गणतन्त्र दिवसको अवसरमा शहीद परिवारलाई सम्मान

फरक फरक कथा, ब्यथा

0
Shares

काभ्रे। 

गणतन्त्र दिवसको अवसर पारी काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न समयमा विभिन्न कारणबाट शहीद भएका ब्यक्तिका परिवारलाई सम्मान गरिएको छ ।
सबै खालका शहीदका आफन्त जुटाउने प्रयासको सम्मान कार्यक्रमलाई शहीद परिवार, राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुले धन्यवाद व्यक्त गरेका छन् ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम संयोजक रहेको मूल समारोह समितिले विभिन्न समयमा शहीद भएका ब्यक्तिका आफन्तलाई सम्मान गर्ने निर्णय गरेको थियो । २०६२/२०६३ को जनआन्दोलनका क्रममा चैत्र २७ गते प्रहरीको गोली लागेर घाइते भएका बनेपाका मुकेश कायस्थ २०८० वैशाख २७ गते १७ वर्ष ओछ्यानमै जिउँदो शहीदका रुपमा रहेर बिते । मुकेशकी आमा मिरा कायस्थले छोरा बितेको २० दिनमै राज्यको तर्फबाट सम्मान पाउनु खुसी भए पनि विधिको शासन हुनु पर्नेमा जोड दिनु भयो । ‘जनताले जुन आशा र भरोसाबाट जनआन्दोलनमा सहभागी भएका थिए त्यो आशा र भरोसा अहिले छ जस्तो लाग्दैन, मुलुकमा विधिको शासन स्थापित हुनु पर्छ’–शहिद मुकेशकी आमा मिराले भन्नुभयो–‘शहिदहरुले बगाएको रगत खेर नजाओस् । धिक्कार छ कसैले नभनुन ।’

माओवादीले २०५५ साल फागुन १५ गते साँझ तत्कालीन ढुंखर्क गाविस वडा नम्बर ७ मा खाना खाइरहेका समयमा अपहरण गरी अमानवीय रुपबाट हत्या गरिएको पूर्व गाविस अध्यक्ष भिमप्रसाद तिमल्सिनाका छोरा विष्णु तिमल्सिनाले राज्यले हत्याको जिम्मा लिएकाले कानुनी कारबाही हुनु पर्ने बताउनु भयो । जघन्य अपराधमा क्षमा हुन नसक्ने बताउँदै तिमल्सिनाले शहीदहरूमाथि राज्यले गरेको विभेदको अन्त्य हुनु पर्ने बताउनु भयो । ‘शहिद फरक फरक छन् । माओवादीले मारेका परिवारका व्यक्तिलाई राज्यले शहिद किन भन्दैन ? हामी विस्थापित भयौँ । दुई वर्षको नाबालकलाई पनि अपहरण गर्ने प्रयास भयो । खेतबाट भाग्यौँ । बारीबाट भाग्यौँ । खोलाबाट भाग्यौँ । भागेर मात्रै होइन परिवार नै लथालिङ्ग भएर बित्यो । ९८ वर्षीय हजुरआमा बुबाको हत्या पछि त्यही मानसिक तनावले बित्नुभयो’–भिमप्रसादका छोरा विष्णुप्रसादले भन्नुभयो । राज्यले समान व्यवहार गर्नु पर्ने तिमल्सिनाको माग थियो ।

माओवादीद्वारा २०५६ मसिर १४ गते तत्कालीन गाविस उपाध्यक्ष समेत रहेका पाँचखालका बलराम सापकोटाको हत्याको मिति र कारण माओवादीले आजसम्म सार्वजनिक नगरेकोमा उनको श्रीमती सरिता सापकोटाले भावविब्हल सहितको आक्रोश पोख्नु भयो । ‘हत्या गर्छु, मार्छु र मर्छु भन्ने र जनप्रतिनिधि जसले जनताको सेवाका लागि खटिरहेको छ । घरमा बसिरहेका बेला अपहरण र बेपत्ता बनाएर हत्या गरिएको व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक फरक हुनु पर्छ’–शहीद बलराम पत्नी सरिताले भन्नुभयो–‘घरको परिवारको सदस्य बिते पछि दुई वर्षको छोरीको लालन पालन र अहिले पनि शिक्षा दीक्षाको समस्या भएको छ । राज्य केही पैसा दिएर पन्छी रहेको छ । हत्याको कारण, हत्यारालाई कारबाही र परिवारको जिम्मेवारी लिन माग गर्छु ।’ हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधमा माफी दिने कस्तो गणतन्त्र हो ? शहिद परिवारको गुनासो छ ।

शहीद, बेपत्ता र जनप्रतिनिधि समेत रहनु भएकी चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले बेपत्ता श्रीमानका बारेमा हालसम्म पहिचान नहुँदा कठिन भएको बताउनुभयो । ‘श्रीमान् छन् भनौँ आउँदैनन्, छैनन् भनौँ मरे बाँचेको पत्तो छैन’–उहाँले भन्नुभयो–‘श्रीमान् बेपत्ता हुँदा छोरी एक वर्षकी थिइन् । अहिले २५ वर्षकी भइन् । म १९ वर्षको थिएँ ४४ वर्षको भएँ । उहाँ बेपत्ता भएको २४ वर्ष भयो । मेरो परिवारका ५ जना शहीद छन् । आज मेरो जन्म दिन हो । यो दिन म बेपत्ता श्रीमान् तत्काल पत्ता लगाउन राज्यलाई जोडदार माग गर्दछु ।’ रेणुकालाई नेकपा माओवादीले २०६४ सालमा समानुपातिक सांसद र २०७९ मा चौरीदेउराली गाउँपालिका अध्यक्ष बनाएको छ । परिवारका सदस्य गुमाए बापत गणतन्त्र, समावेशी लोकतन्त्र र राज्यको स्वरुप परिवर्तन गर्न सफल भएको उहाँको भनाई थियो ।

गणतन्त्र दिवसको अवसरमा समन्वय समिति प्रमुख गौतमले जिल्लामा भएका सबै खालका शहीदहरूको सम्मानको शुरुवात गरिएकाले जिल्लामा साझा शहीद पार्क निर्माण गरी शहीदहरूको प्रतिमा निर्माण गर्ने प्रक्रिया सुरु गरिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्लामा विभिन्न कालखण्डमा विभिन्न प्रकारबाट ज्यानको आहुति दिएर शहीद हुनु भएका ब्यक्तिहरुको सम्मानले गणतन्त्रको सम्मान हुने बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका उप सभापति रमेशप्रसाद हुमागाईँ, नेकपा एमालेका जिल्ला सचिव राजन भुर्तेल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्याल, नेकपा समाजवादीका गोकुल गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले गणतन्त्र दिवसको महत्वका बारेमा धारणा राख्नु भएको थियो ।

मानवअधिकारकर्मी एवं नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोजराज तिमल्सिनाले काभ्रेपलाञ्चोक जिल्लामा लोकतान्त्रिक आन्दोलनमा ५ जना, प्रजातान्त्रिक आन्दोलनमा ६ जना, सशस्त्र द्वन्द्वमा २ सय ७८ जना र निर्वाचनका क्रममा १ जना गरी ३६ महिला र २ सय ५४ गरी २ सय ९० जना शहीद भएको बताउनुभयो । माओवादीको युद्धका समयमा मात्रै २ सय ७८ जनाको निधन भएको तिमल्सिनाले बताउनुभयो ।