कामपा मेयरको एक वर्ष- कार्यकालको शुरूमै विवाद, अहिले शान्त

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको हिजो मंगलबारबाट एक वर्षे कार्यकाल पूरा भएको छ । मेयर साह र उपमेयर सुनिता डंगोलले सुन्धारास्थित जेडिए भवनबाट पदबहाली गर्नुभएको थियो ।

पदबहाली गरेको दिन उहाँले खासै योजना सुनाउनुभएन । उहाँले आफ्नो एक वर्षे कार्यकाल कस्तो रह्यो ? भन्ने विषयमा न त छलफल गर्नुभयो, न पत्रकार सम्मेलन गरेर कुनै जानकारी दिनुभयो । सरकारको साथ नलिई अघि बढ्न नसक्ने अवस्थामा मेयर साहले सधैं सरकारप्रति असन्तुष्टि जनाइरहनुभएको छ ।

स्थानीय सरकारको रूपमा जनताको बीचमा लोकप्रिय बन्न मत परिणाम आउनुअघि नै जित सुनिश्चित भएपछि साहले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने विषयमा केही सोधीखोजी गर्नुभएको थियो । महानगरको बजेट, नीति र कार्यक्रम अध्ययन गर्नुभएको थियो भने भक्तपुर दरबारक्षेत्र अवलोकन गर्नुभएको थियो । आफ्नो सहयोगी एवं लगातार ३१ वर्ष ललितपुर महानगरपालिका वडा न–१० को अध्यक्ष प्रत्यासी नर्सिङलाल ब्यञ्जनकारलाई भेट गर्नुभयो । फोहोर व्यवस्थापनको अवस्थाबारे सिसडोल र बन्चरेडाँडावासीसँग छलफल गर्नुभयो ।

मेयरमा विजयी घोषणा हुनेबित्तिकै मेयर साहले सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटवासीलाई फोहोरको कारण रोगग्रस्त पार्दै लगेको भन्दै समस्या समाधान नभएसम्म महानगरको फोहोर व्यवस्थापन नगर्ने बताउनुभएको थियो । उहाँको आश्वासनबाट हौसिएका स्थानीयवासीले मेयरको भनाइ सापटी लिँदै समस्या समाधान नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने अडान लिएका थिए ।

मेयर साहको बोलीको असरले करिब एक महिना उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेन । मेयर साहले बन्चरेडाँडामा फोहोर व्यवस्थापन नगर्न धेरै विकल्प खोज्नुभयो । केही नलागेपछि स्थानीयसँग सम्झौता नगरी उहाँले सुरक्षाको घेराभित्र फोहोर विसर्जन शुरू गर्नुभयो ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास वालुवाटार र सिंहदरबारको फोहोर रोकेर सरकारको विरोध गरेपछि उहाँको चर्चा चुलियो । पछि सर्वोेच्च अदालतको आदेशपछि १४ मन्त्रालयले महानगरको योजना र कार्यक्रमबारे सुनुवाइ नगरेको भनाइ जारी गर्दै फोहोर व्यवस्थापन शुरू भयो ।

गणतन्त्र दिवस मूल समारोह समितिमा काठमाडौं महानगरपालिकाको महत्वपूर्ण भूमिका रहने भए तापनि सो कार्यक्रममा मेयर साह र उपमेयर डंगोलको उपस्थिति रहेन ।

मेयर साहको एक वर्षे कार्यकालमा सुकुम्बासी वस्ती हटाउने विषयको विरोध भयो । सरकारसँग समन्वय नगरी थापाथलीको सुकुम्बासी वस्ती हटाउन गएपछि महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेसहित १८ प्रहरी घाइते भए । सुकुम्बासीले महानगर घेराउ गरे । त्यसपछि अनेकौं प्रयास गर्दा पनि सो वस्ती हटाउन नसकेपछि मेयर साह सरकारप्रति आक्रोशित हुनुभयो ।

