कृषि र पर्यटनमा जोड दिँदै स्याङ्जा

0
Shares

संघीय संरचनामा स्थानीय तहलाई अधिकार सम्पन्न सरकार मानिएको छ । यो अवधिमा दोश्रोपटकको लागि स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकालमध्ये १ वर्ष बितिसकेको छ । कुनै पनि स्थानीय तहमा स्थापित हुने संरचनाको काम कारबाही, भौतिक विकास एवं स्थायित्वमा पालिका प्रमुखको मुख्य भूमिका हुन्छ । नेपालको संविधानद्वारा व्यवस्थित नेपाल राज्यको पुनःसंरचना अनुसार नेपाल ७ प्रदेश र ७ सय ५३ स्थानीय तहका सरकार संविधानप्रदत्त अधिकारसहित क्रियाशील छन् । प्रस्तुत छ, स्याङ्जा समाचारपत्रकर्मी अमृत अर्यालले तयार पारेको स्याङ्जाका स्थानीय तहको १ वर्षको गतिविधि :

स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौं
सूर्यबहादुर कुँवर
अध्यक्ष
विरुवा गाउँपालिका, स्याङ्जा

विरुवा गाउँपालिका गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा जिल्लाको सदरमुकाम पुतलीबजारबाट दक्षिण पूर्वमा पर्दछ । २०७३ फागुन २७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलकाअन्तर्गत साविकका विरुवाअर्चले, मनकामना, ओरस्टे गाविसका सबै वडाहरू तथा साविकका पेल्काचौरको वडा ३ र ९, राङभाङको ४,५,६,७ र ८ चिन्नेबासको १,२,३,४,५ र ६ तथा किचनासको १,२,३,४,५ र ७ नम्बर वडाहरू पर्दछन् । जम्मा ८ वटा वडा रहेको यस गाउँपालिकाको केन्द्र विरुवा बजारमा अवस्थित छ जहाँ पुग्नका लागि सिद्धार्थ राजमार्गको राङखोला भन्ने स्थानबाट भित्र करिब १७ किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ ।

विरुवाका अध्यक्ष सूर्यबहादुर कुँवर भन्नुहुन्छ– विरुवा गाउँपालिकामा प्रमुखको रूपमा जनताको सेवामा लागेको १ वर्ष पुगेको छ । लामो समयदेखि नागरिकसँगै रहेर शिक्षण सेवामा काम गरेको अनुभव छ । निर्वाचित भएपछिको यो १ वर्षको अवधिमा स्थानीय समस्यामै केन्द्रित भई काम गर्दै आइरहेको छु ।

यो गाउँपालिका पर्यटन र कृषि उत्पादनका दृष्टिले सम्भावना भएको पालिका पनि हो । भौगोलिक विकटता भएको हुँदा विकास–निर्माणका काम भने जनअपेक्षाअनुरूप गर्न सकिरहेका छैनौं । मेरो नेतृत्वमा ११ औं र १२ औं गाउँसभा बसिसकेको छ । गाउँ सभाबाट हामीले पालिकाको विकास र समृद्धिको खाका तयार पारिसकेका छौं उहाँले बताउनुभयो ।

पालिकाभित्रका सडकहरूलाई वर्गीकरण गर्ने काम भएको छ । गौरवको आयोजनाको रूपमा ज्याग्दी करिडोरलाई अगाडि बढेको छ । राङखोलादेखि विरुवासम्मको सडकलाई पालिकाको पहिलो प्राथमिकतामा राखेर योजना र स्तरोन्नति प्रक्रिया अगाडि बढेको पनि अध्यक्ष कुँवरले बताउनुभयो ।

वडा र पालिका जोड्ने र अन्य पालिकासँग जोडिने सडकलाई रणनीतिक महत्वका सडकको रूपमा विकास गर्ने गरी काम गाउँपालिकाले गरेको छ । जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पालिकाका ६ वटै स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालनमा ल्याएको छ । २ वटा स्वास्थ्य संस्थामा मात्रै बर्थिङ सेवा सञ्चालनमा रहेकोमा थप ३ वटा स्वास्थ्य चौकीमा बर्थिङ सेवा सञ्चालनको चरणमा रहेको छ । शैक्षिक विकासका निम्ति १० वटा बालविकास केन्द्रलाई नमुना बालविकास केन्द्रको रूपमा विकास गर्न लागिपरेका छौं उहाँले भन्नुभयो ।

