तीन वर्षमा कुल भर्ना दर बढ्यो

0
Shares

काठमाडौं । विगत तीन वर्षमा पूर्व प्राथमिक, आधारभूत र माध्यमिक तहमा विद्यार्थी भर्ना दर बढेको छ । आर्थिक वर्ष २०७६ देखि २०७९ सम्मको तथ्याङक विश्लेषण गर्दा तुलनात्मक रूपमा आ.व. २०७८÷०७९ मा पूर्व प्राथमिक शिक्षामा भर्नादर ३ प्रतिशत बढेको छ । विगत तीन आर्थिक वर्ष २०७६÷०७७, २०७७÷०७८ र २०७८÷०७९ मा क्रमशः ८६ दशमलव २, ८७ दशमलव ६ र गत आबमा ८९ दशमलव ६ प्रतिशतले भर्नादर वृद्धि भएको हो ।

नेपाल सरकारले जेठको तेस्रो साता सार्वजनिक गरेको प्रतिवेदनमा चार वर्षमा मावि तहअन्तर्गत कक्षा ९ र १० मा भर्नादर २ प्रतिशत घटे पनि अरू सबै तहमा बढेको छ । पूर्व प्राथमिक शिक्षामा अनुभव भई कक्षा १ मा नवप्रवेशी विद्यार्थीको संख्या ४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७६÷०७७ मा ६८ दशमलव ६ प्रतिशत थियो । त्यसको तुलनामा २०७९ मा ६ प्रतिशत बढेको हो । आ.व. २०७७÷०७८ मा कक्षा १ मा भर्ना हुने विद्यार्थी संख्या ७० दशमलव २ प्रतिशत थियो ।

तथ्याङ्कअनुसार कक्षा १ मा कुल प्रवेश, खुद प्रवेश दर समेत वृद्धि भएको छ । कक्षा १ देखि ५ सम्ममा २०७६ सालमा कुल भर्नादर १ सय १९ प्रतिशतबाट बढेर १ सय २२ प्रतिशत पुगेको छ भने खुद भर्नादर ९६ प्रतिशत छ । कक्षा १ देखि ८ मा कुल भर्नादर १ सय १८ र खुद भर्नादर ९५ प्रतिशत रहेको छ । सो संख्या ०७६÷०७७ को तुलनामा २ प्रतिशतले बढी हो ।

कक्षा ८ मा टिकाउ दर ८३ दशमलव ५ प्रतिशत छ । आ.व. ०७६÷०७७ मा उक्त दर ७९ दशमलव ३ प्रतिशत थियो । आब ०७७÷०७८ टिकाउ दरमा वृद्धि भएर ८२ दशमलव २ र गत वर्ष ८३ दशमलव ५ प्रतिशत पुगेको थियो । कक्षा ९ देखि १२ मा कुल भर्नादर ७६ दशमलव १ र खुद भर्नादर ५१ दशमलव २ रहेको छ । २०७६ सालमा यो दर ४६ दशमलव ४ प्रतिशत थियो ।

कक्षा १२ सम्मको टिकाउ दरको अवस्था दयनीय रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार कक्षा ९ देखि १२ मा खुद भर्ना दर ५१ प्रतिशत थियो भने त्यसको टिकाउदर २९ दशमलव २ प्रतिशत रहेको छ । तीन वर्षको अवधिमा साक्षरता दर यथावत रहेको छ । आ.व. २०७६÷०७७ मा ६० वर्षमाथिको साक्षरता दर ७८ प्रतिशत र २०७७–०७८ मा ८८ दशमलव ६ प्रतिशत रहेको छ ।

त्यस्तै, शिक्षक व्यवस्थापनतर्फ आधारभूत तहमा महिला शिक्षकको संख्या ४६ दशमलव ५ प्रतिशत छ । यो संख्या आ.व. २०७६÷०७७ मा ४३ दशमलव १ र २०७७÷०७८ मा ४३ दशमलव ७ थियो । माध्यमिक तहमा महिला शिक्षकको संख्या २० प्रतिशत छ ।