अतिरिक्त हुलाकका कर्मचारी आन्दोलित

‘जेठ १६ देखि पत्र ओसारपसार ठप्प’



काभ्रे ।

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन नेपालको आयोजनामा देशभरका हुलाक कार्यालयहरूमा धर्ना सुरु भएको छ । अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले सरकारले बजेट भाषण मार्फत कार्यालय खारेजी गर्ने निर्णयको विरोधमा कर्मचारीहरुले जेठ १५ देखि सेवा ठप्प बनाएका छन् ।

‘अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको आन्दोलनका कारण सेवा प्रभावित बनेको छ’–जिल्ला हुलाक कार्यालय काभ्रेकी निमित्त प्रमुख नानिमैया आचार्यले भन्नुभयो–‘अवरुद्ध सेवालाई सुचारु गर्न इलाका तथा जिल्ला हुलाक कार्यालयका कर्मचारीहरु मार्फत पहल भए पनि सम्भव भएको छैन ।’ जिल्लामा २ सय १ जनाको दरवन्दीमा अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारी छन् भने देशभर १० हजार भन्दा धेरै कर्मचारी अतिरिक्त हुलाक कार्यालयमा कार्यरत छन् । अतिरिक्त हुलाक कार्यालय अन्तर्गत तीन प्रकारका कर्मचारी हुन्छन् । पत्र वितरक, डाक बाहक र हुलाक प्रतिनिधि । जिल्लामा यी तिनै खालका कर्मचारीहरुको दरबन्दी २ सय १ रहेको निमित्त प्रमुख आचार्यले बताउनुभयो । नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनका केन्द्रीय अध्यक्ष टंकप्रसाद हुमागाईले सरकारले अतिरिक्त हुला कार्यालय खारेजीको निर्णय तत्काल फिर्ता लिनु पर्ने बताउनु भयो ।

‘अतिरिक्त हुलाक खारेजीका सट्टा रुपान्तरण र व्यवस्थापन गर्नुस्, कार्यरत कर्मचारीहरुको सेवा सुविधालाई समायोजन गर्नुस् भन्दै हामी विगत लामो समय देखि आन्दोलनमा थियौँ’–अध्यक्ष टंकप्रसाद हुमागाईले भन्नुभयो–‘सरकारले हाम्रा कुरा सुन्नुको सट्टा कार्यालय नै खारेजी गर्ने निर्णय गरे पछि आन्दोलित भएका हौं ।’ ‘बजेट प्रस्तुत भएको भोलिपल्टदेखि नै हामी विभिन्न माग राखेर आन्दोलन गरिरहेका छौँ’–अध्यक्ष हुमागाईले भन्नुभयो–‘माग सम्बोधन नहुँदासम्म चरणवद्ध आन्दोलन गर्नेछौँ ।’ आन्दोलनका कार्यक्रम आन्र्तगत जेठ १६ गते देखि नै डाँक सेवा बन्द गरिएको छ भने असार ५ गते देखि धर्ना कार्यक्रम सुरु गरिएको छ ।

असार १० जिल्ला हुलाक कार्यालयका सबै सेवा अवरुद्ध पार्ने र असार ११ गतेदेखि नयाँ कार्यक्रम घोषणा हुने अध्यक्ष हुमागाईले बताउनुभयो । जिल्ला अध्यक्ष लीला हुमागाईले केन्द्रको निर्णय अनुसार बिहान १० बजे देखि दिउसो १ बजेसम्म धर्ना कार्यक्रम सुरु गरिएको बताउनुभयो । अतिरिक्त हुलाक कार्यालयमा कर्मचारीहरुले हुलाक प्रतिनिधि र पत्र वितरकले मासिक ८ हजार ३ सय १० रुपैया र डाक बाहकले ७ हजार २ सय ७५ रुपैया पारिश्रमीक पाउँदै आएका थिए । सोही रकम बढाउन वर्षाैदेखि आन्दोलन गरिरहेका कर्मचारीहरुको माग सुन्नुको सट्टा सरकारले कार्यालय नै खारेज गरेर अपमान गरेको उनीहरूले बताएका छन् । यो कार्यालयमा १० वर्ष देखि ५० वर्ष सेवा गरेका ब्यक्तिहरु पनि छन् ।

‘अतिरिक्त हुलाक कार्यालयको खारेजीका कारण सेवामा समस्या भएको छ’–जिल्ला हुलाक कार्यालय काभ्रेकी निमित्त प्रमुख नानीमैया आचार्यले भन्नुभयो–‘पत्र पु¥याउने व्यक्ति नै हुनुहुन्न । कसै न कसैगरी पु¥याउने प्रयास भए पनि सम्भव भएको छैन ।’ काभ्रेमा जिल्ला हुलाक सहित १२ वटा इलाका छन् । खानिखोला र बेथान्चोकमा इलाका हुलाक छैन तर भुम्लु र पनौतीमा दूई दुईवटा छन् । अहिलेकै अवस्थामा जिल्लाभर पत्र पु¥याउन सम्भव नभएको उहाँले बताउनु भयो । पछिल्लो समय हुलाकको काम छैन भने पनि पत्रहरुको भार हिजो नाम्लोले बोक्नु पर्ने अवस्थाबाट झोलामा आएको आचार्यले बताउनुभयो । सरकारी पत्रहरु र अनिवार्य पत्र पुग्नु पर्ने अवस्थामा वित्तीय क्षेत्र तथा अन्य पत्रहरु धेरै आउने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्