भौतिक पूर्वाधारमा बजेट घट्यो

0
Shares

काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपियाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षको तुलनामा यो वर्ष करिब ३६ अर्बले बजेट घटेको छ । चालु आ.व.मा १ खर्ब ६७ अर्ब १८ करोड रुपियाँ बजेट विनियोजन भएको थियो । यो कुल बजेटको १०.१५ प्रतिशत होे ।

त्यस्तै, राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने भएको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियोजन गरेको जानकारी दिनुभएको छ ।

त्यस्तै, सूर्यविनायक–धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकमसमेत सरकारले विनियोजन गरेको छ । काठमाडौं चक्रपथको कलंकी–बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीव्रता दिन २ अर्ब ७ करोड छुट्टयाइएको छ ।
राष्ट्रिय राजमार्गमा आवश्यकतानुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने, ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बजेटमा उल्लेख छ । त्यस्तै, कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण कार्य सुरुवात गरिने भएको छ ।

पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने, नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताइएको छ । कमला–ढल्केवर–पथलैया, वुटवल–गोरूसिङ्गे, काकडभिट्टा–लौकही, पथलैया–नारायणगढ र लमही–भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गरिने बजेटमा उल्लेख छ ।

नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू गरिने जिकिर गर्दै अर्थमन्त्री डा. महतले पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको जानकारी दिनुभयो ।

नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने बजेटमा उल्लेख छ ।