नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न दोषीलाई उन्मुक्ति नदिन नेकपा (एस)को माग

0
Shares

खोटाङ। 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी खोटाङले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न दोषीलाई कानुनको घेराभित्र ल्याएर कडाभन्दा कडा कानुनी सजाय दिन माग गरेको छ । मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउँदै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी मुद्दालाई कमजोर बनाएर सामान्य कसुरको रुपमा परिणत गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र नगर्न ध्यानाकर्षण गराएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी खोटाङका अध्यक्ष जलसेर राईले प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईमार्फत पठाएको ज्ञापन–पत्रमा विगतका धेरै भ्रष्टाचार काण्डलाई बीचैमा सामसुम पारिएको उल्लेख गर्दै आम जनताका मनमनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भइरहेको छैन भन्ने आशंका जन्मिएको उल्लेख छ । ‘कुनै पनि प्रकारको मिलेमतोमा अपराधीलाई उन्मुक्ति दिई जनाको भावनामाथि खेलबाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात मात्र हुने छ भनी हामी सरकारलाई सचेत गराउन चाहन्छौँ । नेपाल सरकारका अपराध अनुसन्धानमा खटिएका सबै निकायले दृढतापूर्वक अनुसन्धानलाई अगाडि बढाउन् तथा अपराधीमाथि मुद्दा दायर गर्ने निकायले मुद्दालाई कमजोर बनाउने काम नगरुन् भन्ने आग्रह छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘मुद्दा कमजोर बनाइ सामान्य कसुरको रुपमा परिणत गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र नगरियोस् । नक्कली भुटानी शरणार्थी काण्ड सम्बन्धी अपराधको सम्पूर्ण सञ्जाललाई कानुनको घेराभित्र ल्याइ कडाभन्दा कडा कानुनी सजाय दिन माग गर्दछौँ ।’

भ्रष्टाचारमा संलग्न व्यक्तिहरु जतिसुकै शक्तिशाली भए पनि ‘कारबाहीमा पर्छन्’ भन्ने देखिए मात्रै निराश जनतामा नयाँ आशा र बिश्वास पलाउने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले जनाएको छ । देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकलाई अर्को देशको नक्कली नागरिक बनाई बिक्री गर्नु मानव बेचबिखनको कार्य मात्र होइन राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष राईले बताए । नक्कली भुटानी शरणार्थी बनाएर बिक्री गर्ने कुकर्मबाट राष्ट्रको प्रतिष्ठामा गम्भीर क्षति भएको ज्ञापन–पत्रमा भनिएको छ ।

नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न पूर्व उपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्थ कर्मचारी लगायतको भ्रष्ट क्रियाकलापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र विभिन्न षडयन्त्र गर्ने काम गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले जनाएको छ । ‘नक्कली भुटानी शरणार्थी काण्डलाई आधार बनाएर संसदभित्रैबाट संविधानका विरुद्ध समेत बोल्ने काम गरिएको छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘यसबाट परिवर्तनकामी राजनीतिक शक्तिको मनोबल खसाल्ने प्रयास गरिएको छ ।’