ब्लुबर्डमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी

14
Shares

कुमारीपाटी, ललितपुर ।

ब्लुबर्ड कलेजमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरु भएको छ । बाग्मती प्रदेशका मन्त्री माननीय रामकृष्ण चित्रकारले क्यानभासमा स्केच गरेर उक्त प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनीमा ब्लुबर्डमा चित्रकला तथा मूर्तिकला अध्ययनरत विद्यार्थीहरूको चित्रकला तथा मूर्तिकला प्रदर्शन गरिएको छ ।

उक्त प्रदर्शनीमा कक्षा ११/१२ मा ब्लुबर्डमा अध्ययनरत तथा भूतपूर्व विद्यार्थीहरुले १०० को हाराहारीमा पेन्टिङ तथा ५० को हाराहारीमा मूर्ति प्रदर्शन तथा बिक्रीमा राखेका छन् । उक्त प्रदर्शनी २ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

उद्घाटन मन्तव्य दिँदै प्रदर्शनीमा माननीय मन्त्री चित्रकारले ललितपुर कला र संस्कृतिको सहर भएकोमा गर्व महसुस गर्नुभयो । उहाँले कला र संस्कृति जस्तो ऐतिहासिक, सांस्कृतिक महत्त्वको विधालाई जगेर्ना गरेकोमा ब्लुबर्ड परिवारलाई धन्यवाद दिनुभयो ।

कार्यक्रम संयोजक तथा कला शिक्षक अजय देशारले ब्लुबर्डका विद्यर्थीहरूले हरेक क्षेत्रमा आफूलाई अब्बल कायम गरेको कुरा बताउनुभयो ।

कार्यक्रममा प्राचार्य वीरसिंह क्षेत्रीले ब्लुबर्डका विद्यार्थीहरूले हरेक क्षेत्रमा आफूलाई अब्बल राखेको कारण यस वर्षमात्र ब्लुबर्ड आउटस्टान्डिङ् अचिभमेन्ट अवार्डबाट सम्मानित भएको जानकारी गराउँदै विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो ।

प्रदर्शनी असार ५ र ६ गते सञ्चालन भइरहने भएकाले कला प्रेमी तथा सम्पूर्ण विद्यार्थी, अभिभावकलाई प्रदर्शनीको अवलोकन गर्न गराउन समेत आह्वान गरिएको थियो ।