वाह ! पुतलीबजार भन्ने बनाउँदै छौं
तुलसीराम रेग्मी, नगर प्रमुख
पुतलीबजार नगरपालिका, स्याङ्जा

पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो । २०५३ सालमा, साविकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सातुपसल, गणेशपुर र चण्डीकालिका गरी पाँच वटा गाउँ विकास समितिहरू मिलेर यस नगरपालिकाको स्थापना भएको हो । नेपाल सरकारको मिति २०७३ फागुन २९ गतेको निर्णयबमोजिम राज्यको पुन संरचनमा पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहकोट, कोल्मा, राङ्भाङ् (१,२,३ र ९) तथा पेल्काचौर (१,२,४,५,६,७ र ८) गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ ।

नगर प्रमुख तुलसीराम रेग्मी भन्नुहुन्छ–‘हामी सबै खालका आवश्यकताले घेरिएका छौं । पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र उद्यम हाम्रा आवश्यकता र अपरिहार्यता हुन, यसमा सबै पक्षलाई समानुपातिक तरिकाले सँगसँगै लिएर जानुपर्ने बाध्यता छ । किनकि यिनीहरू एक अर्कामा परिपूरक छन् । जनताको आकांक्षाहरू धेरै छन् ।

खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, स्वरोजगार, पर्यटन विकास, उद्यमशीलतालगायत धेरै कुराको आशा जनताबाट हुन्छ । यिनीहरूको क्रमागत विकासमा नगरपालिका लागेको छ । सबै कामहरू एकैचोटि हुन सक्दैनन्, क्रमिक रूपमा प्राथमिकताको आधारमा अगाडि बढाउने उहाँले बताउनुभयो ।

आम पुतलीबजारबासी सम्पूर्णमा धैर्यताकासाथ एकपछि अर्को गर्दै नगर, प्रदेश र संघबाट हुने काममा सहयोग गर्नुहुन र कमी कमजोरी भएका ठाउँमा आवाज र औंला उठाउन उहाँले आग्रह गर्नुभएको छ । हामीले निर्वाचनमा होमिँदै गर्दा विभिन्न प्रतिबद्धताहरू गरेका थियौं । हामीले वडास्तरमा, पालिकास्तरमा र केन्द्रीय स्तरमा संकल्पपत्र नै तयार पारेका छौं । जे गर्न सकिन्छ ती कुराहरू मात्र हामीले बोलेको हुँदा सबै प्रतिबद्धताहरू एकपछि अर्को पूरा गर्दै जाने योजना रहेको मेयर रेग्मी बताउनुहुन्छ । स्वास्थ्य, शिक्षा, सरसफाई, खानेपानी, ढल व्यवस्थापन, पर्यावरण संरक्षण, फोहरमैला व्यवस्थापन, विपन्नको हेरचाह, अपांगलाई सशक्तीकरण, भोकालाई भोजन, जनताले सरकारबाट लिनुपर्ने सेवामा चुस्तता, पारदर्शिता, स्वच्छता र प्रभाकारीतामा ध्यान दिने काम भएको पनि मेयर रेग्मीले बताउनुभएको छ ।

सुशासन र सेवा प्रवाहमा जोड
प्रकाश तिवारी, अध्यक्ष
अर्जुनचौपारी गाउँपालिका, स्याङ्जा

स्याङ्जाको उत्तर–पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो, अर्जुनचौपारी । २०७३ सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जामा अर्जुनचौपारी, रापाकोट, पञ्चमूलका (३ र ७) वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो । वडा संख्या ६ भएको गाउँपालिकाको कार्यालय साविक अर्जुनचौपारी गाविस कार्यालयकै केन्द्रमा रहेको छ ।

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी भन्नुहुन्छ– ‘अर्जुनचौपारी ग्रामीण क्षेत्रको पालिका भएकाले पनि कृषि उत्पादनका दृष्टिले संभावनाको रूपमा चिनिन्छ । यस पालिकामा कृषि पर्यटन क्षेत्र धेरै छन् । तर, प्रारम्भिक चरणमा हामीले सुशासन र सरल तरिकाले सेवा प्रवाहमा जोड दिएका छौं ।’

