नक्कली शरणार्थी मात्र होइन अन्य तमाम बेथितिमा सरकारको ध्यान छ : प्रधानमन्त्री

0
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको ध्यान नक्कली भुटानी शरणार्थी प्रकरणमा मात्र नभई अन्य तमाम बेथितिहरूमा रहेको बताएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थीको विषय अदालतमा पुगेको कारणले अदालतको निर्णय मान्नुपर्ने बताए।

‘प्रहरीले पनि यसबीचमा अनुसन्धान गर्दा थुप्रै अप्ठेरा र जटिलताबीचमा पनि एउटा निश्कर्षमा पुगेका छन्। कयौंलाई लाग्छ, सरकारले यसैलाई मात्र ध्यान दिएको छ कि,’ प्रधानमन्त्रीले भने, ‘अन्य तमाम बेथितिहरुमा पनि सरकारको ध्यान छ। सम्पत्ति शुद्धिकरण होस वा राजश्वका क्षेत्रमा देखिएको बेथिति सच्याउन पर्छ र त्यसको निम्ति सबै दल र सदनको सहयोगको आवश्यक्ता छ।’

उनले राष्ट्रिय समस्याका विषयमा राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए।

‘अहिले जे चलिरहेको छ, मैले सुरुदेखि सुशासनको सन्दर्भमा, नीजि क्षेत्र र सार्वजिनक क्षेत्रको सहकार्यको सन्दर्भमा, चाहे अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने सन्दर्भमा, जनतालाई सेवा प्रवाह गर्ने क्रममा देखिएको बेथितिलाई कम गर्ने,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले भर्खरै जादुको छडि गर्न सकिँदैन। हामी सबैको साझा प्रयास भयो भने समाधान गर्न सकिन्छ। एउटा पार्टी वा नेतृत्व विशेषले मात्र चाहेर यो सम्भव हुँदैन।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकामध्येबाट दोषी छुट्न नहुने र निर्दोष पर्न नहुने स्पष्ट नीति सरकारको रहेको उनले बताए।