बजेट भाषणले खाद्यान्न महँगो, सुर्तीमा कर घट्यो

14
Shares

काठमाडौं ।

विश्व धूम्रपानरहित दिवस यस वर्ष नेपालमा कार्यक्रम नै कार्यक्रम गरी मनाइयो । मे ३१ तारिख विश्व  धूम्रपानरहित दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्षको दिवस विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हामीलाई खाद्यान्न चाहिन्छ सुर्तीजन्य पदार्थ होइन भन्ने मूल नारा तय गरेको छ ।

विश्व भरि यही नाराका साथ सुर्तीजन्य पदार्थ रोकथामको अन्तर्राष्ट्रिय महासन्धि (डब्लुएचओ एफसिटीसी) लाई अनुमोदन गरेका संसारका १८२ वटा देशले विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाए ।

डब्लुएचओ एफसिटीसीमा नेपालले सन् २००३ मा हस्ताक्षर गरी सन् २००६ मा अनुमोदन गरेको हो । यो महासन्धी अनुमोदन गरेपछि त्यसमा उल्लेखित प्रावधानहरूको लागू गर्नुपर्ने हुन्छ । त्यसमा एउटा व्यवस्था सुर्तीजन्य पदार्थमा करको दर कम्तीमा ७५ प्रतिशत पु¥याउन पर्ने उल्लेख गरिएको छ ।

तर नेपालले महासम्धीलाई अनुमोदन गरे पनि पालना भने गरेको छैन । अहिलेसम्म ३३. दशमल्भ ५ प्रतिशत कर तय गरेको नेपालले दुई दिन अघि सार्वजनिक गरेको बजेटलाई हेर्दा आगामी वर्ष सुर्तीजन्य पदार्थमा लगाउँदै आएको करको दर झनै घटाउने देखिएको छ । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा बुधवार एक्सन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष आनन्दबहादुर चन्दले नेपाल सरकारको पछिल्लो कदम सुर्ती उद्योगीको पक्षमा गरेको बताउनुभयो ।

‘एफसीटीसीलाई अनुमोदन गरेको सरकारले नारा हामीलाई खाद्यान्न चाहिन्छ सुर्तीजन्य पदार्थ होइन भन्ने तय गरेको छ । नेपाल सरकारले भने दुई दिन अघि सार्वजनिक गरेको बजेटमा त्यसको ठिक विपरीत खाद्यान्न महँगो सुर्तीजन्य पदार्थ सस्तो हुने हुने गरी बजेट सार्वजनिक गरेको छ । यो आफैमा विवादास्पद बनेको चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो यस पटकको बजेटमा सरकारले सुर्तीजन्य पदार्थमा अत्यन्त न्यून २ दशमल्भ ५ देखि ४ प्रतिशतसम्म मात्रै कर बढाएको छ । यति बेला मुद्रास्फीति दर ७ दशमल्भ ८ प्रतिशत पुगेको छ । ‘यसले सुर्तीजन्य पदार्थमा करको दर कम्तीमा ५ प्रतिशतले घट्ने देखिएको छ । यो हामी सबैका लागि लज्जाको विषय हो । यस पटकको बजेटमा आएको करको दर पछिल्लो १० वर्ष यताकै न्युन हो । यसलाई तत्काल सच्याउनु पर्छ । नेपालीको ज्यान बचाउनु पर्छ ।’ करको दर बढाउने भन्दै आएका स्वास्थ्य मन्त्रीको कुरा बजेट भाषणले उल्ट्याइदिएको भन्दै सरकारको भूमिकाप्रति शंका थपियो ।

‘ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वदेशमा मात्र होइन विश्व स्वास्थ्य संगठनको महासभामा गएर समेत सुर्तीजन्य पदार्थमा नेपालले  करको दर भारी वृद्धि गर्छ भनेर विश्वसामु ताली खाएर आउनु भयो तर एक साता नपुग्दै भारी रूपमा कटौती भयो । यसले सरकारको विश्वसनीयतामा विश्व जगतले समेत प्रश्न उठाउने बाटो देखिएको छ,’ चन्दले भन्नुभयो ।

वार्षिक २७ हजार बढी नेपालीको ज्यानै लिँदै आएको सुर्तीजन्य पदार्थको प्रयोगलाई न्यूनीकरण गर्न सरकारले करको दर बढाउनु पर्ने हुन्छ । करको दर बढ्दा मूल्य बढ्ने, सेवनदारमा कमी हुने र सुरुवात गर्नेहरूलाई समेत रोक्न सकिने विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानले बताइएको छ ।