काभ्रेपलाञ्चोक जिल्लाको समग्र तथ्याङ्कको नतिजा सार्वजनिक

बाल विवाह धेरै

0
Shares

काभ्रे । 

राष्ट्रिय जनगणना २०७८ मा भएका काभ्रेपलाञ्चोक जिल्लाका तथ्य तथ्याङ्कको नतिजा सार्वजनिक गरिएको छ । तथ्याङ्क कार्यालय काभ्रेका प्रमुख दीपक कोइरालाले जिल्लाको समग्र तथ्याङ्कका बारेमा जानकारी गराउनु भएको थियो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालको अध्यक्षता रहेको थियो । सुरक्षा निकायका प्रमुख तथा कार्यालय प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएको कार्यक्रममा तथ्याङ्क संकलनका क्रममा भएका विधि, प्रक्रिया र तथ्याङ्कको विश्वसनीयताका बारेमा छलफल भएको थियो । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका उप तथ्याङ्क अधिकृत डिल्लीराज जोशी, तथ्याङ्क कार्यालयका मनोज भट्टराई लगायतले जिल्लाको तथ्याङ्कका बारेमा जानकारी दिनु भएको थियो ।

१८९५ घरमा छैन चर्पी

जनगणना २०७८ को तथ्याङ्कले खुल्ला दिसामुक्त भएको काभ्रेपलाञ्चोक जिल्लाका १ हजार ८ सय ९५ घर धुरीमा चर्पी नभएको देखाएको छ । १३ वटा पालिकाले हरेक वडाका हरेक घर धुरीमा चर्पी भएको उल्लेख गरेका भए पनि जनगणनाको अवधिमा १८९५ घर धुरीले आफ्नो चर्पी नभएको बताएका छन् । ‘जनगणनाको तथ्याङ्कमा जिल्लामा चर्पी नभएको घर परिवारको संख्या १८९५ रहेको छ’–तथ्याङ्क कार्यालय काभ्रेका प्रमुख दीपक कोइरालाले भन्नुभयो–‘पालिकागत रुपमा कति चर्पी नभएको हो ? वडागत विवरण तयार गरिरहेका छौँ ।’ ९१ हजार ३ सय ३० घर धुरीमा सार्वजनिक ढलमा जोडिने चर्पी १२ हजार ८ सय ७५ वटा रहेका छन् । सेप्टी ट्याङ्की मात्रै भएका चर्पीहरुको संख्या ६० हजार ४ सय ७४ वटा रहेका छन् भने साधारण खाल्टो मात्रै रहेका चर्पीहरुको संख्या १५ हजार ७ सय ४९ वटा रहेका छन् । जिल्लाका विभिन्न स्थानमा ३ सय ७७ वटा सार्वजनिक चर्पी रहेको विवरणमा उल्लेख छ । जिल्लामा २०६८ सालमा ३ लाख ८१ हजार ९ सय ३७ जनसंख्या रहेकोमा २०७८ मा ३ लाख ६४ हजार ३९ रहेको छ । जसमा १ लाख ७८ हजार ९ सय ९ अथार्त ४९.१५ प्रतिशत पुरुष र १ लाख ८५ हजार १ सय ३० महिला अथार्त ५०.८५ प्रतिशत रहेका छन् । ८० हजार ६१ घर धुरीमा ९१ हजार ३ सय ३० घर परिवार रहेका छन् । जिल्लाबाट १९ हजार ८ सय ५८ जना व्यक्ति बिदेसिएका छन् । १४ हजार ८ सय १२ जना पुरुष र ५ हजार ४६ महिला छन् । विदेशमा स्थायी बसोबास गर्नेहरुको तथ्याकंमा गणना गरिएको छैन ।
धेरै भवन निर्माण

