विज्ञान प्रदर्शनी: सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम

0
Shares

गण्डकी । 

पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय विज्ञान महोत्सवमा सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सहआयोजनामा महोत्सवमा पोखराकै सिर्जना सेकेन्डरी स्कुल दोस्रो र गण्डकी बोर्डिङ स्कुल तेस्रो भएका छन् । जनज्योति माध्यमिक विद्यालय तनहुँ, नमूना आवासीय माध्यमिक विद्यालय पर्वत, शिशु निकेतन सेकेन्डरी स्कुल र कालिका माध्यमिक विद्यालय पोखराले सान्त्वना प्राप्त गरेका छन् ।

विजेतालाई पुरस्कार प्रदान गर्दै गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री सुशीला सिंखडाले विज्ञान महोत्सवले शैक्षिक गुणस्तरीयतामा प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका लागि महोत्सव नौलो भएको बताउँदै उहाँले निरन्तरताको आवश्यकतालाई औँल्याउनुभयो ।

कार्यक्रममा राजकुमार ढकाललाई ‘उत्कृष्ट विज्ञान शिक्षक २०७९’ को रुपमा सम्मान तथा पुरस्कृत गरिएको थियो । विज्ञान शिक्षक समाज नेपाल र नेपाल बौद्धिक समुदायले गण्डकी बोर्डिङका विज्ञान शिक्षक राजकुमार ढकाललाई उक्त सम्मान प्रदान गरेको हो ।

स्याङ्जाका ढकाल विज्ञान शिक्षक समाज गण्डकी प्रदेश संयोजक समेत हुनुहुन्छ । महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीले बनाएका ‘प्रोजेक्ट’को ५० प्रदर्शनी राखिएका थिए । तीमध्ये २६ विद्यालयका ४० प्रोजेक्ट र अन्य अप्रतियोगी रहेको आयोजकले जनाएको छ । पोखरामा पहिलोपल्ट आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको थियो ।