लमजुङका पाँच स्थानीय तहलाई प्रदेश सरकारको विशेष अनुदान शून्य



लमजुङ। 

लमजुङका पाँच वटा स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारबाट विशेष अनुदान नपाउने भएका छन् । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार विशेष अनुदान नपाउने स्थानीय तह मध्ये तीनवटा नगरपालिका र दुई वटा गाउँपालिका रहेका छन् ।

जिल्लाको सदरमुकाम बेसीशहर, राईनास र सुन्दरवजार नगरपालिकाले विशेष अनुदान नपाउने भएका छन् भने गाउँपालिका तर्फ दुधपोखरी र क्होलासोँथार गाउँपालिकाले विशेष अनुदान नपाउने भएको छ।

विशेष अनुदान पाउने नगरपालिका मध्ये मध्यनेपाल नगरपालिकाले ५० लाख रुपैयाँ पाउने भएको छ । त्यसैगरी दोर्दी गाउँपालिकाले ४० लाख र मस्र्याङदी गाउँपालिकाले ६० लाख रुपैयाँ विशेष अनुदान पाउने भएका छन् ।

त्यसैगरी आगामी आर्थिक वर्षमा जिल्लाका तीन स्थानीय तहहरुले सशर्त अनुदान पनि नपाउने भएका छन् । जिल्लाको एक नगरपालिका र दुई गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सशर्त अनुदान नपाउने भएका हुन् ।

प्रदेश सरकारबाट सशर्त अनुदान नपाउने स्थानीय तहहरुमा नगरपालिका तर्फ राईनास नगरपालिका रहेको छ भने गाउँपालिका तर्फ दोर्दी गाउँपालिका र मस्र्याङदी गाउँपालिका रहेका छन् ।

जिल्ला सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले भने आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट ९० लाख रुपैयाँ पाउने भएको छ । त्यसैगरी मध्यनेपाल नगरपालिकाले २५ लाख, सुन्दरवजार नगरपालिकाले ५० लाख रुपैयाँ पाउने भएको छ । गाउँपालिका तर्फ क्होलासोँथार र दुधपोखरी गाउँपालिकाले ५०÷५० लाख रुपैयाँ सशर्त अनुदान पाउने भएका छन् ।

प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको बजेट अनुसार आर्थिक वर्ष २०८०÷८१ का लागि लमजुङलाई १७ करोड ९९ लाख ४९ हजार रुपैयाँ विनियोजन भएको छ । प्रदेश सरकारले जिल्लालाई चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि १७ लाख १० हजार रुपैयाँ कम बजेट विनियोजन गरेको छ ।
जिल्लाका आठ स्थानीय तहमध्ये सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले सबैभन्दा धेरै तीन करोड २१ लाख ११ हजार रुपैयाँ बजेट पाउने भएको छ । त्यस्तै मध्यनेपाल नगरपालिकाले दुई करोड ४९ लाख ९० हजार, सुन्दरवजार नगरपालिकाले दुई करोड ४८ लाख ३४ हजार र राईनास नगरपालिले भने दुई करोड १४ लाख ८९ हजार रुपैयाँ पाउने भएको छ ।

त्यस्तै गाउँपालिका तर्फ सबैभन्दा धेरै मस्र्याङदी गाउँपालिकाले दुई करोड १४ लाख ७५ हजार रुपैयाँ पाउने भएको छ । यसैगरी दोर्दी गाउँपालिकाले दुई करोड एकलाख ९८ हजार रुपैयाँ,  दुधपोखरी गाउँपालिकाले एक करोड ७५ लाख ७३ हजार रुपैयाँ र क्होलासोँथार गाउँपालिकाले एक करोड ७२ लाख ७९ हजार रुपैयाँ पाउने भएको छ ।

चारवटा नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा नगरपालिकाहरुका लागि मात्रै १० करोड ३४ लाख २४ हजार रुपैयाँ विनियोजन भएको छ भने गाउँपालिकाको लागि सात करोड ६५ लाख २५ हजार रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्