तरकारीमा लगाएको भ्याटले सीमा नाकामा तस्करी बढ्यो, कालोबजारी मौलायो 



बुटवल।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत तरकारी फलफूलजन्य केही वस्तुमा मूल्य अभिवृद्धि (भ्याट) लगाएपछि त्यसले नेपालको तरकारी व्यवसायमा प्रत्यक्ष असर गर्नुकासाथै चोरी निकासीले प्रश्रय पाएको तर उपभोक्ता मूल्य बढेको  व्यवसायीले बताएका छन् ।

उनीहरुले कृषि जस्तो कुहिने र चाँडो नष्ट हुने उत्पादनमा विना तयारी भ्याट जस्तो जटिल कर लगाएर सरकारले चोरी निकासीलाई बढावा दिएको आरोप लगाएका छन् । तरकारीमा भ्याट लगाउने निर्णयसंगै वजार मूल्य अनियन्त्रीत भएको र उपभोक्ता मूल्य बढेको बताउँदै सरकारको पछिल्लो कदमले साना व्यवसायीहरु विस्थापित हुँदै जाने र केही ठूला व्यवसायीहरुको कब्जामा कृषि व्यवसाय पर्ने शङ्का उनीहरुको रहेको छ ।

रुपन्देही व्यापार संघको आयोजनामा लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका पदाधिकारीहरुसंगको छलफलका क्रममा तरकारी व्यवसायीहरुले कृषि उत्पादन आलु प्याज आयातका क्रममा अग्रिम आयकर ५ प्रतिशत र ९ प्रतिशत कृषि सेवा शुल्क लिएको अवस्थामा १३ प्रतिशत भ्याट लगाउँदा कृषि उत्पादनमा २७ प्रतिशत कर पुगेको र त्यसले चोरी निकासीले प्रश्रय पाएको बताएका छन् ।

व्यवसायीहरुले दैनिक उपभोग्य वस्तुमा पनि सरकारले भ्याट लगाउने प्रावधान ल्याएर व्यवसाय नै संकुचित पार्न खोजेको भन्दै उक्त प्रावधान खारेजीको माग गरेका छन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुलाल भुसालले कृषि उपज तथा आलु, प्याजमा मूल्य अभिवृद्धि कर लगाउँदा व्यवसायीहरु हतोत्साहित भएको र महँगी बढ्नै जाने भन्दै यो प्रावधान खारेजी बाहेक अर्को बाटो नभएको बताउनु भयो ।

सरकारको उक्त निर्णय पछि सीमा नाकाबाट तरकारीको अवैध कारोबार बढेर गएको ,चोरी पैठारीले प्रश्रय पाएको बताउनु भयो  ।
लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका संस्थापक अध्यक्ष घनश्याम भुसालले सरकारले हचुवाको भरमा तरकारीमा भ्याट लगाएको बताउँदै त्यसको प्रत्यक्ष असर उपभोक्तालाई परेको धारणा राख्नु भयो ।

रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले स्वदेशी उत्पादन र स्वदेशी लगानीलाई संरक्षण गर्नु राज्यको दायित्व भएको बताउँदै राज्यका नीति कुनै पनि व्यवसायलाई मार्ने खालको हुन नहुने कुरामा जोड दिनु भयो।

प्रतिक्रिया दिनुहोस्