पशुपतिको जलहरीबारे छानबिन भइरहेको छ, संसद्‌‌मा प्रश्न उठ्नु उचित होइन : प्रधानमन्त्री दाहाल

0
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरमा जलहरीमा राख्ने सुनमा भ्रष्टाचार भएको भनिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताएका छन् । उनले उक्त विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर संसद्मा प्रश्न उठ्नु सही नभएको बताए ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले पशुपतिनाथमा जलहरी राख्ने क्रममा भएको अनियमितताको अख्तियारले स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने बताए ।

उनले पशुपति विकास कोषससँग सम्बन्धित उक्त विषयको छानबिनमा सरकारले सघाउने पनि बताए । ‘पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानीत सदनमा चर्चा उठेको छ । पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास को‍षको हो र सोही संस्थाले काम गरेको विषयमा विवाद छैन,’ उनले भने, ‘जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन भइरहेको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ । पशुपति विकास कोषमा लगाइएको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसद्को रेकर्डबाट हटाउने व्यवस्था पनि रहेकै छ ।’