कामपाका १०० विद्यालयले छात्रवृत्ति विवरण बुझाएनन्, लिखित स्पष्टीकरण सोध्ने तयारी, अटेर गरे सम्बन्धन खारेजीको प्रक्रियामा

0
Shares

काठमाडौं काठमाडौं महानगरभित्र सञ्चालित सयवटा संस्थागत विद्यालयले छात्रवृत्ति विवरण नबुझाएपछि ती विद्यालयलाई कामपाले लिखित स्पष्टीकरण सोध्ने तयारी गरेको छ । कामपाले पाँच दिनको म्याद दिएर यही २३ गते छात्रवृत्ति विवरण बुझाउन सूचना जारी गरेको थियो ।

महानगरको सूचनाअनुसार अस्ति आइतबार ५ दिने म्याद सकिएको थियो । म्याद सकिएको भोलिपल्ट हिजो विवरण बुझाउने विद्यालयको संख्या गणना गरेको थियो । ‘कामपाभित्र ५ सय ४ विद्यालय छन् तीमध्ये अझै सय वटाले विवरण बुझाएका छैनन्’ –कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले भन्नुभयो । उहाँँका अनुसार ३ सय ४२ मध्ये एक सयले विवरण बुझाएका छैनन् । विवरण नबुझाउने विद्यालयमाथि महानगरले कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । ‘पहिलो चरणमा छात्रवृत्ति विवरण नबुझाउने तपार्इंको विद्यालयलाई किन कारबाही नगर्ने बेहोराको पत्र बुझाउनेछौं, चित्तबुझ्दो उत्तर नआएमा सम्बन्धन खारेजी प्रक्रियामा जानेछौं’ –विभाग प्रमुख कोइरालाले भन्नुभयो ।

यसअघि १ सय७२ विद्यालयले मात्र विवरण पेस गरेका छन् । कामपा शिक्षा विभागले सबै संस्थागत विद्यालयले अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराएको विवरण पेस गर्ने गरी सूचना जारी गरेको थियो । कामपाले चालु शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीलाई पढ्न रोक नलगाउने बताउँदै विवरण नबुझाउने विद्यालयलाई आउँदो शैक्षिक सत्रमा सम्बन्धन खारेज गर्ने जनाएको छ ।

भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदाहँुदै महानगरमा सञ्चालित झन्डै ७० प्रतिशत विद्यालयले विवरण पेस गरेका छैनन् । प्याब्सन महानगर कमिटीका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले अधिकांश विद्यालयले विवरण पेस गरेको बताउनुभयो ।

संस्थागत विद्यालय शाखा प्रमुख मोती खनालले केही विद्यालयले व्यक्तिगत इमेलमार्फत विवरण पेस गरेको र कतिपयले दोहो¥याएर विवरण दिएको बताउनुभयो । कामपाले वैशाख २४ गते परिपत्र गरी जेठ १५ गतेभित्र छात्रवृत्ति विवरण कामपालाई दिइसक्नुपर्ने सूचना गरेको थियो । सो अवधिभित्र कामपाको शिक्षा विभाग वा इमेलमा विवरण नपठाएका विद्यालयको नाम सार्वजनिक गरेको हो ।

कामपाले आगामी शैक्षिक सत्रबाट कुल विद्यार्थीको ५ प्रतिशत सम्बन्धित विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र बाँकी ५ प्रतिशत छात्रवृत्ति बराबरको रकम महानगर शिक्षा कोषमा जम्मा गर्नुपर्ने नियम कार्यान्वयन गर्ने भएको छ । शिक्षा विभाग प्रमुख कोइरालाले आगामी वर्षबाट कोषमा रकम जम्मा गर्ने व्यवस्था लागू हुने बताउनुभयो ।

विभागीय प्रमुख कोइरालाले विवरण पेस नगर्ने विद्यालयको अनुगमन गरी कारबाही गर्ने चेतावनी दिनुभयो । राजधानीमा सञ्चालित अधिकांश विद्यालयले जेहन्दार छात्रवृत्ति दिने नाममा ठूलाबडाका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने गरेको छ । विभाग प्रमुख कोइरालाले पहिलो चरणमा विवरण माग गर्ने र त्यसपछि छात्रवृत्ति पाएका विद्यार्थीको अवस्थाबारे अध्ययन गर्ने बताउनुभयो । ‘यदि, मनपरी रूपमा छात्रवृत्ति उपलब्ध गराएको थाहा पाए तत्काल कारबाही गर्नेछौं’ –उहाँँको चेतावनी थियो । कामपाले त्यस विषयमा पनि सूक्ष्म अध्ययन जारी राखेको दाबी गरेको छ ।

छात्रवृत्ति दिँदा अब हरेक विद्यालयलाई कोटा निर्धारण गरिनेछ । त्यसका लागि विद्यार्थीहरूसँग आवेदन आह्वान गरिने छ । महानगरले नै प्रवेश परीक्षा सञ्चालन गरी सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था लागू गर्दै छांै । कामपा विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लंघन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयको नाम सार्वजनिक गरेको हो ।

कामपाले विद्यालयले विवरण पेस नगरेमा कामपा शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्ध वा यस ऐन वा अन्य प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने जनाएको छ ।