स्याङ्जाका स्थानीय तहलाई गण्डकी प्रदेशबाट २६ करोड

0
Shares

स्याङ्जा। 

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई २६ करोड ८४ लाख ४३ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को लागि यहाँका स्थानीय तहलाई उक्त बजेट विनियोजन भएको हो । प्रदेश सरकारले यहाँका ५ नगरपालिकासहित ६ गाउँपालिकामा उपलब्ध गराउने गरी सो रकम विनियोजन गरेको हो । यहाँका ५ नगरपालिकालाई १३ करोड ९७ लाख ४४ हजार रुपैयाँ र ६ गाउँपालिकाको लागि १२ करोड ८६ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकामा सबैभन्दा बढी पुतलीबजार नगरपालिकालाई ३ करोड २३ लाख ३७ हजार रुपैयाँ विनियोजन गरिएको छ भने कम भीरकोट नगरपालिकालाई २ करोड ३१ लाख ३० हजार रुपैयाँ विनियोजन भएको छ । गल्याङ नगरपालिकालाई जम्मा २ करोड ८९ लाख ७२ हजार विनियोजन गरेको छ । त्यस्तैगरी चापाकोट नगरपालिकालाई जम्मा २ करोड ३१ लाख ५६ हजार विनियोजन भएको छ । वालिङ नगरपालिकालाई जम्मा ३ करोड २१ लाख विनियोजन गरेको छ ।

गाउँपालिकामा सबैभन्दा बढी कालीगण्डकी गाउँपालिकालाई २ करोड ३२ लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएको छ भने कम हरिनास गाउँपालिकालाई २ करोड २ लाख १५ हजार विनियोजन भएको छ । अर्जुन चौपारी गाउँपालिकालाई २ करोड ८ लाख ६९ हजार विनियोजन भएको छ । त्यस्तैगरी आँधिखोला गाउँपालिकालाई २ करोड ११ लाख २० हजार विनियोजन भएको छ । त्यस्तै फेदीखोला गाउँपालिकालाई २ करोड २५ लाख २७ हजार विनियोजन भएको छ । विरुवा गाउँपालिकालाई २ करोड ७ लाख ३० हजार विनियोजन भएको छ ।

जिल्लाका कुल ११ पालिकालाई बिनियोजित उक्त रकममध्ये समानीकरण अनुदानमा १४ करोड ५४ लाख ४३ हजार, सशर्त अनुदानअन्तर्गत ३ करोड ८० लाख, विशेष अनुदानमा १ करोड ९० लाख र समपूरक अनुदान ६ करोड ६० लाख रहेको छ । प्रदेश सरकारले उपलब्ध गराएका अनुदानहरुमध्ये समपूरक अनुदान ६ करोड ६० लाख रुपैयाँ पुँजीगत खर्च हो भने बाँकी सबै चालु खर्च हुन् । सरकारले विनासर्त हस्तान्तरण गर्ने समानीकरण अनुदानमात्रै तल्ला सरकारहरुले आफ्नो आवश्यकता, प्राथमिकता र क्षेत्र तय गरी खर्च गर्न सक्छन् । समपूरक अनुदान स्थानीय तहले सञ्चालन गर्न छनोट गरेर पठाएका आयोजनामा खर्च हुन्छ।