गर्मीका कारण जनजीवन कष्टकर- सोमबारबाट शीतल

0
Shares

–यसपालि नेपालको अधिकांश स्थानमा रेकर्ड ब्रेक
–मधेस, कोसी र कर्णाली प्रदेशमा गर्मी घट्ने

काठमाडौं । सोमबारबाट नेपालमा मौसमी प्रणाली सक्रिय हुने सम्भावना देखिएसँगै गर्मी घट्ने भएको छ । शनिबार कोसी, मधेस प्रदेश र वागमतीको केही स्थानमा बादल लागेका कारण केही शीतल महसुस भएको छ । शुक्रबारको तुलनामा हिजो शनिबार गर्मी कम हँुदै गएको छ । मौसमविद् गोविन्द झाका अनुसार आज आइतबारबाट कोसी, गण्डकी, वागमती र मधेश प्रदेशको केही भागको आकाश बादलले ढाक्नेछ ।

भारतको केरलाबाट बिहीबारबाट नेपाल भित्रिन लागेको मौसम नेपालमा प्रवेश गर्नेक्रममा रहेको मौसमविद् झाको भनाइ छ । उहाँका अनुसार सुदूरपश्चिम पश्चिम तराईमा गर्मी घट्न केही दिन लाग्नेछ । त्यसपछि दशैभर मौसम भित्रने सम्भावना रहेको छ । अब मधेस प्रदेशमा एक सातादेखि लागेको लु बहने क्रम रोकिनेछ । मौसममा सुधार भएको वर्षा हुने सम्भावना देखिएको छ ।

मौसमविद् झाले शनिबार दिउँसोबाट वागमती र कोसी प्रदेशको पहाडी क्षेत्रका केही भागमा हल्का वर्षा भएको जानकारी दिनुभयो । अहिले वर्षा भित्रने क्रम जारी छ, कोसी, वागमतीमा मेघ गर्जनसहित वर्षा हुने अवस्था देखिएको छ । ‘अहिले नै ठूलो वर्षा हुने सम्भावना देखिँदैन तर पहाडी भूभाग, मधेस प्रदेशमा वर्षा हुने सम्भावना छ’ –मौसमविद झाले भन्नुभयो ।

अत्यधिक गर्मीका कारण तराईको जनजीवन पूर्णरूपमा प्रभावित हुन पुगेको अवस्थामा सोमबारबाट राहत मिल्ने सम्भावना देखिएको छ । गर्मीको कारण पूर्वी र मध्य तराईका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । स्थानीय तहले शुरूमा एक हप्ता बिदा दिने निर्णय गरेको थियो । गर्मी नघटेको कारण अझै केही दिन विद्यालय बन्द गरिएको छ । बस्तुभाउ चराउन होस् वा अन्य कुनै पनि काम गर्न नसकिने अवस्था पुगेको छ । घरको काम गर्ने सबैले बिहान बाहिर निस्कने, दिउँसो घरमै बसेर साँझपख मात्र अन्य काम गर्न थालेका छन् ।

अत्यधिक गर्मीका कारण पहाड र हिमालका बाहेक तराईका सबै जिल्लाका स्थानीय विद्यालय बन्द गरेका छन् । यो वर्ष नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव ८ डिग्री तापक्रम रेकर्ड भएको छ । सन् २०२३ को यो सबैभन्दा बढी मापन हो ।

शनिबार देशभरका १६ तामक्रम मापन स्टेसनबाट प्राप्त जानकारीअनुसार सबैभन्दा बढी गर्मी चितवनको रामपुरमा भएको थियो । त्यहाँ ४१ दशमलव १ डिग्री तापक्रम मापन गरिएको थियो । नेपालगन्जको खजुरामा ४० दशमलव ५, नेपालगञ्जमा ४०, सुदूरपश्चिमको टीकापुरमा ४० दशमलव ९ डिग्री मापन गरिएको थियो ।

उपत्यकामा शुक्रबारको तुलनामा कम गर्मी भएको महाशाखाले जनाएको छ । शनिबार साँझसम्म काठमाडौंको तापक्रम ३० डिग्री मापन गरिएको थियो । गर्मी कारण उपत्यकालगायत तराई र पहाडी जिल्लाको जनजीवन अस्तव्यस्त भएको थियो । पश्चिम तराई, सुदूरपश्चिम र मध्यपश्चिममा दुई तीन दिन गर्मी बढ्ने सम्भावना रहेको छ । मौसमविद् साहका अनुसार अबको एक साताभित्र देशभर मौसम सक्रिय हुने सम्भावना देखिएको छ । केरालाबाट वर्षा भित्रिएपछि सुदूरपश्चिमसम्म पुग्ने करिब एक साता लाग्नेछ ।

नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६ दशमलव ४ डिग्री तापक्रम मापन भएको थियो । यो नेपालकै सबैभन्दा बढी मापन हो । यो वर्ष तराईका जिल्लाका साथै पहाडी क्षेत्रमा पनि विगत केही वर्षको तुलनामा रेकर्ड ब्रेक भएको महाशाखाले जनाएको छ । विगत १० गतेदेखि देशैभर तापक्रम बढ्न थालेकामा ४ दिनदेखि भने तापक्रम ह्वात्तै बढेको छ । यो क्रम तराईका क्षेत्रमा बढी देखिएको छ ।

तराईमा तगातार तातो हावा चल्न थालेपछि महाशाखाले यही १९ गते पहिलोपटक तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी गरेको थियो । यो वर्ष नवलपुरको दुम्क्यौलीमा ४३ दशमलव ८ डिग्री ताफक्रम पुगेको र बुधबारसम्मको तथ्याङ्कमा यो रेकर्ड यस वर्षकै सबैभन्दा बढी मापन हो । ओखलढुंगा, धरान, इलामलगायत शीतल मौसमहुने जिल्लामा गर्मीले रेकर्ड ब्रेक गरेको छ ।

महाशाखाले हिजो जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज आइतबार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, वागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

आइतबार राती कोसी र वागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी र वागमती प्रदेशका थोरै स्थानहरूका साथै मधेस प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार दिउँसो कोसी, मधेस र वागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि सोमबार राती कोसी, मधेस र वागमती प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ ।