प्रहरी कहाँ जान हिचकिच्चाउने बानी फेर्न आग्रह

0
Shares

ललितपुर । प्रहरीलाई नकारात्मक र भयको रूपमा चित्रण गर्ने पुरानो सामाजिक दृष्टिकोण चिर्दै जानुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

ललितपुर महानगरपालिका–१६ वडाको महिना समितिले शुक्रबार स्थानीय बुबहालमा आयोजना गरेको शान्ति सुरक्षा सन्दर्भमा लैंगिक हिंसा न्यूनीकरण विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो जोड दिएका हुन् ।

सो अवसरमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक शिद्धिविक्रम शाहले प्रहरीलाई हेर्ने सकारात्मक दृष्टिकोण निर्माणमा टेवा पु¥याउन युवावर्ग,महिला, बालबालिकालाई प्रहरी परिसरमा घुमाउन र अन्तरक्रिया गर्न प्रहरीसंग एक दिन कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

समाजमा प्रहरीलाई नकारात्मक रूपमा चित्रण गर्ने पुरानो सोच पूर्णरूपमा हटिनसकेको जनाउँदै प्रहरी वरिष्ठ उपरीक्षक शाहले प्रहरीसँग जोडिएका समस्या लिएर आउन सहभागीहरूलाई आग्रह गर्नुभयो ।

‘प्रहरीले तपाईहरुको लागि काम गर्ने हो, तपाईंहरू साथीभाइ वा समुदायमा भइरहेका विभिन्न समस्या लिएर प्रहरी परिसरमा आउन संकोच मान्नुपर्दैन । परिसरमा आएर अन्तरक्रिया गर्न पनि आग्रह गर्दछौं ।’ प्रहरी वरिष्ठ उपरीक्षक शाहले भन्नुभयो । हिंसा, अपराध न्यूनीकरण प्रहरीसँगै समुदायको भूमिका महत्वपूर्ण हुने पनि उहाँको भनाइ थियो ।

सो अवसरमा परिसरको महिला सेलका प्रमुख एवं प्रहरी निरीक्षक मिना राईले शान्ति सुरक्षाको सन्दर्भमा लैङ्गिक हिंसा विषयमा प्रस्तुति गर्नुभयो । महानगरीय प्रहरी प्रभाग मंगल बजारका प्रमुख एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले शान्ति सुरक्षामा समुदायको भूमिकालाई केन्द्रित गर्दै आफ्नो धारणा राख्नुभयो । त्यसपछि सहभागीहरूले घरेलु हिंसा, यौनजन्य कसूर, साईबर क्राइम, बाल विवाह लगायत विषयमा आआफ्नो जिज्ञासा राखेका थिए ।

कार्यक्रममा ललितपुर महानगरपालिका–१६ वडाध्यक्ष निर्मलरत्न शाक्यले वडाले समुदाय प्रहरी साझेदारी अभियान कार्यक्रमलाई प्राथमिकता राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । महिला वर्गको विकासको लागि वडाले कार्यालयले अधिकतम् पहल गर्ने शाक्यको प्रतिबद्धता रहेको थियो ।

सो अवसरमा वडाका महिला सदस्य एवं समितिका संयोजक बबिता श्रेष्ठले लैंगिक हिंसाको स्वरूप, कानूनी पक्षबारे ज्ञान दिलाएर हिंसा सहनुहुँदैन भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यपालिका सदस्यसमेत रहेका संयोजक श्रेष्ठले कानूनी ज्ञान, प्रहरीसँग अन्तरक्रियाले महिलाहरूमा आफ्नो समस्या समाधान गर्न आफै अग्रसर हुने आत्मविश्वास पैदा हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा कार्यक्रका सहकर्तासमेत रहेका नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जनले आफूलाई निकै पीर, मर्काको परेको बेला पनि प्रहरी कहाँ जान नपाएको भए हुन्थ्यो भन्ने मनोविज्ञानले गर्दा अनेक ज्यादतिहरू पनि सहेर बस्ने सामान्य प्रवृति समाजमा त्यसमाथि महिला वर्गमा झन् रहेकोले त्यसलाई चिर्न कार्यक्रमले टेवा पु¥याउने बताउनुभयो ।

समाजको शक्ति संरचनाको पिँधका रहेकालाई माथिल्लो संरचनाका रहेकाले हिंसा गर्ने भएकोले संरचनागत हिंसादेखि सबैको खालको हिंसाको लागि प्रत्येक नागरिक जुर्मुराउनुपर्ने पनि महर्जनको जोड रहेको छ ।

सो अवसरमा प्रहरी समुदाय साझेदारी अभियानका अग्रज एवं समाजसेवी अजरमान जोशी, वडा मेलमिलाप संयोजक एवं कार्यक्रमका समन्वकर्ता नन्दुकिशोर श्रेष्ठको उपस्थिति रहेको थियो ।