बाह्रदशी गापाका पदाधिकारीको ११ लाख रुपियाँको इन्धन खर्च



भद्रपुर । झापाको बाह्रदशी गाउँपालिकाले विभिन्न शीर्षकमा अस्वाभाविक खर्च गरेको पाइएको छ । पालिकाले ऐन र नियमावलीविपरीत अत्यधिक खर्च गरेको पाइएको हो ।

गत आवमा बाह्रदशीले पदाधिकारीलाई १० लाख ९९ हजार ८ सय ५० रुपियाँको इन्धन उपलब्ध गराएको छ । पालिकाले कुन सवारीमा र के प्रयोजनमा कति खर्च भयो भन्ने विवरण नराखी खर्च गरेको छ । पालिकाले इन्धन सुविधासम्बन्धी कुनै मापदण्डसमेत बनाएको छैन ।

यता कार्यालय प्रयोजनका लागि भनेर छुट्टै ११ लाख २६ हजार ४ सय ९५ रुपियाँ इन्धनमा खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

पालिकाले सवारी साधन मर्मतमा समेत ३२ लाख ८६ हजार ९ सय ६२ रुपियाँ खर्च गरेको छ । पालिकामा एउटा स्कर्पियो, एउटा ब्याकहो लोडर, २० वटा मोटरसाइकल र एउटा स्कुटर रहेको छ । पालिकाले अधिकांश मर्मत खर्च गाडी र मोटरसाइकलमा गरेको देखाएको छ । मोटरसाइकल र गाडीको संख्याको आधारमा मर्मत खर्च अध्यधिक भएको महालेखाले जनाएको छ ।

गाउँपालिकाले बिल भर्पाइबिना नै खर्च गरेको १० हजार २ सय ८० रुपियाँ असुल गर्नुपर्ने देखिएको छ । लोपोन्मुख मेचे समुदायलाई वितरण गर्नुपर्ने भन्दा कम संख्यामा वितरण गरेको बंगुरको ७ हजार ७ सय र ५ नम्बर वडा कार्यालयका तत्कालीन वडा सचिव पुण्यप्रसाद आचार्यले खर्च गरेको विविध खर्चको अग्रिम आय कर र कर्मचारी बैठकको पारिश्रमिक आयकर गरी २ हजार ५ सय ८० रुपियाँ असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

गाउँपालिकाले ठूलो रकम कर्मचारी प्रोत्साहन भत्तामा खर्च गरेको पाइएको छ । कर्मचारीलाई प्रोत्साहन भत्ताका लागि अर्थ मन्त्रालयबाट स्वीकृत गराउनुपर्ने हुन्छ । पालिकाले १६ लाख ९७ हजार ५ सय १५ रुपियाँ प्रोत्साहन भत्ता वितरण गरेको छ । सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत मसलन्द र कार्यालय सामग्री खरिदमा बाह्रदशीले ४४ लाख रुपियाँ खर्च गरेको छ । कार्यालयलाई आवश्यक पर्ने सामानको एकमुष्ट विवरण बनाई सार्वजनिक खरिद ऐन र नियमावलीबमोजिम खरिद योजना बनाई प्रतिस्पर्धात्मक तवरले खरिद गर्नुपर्नेमा गाउँपालिकाले पटकपटक सीधै बजारबाट खरिद गरेको हो ।

पालिकाले सोही नियमावलीको धज्जी उडाउँदै मेसिनरी नेपाल प्रालिबाट ३२ लाख ३८ हजार ५ सय ९८ र सुन्दर आधुनिक कृषि संसार प्रालिसँग ८ लाख ९६ हजार ८ सय १२ रुपियाँको सामग्री विनाप्रतिस्पर्धा सोझै खरिद गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यले मासिक रूपमा पाउने अनुगमन भत्ता मासिक प्रतिवेदनबिना नै एकमुष्ठ रूपमा७ लाख २० हजार रुपियाँ बुझिलिएका छन् ।

त्यस्तै, पालिकाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई प्रतिविद्यार्थी लागतका आधारमा सिकाई सामग्रीका लागि १ सय ५० रुपियाँका दरले निकासा गर्ने भए पनि १६ वटा विद्यालयलाई प्रत्येक विद्यालयमा एक÷एक सय विद्यार्थी बढी देखाई २ लाख ४० हजार रुपियाँ भुक्तानी दिएको छ । उक्त रकम विद्यालयबाट असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने महालेखाले जनाएको छ ।

बाह्रदशीले २९ लाख ११ हजार ३८ रुपियाँको औषधि राष्ट्रिय स्तरको समाचारपत्रका प्रकाशन नगरी सोझै खरिद गरेको छ । खरिद भएका उक्त औषधिहरू कुन उत्पादकले उत्पादन गरेको र सो को मूल्य के कति हो भन्ने राष्ट्रिय स्तरको समाचार पत्रपत्रिकामा प्रकाशन नभएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बाह्रदशीमा बेरुजुको ग्राफ वार्षिक उल्लेख्य गतिमा बढेको पाइएको छ । चार वर्षअघि शून्य दशमलव ९३ प्रतिशत बेरुजु रहेकोमा त्यो बढेर गत आवमा ७.६३ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्