निजी क्षेत्रको मनोबल बढाउनेगरी बजेट आएको छ, कार्यान्वयन हेर्न बाँकी छ : अध्यक्ष ढकाल

0
Shares

काठमाडौँ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई महत्व दिँदै विद्यमान आर्थिक अवस्थालाई सुधार गर्ने प्रतिवद्धता व्यक्त भएको बताएका छन् । निजी क्षेत्रलाई अर्थतन्त्रको सम्वाहकका रुपमा प्रवद्र्धन गर्ने विषय यस बजेटमा समावेश भएको उनको प्रतिक्रिया छ ।

बजेटमा महासङ्घले दिएका कतिपय सुझावहरु समेत समावेश भएको उनले बताए । उनले पूँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौतीका लागि विशेष पहल गरिएको विषय स्वागतयोग्य रहेको प्रतिक्रिया दिए ।

अध्यक्ष ढकालले बजेटमा व्यवस्था गरिएका विषय कार्यान्वयनमा कसरी जान्छ भन्ने हेर्न भने बाँकी नै रहेको जानकारी दिए । बजेटमा निजी क्षेत्रलाई विश्वासमा लिने र प्राथमिकता दिने भनिएको भए पनि कार्यान्वयनमा कसरी आउँछ भन्ने विषयलाई आफूहरुले हेरिरहेको उनले बताए ।

“बजेट निजी क्षेत्रको मनोबल बढाउने गरी आएको छ । निजी क्षेत्रले दिएका कतिपय सुझाव समेटिएको पनि छ, आर्थिक ऐन कसरी आउँछ भन्ने हेर्न भने बाँकी छ”, अध्यक्ष ढकालले भने ।

उनले नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था तथा एक सय रुपैयाँमा कम्पनी खोल्न सकिने व्यवस्थाले स्टार्ट अपहरु आकर्षित हुनसक्छन् भने । त्यसैगरी बजेटको नवप्रवर्तन र अनुसन्धानका लागि निश्चित कोष नै खडा गरेर खर्च गरिने विषयले पनि अनुसन्धानलाई प्रश्रय दिने अध्यक्ष ढकालको प्रतिक्रिया छ ।