस्ट््यान्स एक्सरसाइज वा स्ट्रेन्थ ट्रेनिंग जस्तो कसरत मेहनतले गरौं । तर, स्टेरोइड प्रयोगमा भने होशियार र सतर्क बनौं । देखासिकी वा भ्रामक प्रचारको लहलहैमा स्टेरोइडको अनाधिकृत र असुरक्षित प्रयोगको लतमा नफसौं, नत्र चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने भनाई चरितार्थ हुन बेर नलाग्ला ।