वरिष्ठ निरीक्षकविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

0
Shares

काठमाडौँ।

भ्रष्टाचार गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षकविरुद्ध झण्डै साढे चार करोड बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार वरिष्ठ निरीक्षक शशी भुषण कुमार यादवविरुद्ध चार करोड ४७ लाख ३४ हजार २१२ रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालले यादव सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ जेठ ८ गतेदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सात करोड २४ लाख ५६ हजार २६३ रुपियाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको बताए ।

प्रवक्ता दाहालका अनुसार यादवले सेवा अवधिमा समग्र आयव्ययको विश्लेषण गर्दा खर्च तथा लगानीतर्फ निज र निजको एकासङ्गोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, बीमाको प्रिमियम भुक्तानी, शेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋण–सापटीको साँवाव्याज भुक्तानी, पारिवारिक घर खर्च, विभिन्न शीर्षकमा राजस्व–कर तिरेको र बैंक मौज्दातसमेत गरी उक्त रकम लगानी र खर्च गरेको देखिएको छ ।

दुई करोड ७७ लाख २२ हजार ५० रुपियाँ आर्य आर्जन गरेकोमा वरिष्ठ निरीक्षक यादवले वैध आय अनुपातमा सोही अवधिमा सात करोड २४ लाख ५६ हजार २६३ रुपियाँ खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ । यादवको कुल वैधानिक आयलाई गरेको कुल व्यवसँग तुलना गर्दा आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआएको प्रवक्ता दाहालले अनुसन्धानबाट खुलेको बताए ।

प्रवक्ता दाहालका अनुसार यादवले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पत्तिबाट श्रीमती रीता रानी, छोराहरु विकास यादव र अविनास यादवको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको र बैंक मौज्दात राखेको पाइएको छ ।