उहाँले अगाडि भन्नुभयो–‘अनावश्यक खर्च कटौती गरेका छौं । अनुत्पादक क्षेत्रमा लगानी गरेका छैनौं । फजुल खर्च शून्यजस्तै बनेको छ । कर्मचारीलाई जिम्मेवार बनाउने अभियानमा लागिपरेका छौं, त्यसका लागि सोहीअनुसारको संयुक्त प्रतिवद्धतासमेत जारी गरिएको छ । यस वर्ष कक्षा ३, ५ र ८ को परीक्षाफल सार्वजनिक गरेका छौं । उपलब्धिस्तर जम्मा १४ प्रतिशत मात्र छ । अब हाम्रो ध्यान शैक्षिक उपलब्धि वृद्धि गर्नेतर्फ केन्द्रित भएको छ । जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।’ भ्रष्टाचारको विषयमा शून्य सहनशीलताको अवधारणा अगाडि सारिएको छ ।

कृषि र पर्यटन नगर समृद्धिका आधार
गोविन्दकुमार कर्माचार्य
नगर प्रमुख
भीरकोट नगरपालिका
बयरघारी, स्याङ्जा

स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ८० मा व्यवस्था भएअनुरूप २०७२ असोज १ गते भीरकोट नगरपालिकाको घोषणा भएको हो । गण्डकी प्रदेश स्याङ्जा जिल्लाअन्तर्गत पर्ने एक पहाडी भेगमा अवस्थित भीरकोट नगरपालिका, सदरमुकाम बयरघारी समुन्द्रिक सतहबाट करीब ७ सय ३० मिटर उचाइमा रहेको छ । भीरकोट नगरपालिकाको पूर्वमा विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका तथा दक्षिणमा वालिङ नगरपालिकालसँग सिमाना जोडिएको छ । मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विक्रम संवत् १४७५ देखि १५०० को बीचमा भएको थियो । स्याङ्जाको इतिहासमा नुवाकोट, सतहुँकोट गह्रौंकोटमध्ये भीरकोटलाई प्राचीन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ ।

भीरकोटका नगर प्रमुख गोविन्दकुमार कर्माचार्य भन्नुहुन्छ–‘हामी बाटोघाटो निर्माण हुनुलाई मात्र विकास भन्छौँ । तर, विकास भनेको नगरका मजदुरको दैनिकी सहज बन्नु, कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार पाउनु पनि हो भन्ने बुझ्नुपर्छ । त्यसैले नगरको विकास गर्न ‘भिलेज प्रोफाइल’ बनाएर अघि बढ्दै छौँ । हामी नगरको विकासमा दत्तचित्त भएर लागेका छौँ ।’ संघीय सरकारले बनाएका ऐन झन्झटिला भन्दै विकास छिटो गर्न कतिपयले ऐन पालना गर्नुहुन्न । त्यसकारण पछि कामले फेल खान्छ, त्यसैले जनप्रतिनिधि र कर्मचारी दुवैलाई समय–समयमा अध्ययन र तालिमको आवश्यकता पर्न जान्छ ।

भीरकोट नगरपालिका कृषि र पर्यटनमा प्रचुर सम्भावना भएको नगरपालिका हो । हामीसँग आँधिखोलालले बनाएका उर्वर फाँटहरू पनि छन् र पर्यटकीय स्थलहरू पनि छन् । कृषिलाई अझै व्यावसायीक बनाउने प्रयासस्वरूप अनुदानमा आलु, मकै, गहँु तथा धानका उन्नत जातका बिउबिजन वितरण गरिएको उहाँले बताउनुभयो ।

एउटै कामका लागि दुईपटक कार्यालय धाउनु नपरोस्

कृष्ण खाँण, नगर प्रमुख
वालिङ नगरपालिका, स्याङ्जा

साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाउँ विकास समिति मिलाएर नेपाल सरकारबाट मिति २०५३ माघ ११ गते वालिङ नगरपालिका घोषणा गरिएको थियो ।

यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आँधीखोला बगेको छ । पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ राजमार्गले काटेर गएको वालिङ बजार आँधीखोलाको किनारमा पर्ने मुख्य व्यापारिक केन्द्र पनि हो । त्यसैले गर्दा यस नगरपालिकाले विविध सम्भावनाहरू बोकेको देखिन्छ । वालिङ नगरपालिका, प्रदेश सदरमुकाम पोखराबाट ६५ किलोमिटर तथा जिल्ला सदरमुकाम पुतलीबजारबाट २७ किलोमिटर टाढा रहेको छ ।

