सवारी दुर्घटनामा परी मन्त्रीसहित ३ को मृत्यु

0
Shares

बझाङ । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित उहाँकी धर्मपत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको निधन भएको छ । उपचारका क्रममा मन्त्री सिंहको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजले मृत घोषणा गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भरत बोहराका अनुसार अस्पतालले मन्त्री सिंहलाई ५ बजेर ३३ मिनेटमा मृत घोषणा गरेको हो । गम्भीर घाइते भएका सिंहलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुर लगिएको थियो । दुर्घटनामा परेका मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको भने बझाङको केदारस्युँ गाउँपालिकामा रहेको देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका मन्त्रीका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्थामा पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनार बजुवा बगरमा खसेको थियो । मन्त्री सिंह गत चुनावमा बझाङ प्रदेशसभा निर्वाचन क्षेत्रनम्बर १ कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।