लमजुङको मर्स्याङ्दीमा प्लास्टिकका भाँडा प्रयोगमा प्रतिबन्ध



लमजुङ।

 पश्चिम लमजुङको मर्स्याङ्दी गाउँपालिकाले प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयोगमा प्रतिबन्ध लगाइएको छ । गाउँपालिकाले जेठ २५ गते बसेको कार्यपालिका बैठकमा प्लास्टिकका सामाग्री प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । सफा मर्स्याङ्दी अभियानलाई सार्थक बनाउन प्लास्टिकजन्य भाँडाको विकल्पमा दुना टपरी र स्टिलका भाँडा प्रयोगमा प्रोत्साहन गर्ने अध्यक्ष गुरुङको भनाई छ ।

 उक्त निर्णयलाई कार्यान्वयनमा ल्याउन पालिकाले जेठ ३२ गते सार्वजनिक सूचना जारी गरेको छ । मर्स्याङ्दी गाउँपालिकाले चालु आर्थिक वर्षमा सफा  मर्स्याङ्दी अभियान ‘समेत सञ्चालन गरेको छ । अभियान अन्तर्गत गाउँपालिकाले सवै गाउँटोल, बाटोघाटोमा सरसफाई अभियान चलाउनुको साथै गाउँबस्तीमा पुगेर ट्याक्टरबाट फोहोर सङ्कलन गरी वर्गीकरण गरेर व्यवस्थापन गर्ने गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले २०७६ असोजदेखि फोहोर सङ्कलन अभियान सञ्चालन गरी जथाभाबी फोहर फाल्न प्रतिबन्ध लगाएको थियो । त्यति बेलादेखि मर्स्याङ्दी नदीलाई केन्द्रमा राखेर सफा मर्स्याङ्दी अभियान सुरु गरिएकोमा अहिले गाउँपालिकालाई नै सफा बनाउने अभियानमा गाउँपालिका जुटेको हो ।

मर्स्याङ्दी गाउँपालिकाले फोहर जथाभाबी नफाल्न गाउँगाउँमा डस्टवीनको व्यवस्थापन गरेको छ । फोहर सङ्कलन गरी प्रशोधन गरेर विक्री गरी आम्दानी समेत गरिएको गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले आफैँ ट्याक्टर खरिद गरेर फोहोर सङ्कलन क्यालेन्डर बनाएर गाउँगाउँबाट फोहर सङ्कलन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्