काभ्रेपलाञ्चोक जिल्लामा १ लाख २९ हजार ५ सय ९४ वटा भवन रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लामा निर्माण भएका कुल भवनहरुको संख्या जनगणना २०७८ मा सार्वजनिक भएको हो । निर्माण भएका घरहरु मध्ये १८ हजार ५ सय ५५ वटा घर खाली छन् । जिल्लामा कुल भवनहरु मध्ये ८० हजार ६१ आवासीय छन् । ब्यवसायीक तथा तालिम केन्द्रहरुका रुपमा २५ सय ७९ वटा भवन निर्माण भएका छन् । सकारी भवन ३ सय ७४ वटा छन् भने शैक्षिक संस्थाहरु १ हजार ४ सय ६७ वटा निर्माण भएका छन् । भूकम्प पछि विद्यालय भवन निर्माणको संख्या ह्वात्तै बढेको हो । स्वास्थ्य संस्थाहरुको संख्या २ सय ५८ वटा छन् । हरेक वडामा स्वास्थ्य चौकी निर्माण तथा अस्पताल निर्माण भएको छ । उद्योगका लागि ५ सय ७२ वटा भवन निर्माण भएका छन् । जिल्लामा होटल तथा लजका लागि ४ सय ४२ वटा भवन निर्माण भएको तथ्यांकमा उल्लेख छ । जिल्लामा गोठ तथा स्टोरका लागि निर्माण भएका भवनहरुको संख्या १७ हजार ३ सय १२ वटा निर्माण छन् । अन्य भवनहरुको संख्या ७ हजार ४ सय १० वटा रहेका छन् । खाली घरहरुको संख्या १८ हजार ५ सय ५५ वटा रहेका छन् ।
ग्याँस र दाउरा प्रयोग गर्ने बराबरी

जिल्लामा अक्सर खाना पकाउन अझै काठ दाउरा प्रयोग गर्नेहरुको संख्या अधिक छ । ९१ हजार ३ सय ३० घर धुरी मध्ये ४५ हजार २ सय ९९ घर धुरी काठ दाउरा प्रयोग गर्छन् । एलपी ग्याँस प्रयोग गर्ने घरधुरी ४४ हजार ८ सय २९ रहेको छ । दाउरा र ग्याँस प्रयोग गर्ने घर धुरी बराबरी जस्तै भएका छन् । बिजुलीबाट खाना पकाउनेहरुको सख्या १ सय ७३ मात्रै छ । गईठा गोरह प्रयोग गर्नेहरुको संख्या ९ छ भने बायो ग्याँस प्रयोग गर्ने घरधुरीहरु ८ सय ९५ रहेको छ । मट्टितेल प्रयोग गर्ने परिवार १ सय २ घर छन् भने विभिन्न माध्यमबाट खाना पकाउने परिवार २३ वटा रहेका छन् । खाना पकाउने सँगै बत्ती बाल्न विभिन्न माध्यम प्रयोग भएको छ । जिल्लामा बिजुली प्रयोग गर्नेहरुको संख्या ८७ हजार ९ सय ८१ घर परिवार रहेका छन् । सोलार सौर्य उर्जा प्रयोग गर्ने परिवार ३ हजार १ सय ४६ रहेको छ । मट्टितेल बाल्ने घर परिवार १ सय १ छन् भने बायोग्याँस ७ र अन्य ९५ रहेका छन् ।

 २० हजार नागरिक मुलुक बाहिर

जनगणना २०७८ को तथ्याङ्कले जिल्लाको कुल जनसंख्यामा उल्लेख भएका ३ लाख ६४ हजार ३९ जनसंख्या भन्दा बाहेक १९ हजार ५ सय ५८ जना नागरिक मुलुक बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । बाहिर गएका नागरिकहरु सहित जिल्लाको जनसंख्या ३ लाख ८३ हजार ८ सय ९७ रहेको छ । २०६८ सालको जनगणनामा ३ लाख ८१ हजार ९ सय ३७ कुल जनसंख्या रहेको जिल्लाको तथ्याङ्कमा जनसंख्या घट्दो क्रममा रहेको छ । बिदेसिएका मध्ये १४ हजार ८ सय १२ जना पुरुष छन् भने ५ हजार ४६ जना महिला छन् । विदेशमा बस्ने अनुमति लिई सकेका नागरिकहरुको गणनामा समावेश गरिएको छैन । काभ्रेमा कुल जनसंख्यामा १ लाख ७८ हजार ९ सय ९ पुरुष र १ लाख ८५ हजार १ सय ३० महिला छन् । ८० हजार ६१ घर परिवारका ९१ हजार ३ सय ३ घर धुरी रहेको छ ।

