आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन



काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आपतकालिन उपचार सेवा प्रदानका लागि तयारी अवस्थामा रहन देशभरका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगहरुको संक्रमण पनि बढ्ने खतरा रहेकोले देशभरका स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधि, उपकरणसहित आपतकालिन उपचारका लागि तयारी अवस्थामा रहन मन्त्री बस्नेतले निर्देशन दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुरु भएको आपतकालिन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालाको उद्घाटनका अवसरमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले हाम्रो जस्तो भूगोल भएको देशका जति बेला पनि आपतकाल आउन सक्ने भएकाले संभावित जोखिमलाई ध्यानमा राखेर आपतकालिन अवस्थामा उपचार सेवा प्रदान गर्न सक्ने गरि पूर्व तयारी आवश्यक रहेको बताए ।

मन्त्री बस्नेतले भने, ‘आपतकाल कति बेला आउछ अन्दाज गर्न सकिदैन । हाम्रो देशमा हरेक वर्ष जसो बाढीपहिरो आएकै हुन्छ । त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौ भने उपचार सेवाबाट बन्चित हुनु पर्ने अवस्था रहदैन । ’

आपतकालित अवस्था आउनु भन्दा पहिले नै हामीले कम्तिमा पनि संभावित क्षेत्रहरुमा खाद्यान र औषधि पुर्याउन सकेको खण्डमा आपतकालिन अवस्था पनि उपचार सेवा दिन सकिने बताउदै मन्त्री बस्नेतले सिमित श्रोत र साधनकाबिच पनि उपचार सेवा प्रदान गर्नु पर्ने स्वास्थ्यकर्मीको दायित्य भएको स्मरण गराए । यसको लागि सरकारले संभावित क्षेत्रमा औषधि पठाइसकेको मन्त्री बस्नेतले जानकारी दिए ।

मन्त्री बस्नेतले आपतकालिन अवस्थाको स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने गरि छुट्टै फण्डको व्यवस्था नभएको बताउदै आपतकालिन अवस्थाको उपचार सेवा प्रदान गर्नका लागि एउँटा छुट्टै फण्ड बनाउने गरि आफुले पहल गरिरहेको जानकारी दिए ।

उनले भने, ‘ आपतकालिन उपचार फण्डमा सबै दाताहरुले पनि सहयोगको हात अगाडि बढाउनु आवश्यक छ । ’ कार्यशाललाई सम्बोधन गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले स्वास्थ्य मन्त्रालयले आपतकालिन अवस्थाको उपचारका लागि देश भरिका २५ वटा अस्पतालहरुलाई हव हस्पिटल बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखिएको बताए ।

उनले भने, ‘ कुनै ठाउँमा संकट आइपर्दा सबै एक ठाउँमा आएर संकट व्यवस्थापन गर्न सक्षम छौ । ’ सात वटै प्रदेशमा आपतकालिन सेवा केन्द्र मार्फत काम भइरहेको र त्यसको नेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरुले गरिरहेको डा। सिहले बताए ।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा।राजेश सम्भाजीराव पाण्डवले आपतकालिन अवस्थाका बेला समेत उपचार सेवा प्रभावित नहोस भन्ने कुरा दिमाकमा राखेर सबै स्वास्थ्यकर्मीले काम गर्न आवश्यक रहेको बताए ।

आकस्मिक उपचार सेवा प्रदान गर्न चाहेर मात्र नहुने बताउदै उनले त्यस्तो बेला आवश्यक औषधि र जनशक्तिको पनि उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिए । उनले विश्व स्वास्थ्य संगठन नेपाल सरकारलाई सहयोग जारी राख्ने बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा अनुगमन महासाखाका निर्देशक डा। मदन उपाध्याय र मन्त्रालयका अतिरिक्त सचिव डा। टंक बाराकोटीले आपतकालिन उपचार सेवा दिन स्वास्थ्यकर्मी तयारी अवस्थामा बस्नु पर्नेमा जोड दिएका थिए ।

शनिबारसम्म चल्ने कार्यशालामा विश्व स्वास्थ्य संगठन हेड क्वाटर , सेरोका विज्ञहरुसहित सात वटै प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरु, फोकल पर्सन र आपतकालिन उपचारमा संलग्न स्वास्थ्यकर्मी सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस्