‘सुर्तीजन्य पदार्थ प्रयोगकर्ताको बानी छुटाउन चुनौती’ : डा.सुदिप श्रेष्ठ

0
Shares

काठमाडौँ । 
नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठले पछिल्लो समय सुर्तीजन्य पदार्थको प्रयोगकर्तालाई त्यो बानी छुटाउन ठुलो चुनौती रहेको बताउनुभयो ।
‘कहिल्यै सुर्तीजन्य पदार्थ प्रयोग नगरेकालाई यसको प्रयोग गर्न हुँदैन भन्यो भने मान्छन्, तर लामो समयदेखि प्रयोग गरिराखेकाहरूको बानी छुटाउन भने ठुलो चुनौती छ’—विश्व धूम्रपान दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष श्रेष्ठले उक्त भनाई राख्नुभएको हो ।
नेपाल क्यान्सर सहयोग समूह तथा उपचारको लागि सहयोगी हातहरूको संस्थाको सहयोगमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले बुधवार अस्पतालमा आयोजना गरेको ‘४२ औँ क्यान्सर सर्भाईभर मिट’ कार्यक्रममा डा.श्रेष्ठले सो चुनौतीबारे बताउनुभएको हो ।
नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर सुर्तीजन्य पदार्थको प्रयोगकर्ताको बानी हटाउन नेपाल सरकारसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । ‘त्यस्ता प्रयोगकर्तालाई हटलाइनबाट या प्रत्यक्ष परामर्श सेवा दिन अस्पताल हरदम तयार छ’—डा.श्रेष्ठले भन्नुभयो ।
अस्पतालका मेडिकल निर्देशक डा.विदेशराज घिमिरेले धुवाँ सहित (चुरोट, विँडी) र धुँवा रहित (सुर्ती, खैनी, पराग) जस्ता सुर्तीजन्य पदार्थको प्रयोग गर्नेमध्ये करिब ८५ प्रतिशत मानिसलाई फोक्सो र मुखको क्यान्सर लाग्ने गरेको तथ्य औँल्याउनुभयो ।
नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी निर्देशक एवम् नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठ, अस्पतालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कपिल गौतम, समूहका उपाध्यक्ष शशांक शर्मा, क्यान्सरको उपचार गराइराखेका पूर्व फुटबल खेलाडी सुन्दर लाल श्रेष्ठ र ज्ञानु लामा लगायतले धूम्रपान र सुर्ती सेवन स्वास्थ्यको लागि हानिकारक रहेको बताए ।
त्यस अवसरमा सो अस्पतालकी डा.बनिता गुरुङ्गको समूहले क्यान्सर रोग र यसको उपचारबारे जनचेतनामूलक लघु नाटक प्रस्तुत गरेको थियो ।