बेसमेन्टमा पार्किङ गर्ने विषयमा घरधनी र बेसमेन्टमा व्यापार गरिरहेका स्थानीयसँग झगडा भयो । बानेश्वरको अल्फाबिटा कम्प्लेक्सका सञ्चालक द्विराज शर्मा र मेयर साहबीच चर्काचर्की भयो । मेयर साहले महानगरवासीका हितविपरीत काम गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरे ।

हुन त जोस, जाँगर र हौसला बोकेर स्थानीय तहको वागडोर सम्हाल्न आएदेखि मेयर साहको चर्चा गरिएका अधिकांश काम विवादरहित भएनन् । टुकुचा खोला खाली गर्दा अदालतले अंंकुश लगायो । बेसमेन्टमा पार्किङ कार्यान्वयन हुन सकेन । ब्यापारी र रेस्टुरेन्ट व्यावसायी, बैंक तथा बित्तीय संस्थाको शौचालयलाई सार्वजनिक शौचालय बनाउने योजना पूर्ण कार्यान्वयन हुन सकेन । पूर्वाधार एम्बुलेन्स हल्ला मात्र भयो काम हुन सकेन ।

सूचना र प्रविधिमा नजिक रहेका मेयर साहले कार्यपालिकाको बैठक लाइभ गर्ने घोषणा गरे । केही बैठक लाइभ भए, त्यसपछि हालसम्म लाइभ हुन सकेन ।

हुन त एक वर्षको अवधिमा बाटोघाटो बनेका छन्, सामुदायिक शिक्षामा उल्लेख्य सुधार भएको छ । हरियाली प्रवद्र्धन, जेष्ठ नागरिक सम्मान, स्वास्थ्य क्षेत्रमा जनताले सुविधा पाएका छन् । एक वर्षमा अन्य स्थानीय तहको तुलनामा महानगरले दर्जनौं योजना सम्पन्न ग¥यो । नदी करिडोरको विकासमा अग्रसरता लियो । पार्किङ, केबल तार व्यवस्थापनमा उल्लेख्य सफलता हासिल भयो ।

हाल राजधानीका सबै सडकको तार व्यवस्थापन द्रुतगतिमा भइरहेको छ । महानगरका सबै मुख्य बजार क्षेत्रको सडक पार्किङ निषेध भए । न्युरोडबाहेक सबै क्षेत्रमा सडक पार्किङ पूर्ण रूपमा हटेको छ । सडकबत्ती स्तरउन्नति गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । महानगरले सबै सेवा केएमसी एप्सबाट सुरुआत गरेको छ । महानगरका प्रवक्ता नविन मानन्धरले भन्नुहुन्छ– ‘महानगरको सेवा लिन मोबाइल भए पुग्छ कामपा धाइरहनै पर्दैन ।’

उहाँका यस्ता धेरै योजना सफल भएका छन् । कामपाले सामुदायिक विद्यालयमा पढाइसँगै सिप कार्यक्रम कार्यान्वयन गरेको छ । निःशुल्क कानुनी सेवा, दिइएको छ । न्यायिक समितिको नेतृत्व महानगरले लिनु पनि एक वर्षको सफलता हो ।
व्यावसाय करसम्बन्धी टेली विज्ञापन निर्माण, अनलाइनबाट राजश्व संकलन, वडास्तरबाटै सार्वजनिक खरिद प्रक्रिया, नमुना विद्यालय थालनी, नक्सा पास गर्न प्रक्रिया इबीपीएस प्रणाली लागु गरिएको छ ।

यस्ता दर्जनौं योजना सफलताका साथ सम्पन्न भएको दावी गर्दै प्रवक्ता मानन्धर भन्नुहुन्छ– ‘सुरुआती वर्ष भएको कारण केही समस्या भए पनि एक वर्षको अवधिमा सोचेजति काम गर्न सफल भएका छौं ।’ उहाँले भन्नुभयो– ‘कामपाले यो वर्ष १ लाख रूख रोप्ने कामको सुरुआत गरेको छ । फोहोरबाट मल बनाउन शुरू गरिएको छ । हरेक दिनजसो बजार अनुगमन गरिएको छ । यी सबै कामलाई एक वर्षको सफलताको रूपमा लिन सकिन्छ ।’