उद्योगको क्षमता उपयोग घट्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप ९ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले पुससम्मको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार निक्षेप ९ दशमलव १ प्रतिशतले बढेको उल्लेख छ ।

उक्त अवधिमा कर्जा प्रवाह ४ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप र कर्जामा बागमती प्रदेशको अंश क्रमशः ६९ दशमलव ४ प्रतिशत र ५५ दशमलव ६ प्रतिशत रहेको छ । निक्षेप र कर्जामा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम क्रमशः १ दशमलव २ प्रतिशत र १ दशमलव २ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा उद्योगको औसत क्षमता उपयोग ४३ दशमलव शून्य ७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ४८ दशमलव ३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उद्योगको क्षमता उपयोग औसतमा ४३ दशमलव सात प्रतिशत रहेको छ । यो अवधि बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश २७ दशमलव नौ प्रतिशत रहेको छ ।

सञ्चालनमा रहेका उद्योगमध्ये बिजुलीको क्षमता उपयोग ९३.१९ प्रतिशत, चकलेट उद्योगको क्षमता उपयोग ८५.५९ प्रतिशत र प्रशोधित चियाको क्षमता उपयोग ८५.३९ प्रतिशत रहेको छ । उद्योगहरुमध्ये वनस्पती घ्यू, तोरीको तेल, भटमासको तेल, चामल, गहुँको पिठो, पशुदाना, बिस्कुट, चाउचाउ, मदिरा, हल्का पेय पदार्थ, सिन्थेटिक कपडा, प्रशोधित छाला, रंग, ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, लिक्युड, साबुन उद्योगको उपयोग क्षमतामा गिरावट आएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन चार दशमलव तीन प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भूक्षेत्र भने दुई दशमलव एक प्रतिशतले घटेको छ ।

खाद्य तथा अन्य बालीको उत्पादन मात्र पाँच दशमलव सात प्रतिशतले बढेको छ । त्यस्तै तरकारी तथा बागवानीको उत्पादन साढे चार प्रतिशतले बढेको छ । फलफूल र मसलाको उत्पादनमा भने क्रमशः पाँच दशमलव दुई प्रतिशत र आठ दशमलव चार प्रतिशतले घटेको छ ।

प्रतिवेदनअनुसार पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन एक दशमलव चार प्रतिशत र मासु उत्पादन एक दशमलव सात प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अर्धवार्षिक अवधिमा अण्डा उत्पादन २६ दशमलव तीन प्रतिशतले घटेको छ । वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन १६ दशमलव २३ प्रतिशतले र औषधिजन्य वस्तुको उत्पादन सात दशमलव चार प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

पुस मसान्तसम्ममा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या ५० दशमलव ०३ प्रतिशतले घटेर एक लाख ९६ हजार पाँच सय ९५ कायम भएको र जग्गा रजिस्ट्रेशनबाट प्राप्त हुने राजस्व रु नौ अर्ब ९० करोड पुगेको प्रतिवेदनमा जनाइएको छ । घर तथा भवनको स्थायी नक्सा पास सङ्ख्या ३७ दशमलव पाँच प्रतिशतले घटेको छ ।

दर्ता भएका कूल सवारीसाधनको सङ्ख्या चार दशमलव एक प्रतिशतले वृद्धि भएको छ । पूर्वाधार क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो छ महिनासम्ममा ३४ हजार ७५ किलोमिटर सडक र तीन हजार १८ पुल निर्माण भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्