५६ लाख लगानीकर्ताको सुरक्षा गर्नुपर्छ : अर्थमन्त्री

0
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले सेयर बजारमा आम मानिसहरुको लगानी र आयआर्जनको माध्यमका रुपमा ठूलो आकर्षण छ, त्यसकारण बोर्डको जिम्मेवारी र दायित्व बढेको भन्दै ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु यसको दायित्व र जिम्मेवारी रहेको बताउनुभयो ।

धितोपत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत्वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउदै डा. महतले सेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नकालागि आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गर्नुभयो । ‘आगामी आर्थिक वर्षको आय व्याय प्रस्तुत गर्दा सेयर बजारको विषयमा जे कुरा त्यहाँ उल्लेख भयो, यसको उद्देश्य आम लगानीकर्ताहरुलाई आय करको दायरामा ल्याउने हुँदै होइन, सम्पूर्ण ५६ लाख लगानीकर्ता आय करको दायरामा आउने भए भनेर सेयर बजारमा जुन हल्ला चल्यो त्यो गलत हो, ’ उहाँको भनाइ छ ।

‘सेयर बजारले निश्चित व्यक्तिलाई फाइदा पु¥याउने माध्यमका रुपमा धितोपत्र बोर्ड माध्यम बन्नु हुँदैन, सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुन्छ कि भनेर अथवा भोलि केही होला कि भनेर जसले गाँस काटेर लगानी गरेका छन् । उनीहरुको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी धितोपत्र बोर्डको हो,’ मन्त्री डा. महतले भन्नुभयो–‘सेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ । कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश गराउने चर्चा चलिरहेको छ । धितोपत्र बोर्डलाई अटोमेटेट सिस्टम लैजाने, हरेक क्रियाकलापलाई कागजरहित बनाएर लैजाने, कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चिता गर्नेलगायतका कुरामा उच्च सर्तकता धितापत्र बोर्डले अपनाउने छ ।’

‘सेयर बजारलाई स्वस्थ्य र लगानीकर्ताको लगानी सुरक्षित गर्नका लागि राष्ट्र बैंकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै उहाँले अर्थ मन्त्रालयबाट कहिँकतै दुविधा र भ्रम सिर्जना गर्ने प्रयास नगर्न बताउनुभयो ।’ सेयर बजारलाई कमजोर बनाउने, यसप्रतिको विश्वासलाई कम गराउने काम हामीबाट हुँदैन । तर, सीमित व्यक्तिले मात्रै फाइदा उठाउने, नाम चाहिँ ५६ लाख लगानीकर्ताको लिने परम्पराको अन्त्य हुनुपर्छ’, मन्त्री डा. महतको भनाइ थियो ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुक बिल्डिङ प्रणाली, ऋणपत्र बजार र धितोपत्र प्रत्याभूतिसम्बन्धी कार्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यदिशामा बोर्ड अगाडि बढेको बताउनुभयो । उहाँले बजारको विकास तथा विविधिकरण गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सवलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत् स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार विषय बोर्डको प्राथमिकता रहेको बताउनुभयो ।

त्यस्तै प्राइभेट इक्विटी भेन्चर क्यापिटलको इकोसिस्टम निर्माणका लागि एसएमई प्लेटफर्मको विशेष कानुनी व्यवस्थाको तयारी गरी मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेश गरिएको उहाँले जानकारी दिनुभयो । मर्जर तथा एक्विजिशन सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गरिएको, धितोपत्रको सार्वजनिक निष्काशनको आस्वा प्रणालीमा लाग्ने सेवा शुल्कलाई समायोजन गरी बजारलाई लगानीकर्तामैत्री बनाइएको उहाँको भनाइ छ ।