भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटेपछि राप्रपाको युवा संगठन आन्दोलित

0
Shares

काठमाडौं ।

भारतको ‘अखण्ड भारत’को नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएको विरोधमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संघर्षमा उत्रिने भएको छ ।

नेपालको राष्ट्रियतमाथि प्रहार गर्ने भारतको उक्त कार्य सच्याउन माग गर्दै संघर्षमा उत्रिन लागेको संगठनका संयोजक अधिवक्ता सुजित केसीले जानकारी दिए । भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटिएको छ । जसको चौतर्फीविरोध भइरहेका बेला राप्रपाको युवा संगठन संघर्षमै उत्रिन लागेको हो ।

‘राष्ट्रियतमाथि प्रहार हुँदा चुप लागेर बस्न सकिँदैन । हामी यसको सशक्त विरोध र भर्त्सना गर्छाैं र सच्याउन माग गर्छाैं,’ संगठन संयोजक केसीले भने । भारतको उक्त कदमले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्ध मात्रै नभएर नेपालको राष्ट्रियताथिकै प्रहार भएको उनको भनाइ छ ।

‘भारतको नयाँ संसद भवनमा राखिएको नक्सामा नेपालको भूमि कपिलवस्तु र लुम्बिनीसमेतलाई उल्लेख गर्नु नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्धको कदम मात्रै होइन यो नेपालको राष्ट्रियता माथीको प्रहार पनि हो । यसको जति भर्त्सना गर पनि कम हुन्छ । सरकारको गम्भीर ध्यानाकर्षण होस । सबैले यसको डटेर विरोध गरौं,’ उनले भने ।

भारतको नक्साबाट लुम्बिनी, कपिलवस्तुसहित नेपालको स्थान हटाउन माग गर्दै बुधबारबाट संघर्षमा उत्रिन लागेको जानकारी दिँदै उनले विरोध कार्यक्रममा सहभागी हुन सबै नेपालीहरुमा आह्वान पनि गरेका छन् ।विरोधसभादेखि सरकारलाई ज्ञापनपत्रसम्म बुझाउने कार्यक्रम रहेको अध्यक्ष केसीले जानकारी दिए ।