 काभ्रेमा ७५ प्रतिशत साक्षरता

साक्षर काभ्रेपलाञ्चोक जिल्ला घोषणा भएको ५ वर्ष पछि भएको जनगणनामा काभ्रेपलाञ्चोक जिल्लाको तथ्याङ्क ७५.६८ प्रतिशत मात्रै देखिएको छ । साक्षर हुन १५–६० उमेर समूहका ब्यक्तिहरुलाई मात्रै समेटेर सामान्य लेखपढ तथा अक्षर चिन्न सक्ने भएको अवस्थामा साक्षर मानिएको थियो । जनगणनामा सबै उमेर समूहका नागरिकहरुको साक्षरता गणना गर्दा प्रतिशतमा कम भएको हुन सक्ने स्थानीय तहका प्रतिनिधिहरुले बताएका छन् । साक्षरताका हिसावले सबै भन्दा धेरै बनेपा नगरपालिकामा ८४.८१ प्रतिशत नागरिकहरु साक्षर देखिएका छन् भने सबै भन्दा कम चौरीदेउराली गाउँपालिकामा ५७.७५ प्रतिशत मात्रै साक्षर देखिएका छन् । जिल्लाको विकट मानिएका पालिका खानिखोलामा ७५.१८ प्रतिशत र महाभारतमा ७०.२९ प्रतिशत साक्षर देखिएका छन् । बेथान्चोक गाउँपालिकामा ७१.६६ प्रतिशत साक्षर छन् भने भुम्लुमा ६७.०५ प्रतिशत साक्षर छन् । धुलिखेलमा ८०.१३ प्रतिशत साक्षर रहेका छन् । मण्डनदेउपुरमा ७२.६४ प्रतिशत साक्षर छन् । नमोबुद्धमा ७१.०३ प्रतिशत, पनौतीमा ८१.०५ प्रतिशत, पाँचखालमा ७५.१५ प्रतिशत र रोशीमा ६९.५२ प्रतिशत साक्षर छन् । त्यस्तै तेमाल गाउँपालिकामा ६१.२४ प्रतिशत साक्षर छन् ।

बाल विवाह धेरै

जिल्लाको विकट पालिका महाभारत, खानिखोला, तेमाल, रोशी, चौरीदेउराली, भुम्लु, बेथान्चोक गाउँपालिकामा बाल विवाहको डरलाग्दो तथ्याङ्क देखा पर्न थालेको छ । खानिखोला र महाभारतमा बर्षेनी एक सय भन्दा धेरै बालबालिकाहरुले विवाह गर्ने गरेको प्रारम्भिक तथ्याङ्क विद्यालयहरुले तयार गरेका छन् । कानुनले वर्जित गरेको २० वर्ष भन्दा कम उमेर समूहमा धेरै ब्यक्तिहरुको विवाह हुने गरेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाइने कानुनमा व्यवस्था भए पनि जिल्लामा त्यही उमेर भन्दा कम उमेर समूहमा विवाह गर्नेहरुको ६२ प्रतिशत रहेको छ । अझै पनि १० वर्ष भन्दा कम उमेरमा विवाह भएका ब्यक्तिहरुको संख्या कुल जनसंख्याको १ प्रतिशत छ भन् १० भन्दा माथि १४ भन्दा कम उमेर समूहमा विवाह गर्नेहरुको सख्या ८ प्रतिशत छ । जिल्लाको महाभारत र खानिखोला गाउँपालिकामा यो उमेर समूहमा विवाह गर्नेहरु धेरै छन् । १५ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्नेहरुको संख्या २१ प्रतिशत छ भने १८ देखि २० वर्ष भित्र विवाह गर्नेहरुको संख्या ३२ प्रतिशत छ । २१ देखि २४ वर्षसम्म विवाह गर्नेहरुको संख्या २३ प्रतिशत छ । २५ देखि २९ सम्म विवाह गर्नेहरु ११ प्रतिशत छन् । ३० वर्ष उमेर कटाएर विवाह गर्नेहरुको सख्या ४ प्रतिशत छ । काभ्रेमा ३ लाख ६४ हजार ३९ जनसंख्या रहेको छ । शहरी क्षेत्रमा बालविवाहको संख्या कम भए पनि ग्रामीण भेगमा बढिरहेको बालविवाहको तथ्याङ्क प्रति स्वयम बालबालिका र अभिभावकलाई जिम्मेवार बनाउने अभियान पालिकाहरुले शुरु गरेका छन् ।