मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौँ : रवि लामिछाने

0
Shares

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन्।

शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरूलाई देशबाट नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताए। आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्धको पार्टीको अभियान नरोकिने उनले बताए।

नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकिर गर्दै उनले त्यो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

सभापति लामिछानेले भने, ‘कुनै पनि भ्रष्टको विषयमा हामी निर्मम भएर अगाडि बढ्छौं। यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला। कत्रो सजाय भोग्नुपर्छ होला, मलाई थाहा छैन तर मलाई मतलब छैन। नेपाली जनताले त्यसै भोट हालेका होइनन्। नेता र पार्टी नभएर होइन। नेपाली जनताले यो भ्रष्टाचार चाहिँ निर्मूल पार्नु पर्‍यो भनेर घण्टी बजाएका हुन्। यो हामीले बुझेका छौं। जतिसुकै घेराबन्दी होस्। जतिसुकै मुद्दा चल्दै गरून्। भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं। अरू विवाद हामी गर्दै गरौंला।’

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नुपरेको स्पष्ट पारे।

उनले संसदीय विशेष समिति बनाएर उक्त प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत बताए।