आकार हेर्दा चराजस्तो देखिने वालिङ नगरपालिका समुन्द्र सतहबाट ७ सय ३१ मिटरदेखि १५ सय ९६ मिटर उचाइसम्म रहेको छ । नेपाल सरकारले वालिङ नगरपालिकालाई स्मार्ट सिटीको रूपमा विकास गर्ने घोषणा गरेपछि स्थानीय सरकार पनि सो परिकल्पनालाई साकार बनाउन लागि परेको छ । नगरपालिकाको बजार क्षेत्रलाई स्मार्ट सिटी तथा गाँउहरूलाई स्मार्ट भिलेजहरू बनाई स्मार्ट वालिङ बनाउने योजना रहेको छ ।

स्मार्ट सिटी वालिङका नगर प्रमुख कृष्ण खाँण भन्नुहुन्छ– ‘मैले लामो समयदेखि समाज सेवामार्फत जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने अवसर पाएँ । स्थानीय तहमा आएर जनतामाझ अझ नजिक भएको छु । स्थानीय तहको अनुभव नभए पनि ऐन–कानुनको परिधिभित्र रहेर नगरमा सुशासन कायम गर्दै विकास–निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेको छु ।’

उहाँले भन्नुभयो –हामीले गरेका कामलाई समीक्षा गोष्ठीका रूपमा जानकारी गराइरहेका छौँ । साथै हामी नागरिकलाई छिटो र झन्झटरहित सेवा प्रदान गर्दै आइरहेका छौँ । कुनै पनि नागरिकले एउटै कामका लागि दुई पटकसम्म कार्यालय धाउनु नपरोस् भन्ने हाम्रो लक्ष्य हो । पालिकाका कामलाई चुस्त रूपमा सञ्चालन गर्नका लागि जनप्रतिनिधि र कर्मचारीबीच पनि सुमधुर सम्बन्ध रहन आवश्यक हुन्छ । राजनीति र प्रशासन एक सिक्काका दुई पाटा हुन् । तर, यी दुईमा सीमारेखा पनि हुनु आवश्यक छ ।’

समृद्ध नगर बनाउने अभियानमा सक्रिय छौं
देवबहादुर खाँण
नगर प्रमुख, चापाकोट नगरपालिका
चापाकोट स्याङ्जा

स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ७२ ले दिएको अधिकार प्रयोग गरी २०७३ फगुन २७ को निर्णयानुसार यस नगरपालिकाको गठन भएको हो । संघीयता लागु भएसँगै साविकको २०७१ वैशाख २५ को मन्त्रिपरिषद्को निर्णयअनुसार चापाकोट, कुवाकोट र रत्नपुर गाविस मिलेर बनेको चापाकोट नगरपालिका (जसमा १४ वटा वडा थिए) मा पकवादी गाविसको ८ नं वडा, मल्याङ्कोट गाविसको ८ वटा वडा, सांखर गाविस र सेखाम गाविस थपेर गठन भएको यस नगरपालिकामा हाल १० वडा रहेका छन् ।

विश्वको एकमात्र शालिग्राम पाईने कालिगण्डकी नदी यसै नगरपालिकाको दक्षिणी बाटो भएर बग्दछ । उत्तरतर्फ ज्याग्दी खोला कलकल बगेको छ, जसमा ज्याग्दीको सभ्यता लुकेको छ । सांस्कृतिक र पर्यटनको प्रचुर सम्भावना बोकेको भए तापनि पक्कि मोटरबाटो हुन नसकेको यस नगरपालिकामा अहिले करिब ५ किलोमिटर भन्दा बढी कालोपत्रे सडक बनिसकेको छ । अधिकांश भूभाग तराईजस्तो समथर रहे तापनि यस क्षेत्रमा उचित सिंचाई तथा खानेपानीको अभावले कृषिजन्य क्षेत्रको उत्पादनमा प्रभावकारिता ल्याउन सकिएको छैन यद्यपि यो विषयमा उल्लेख्य रूपमा सुधार भएको छ ।

चपाकोटका नगर प्रमुख देवबहादुर खाँण भन्नुहुन्छ–‘अझै धरै विकास निर्माणका कामहरू गर्नु आवश्यक छ । उपलब्ध स्रोतसाधनको समुचित सदुपयोग गरी विकास–निर्माणका योजनालाई अगाडि सार्दै समृद्ध नगर बनाउने अभियानमा म सक्रिय छु । गरिबी निवारणका लागि गरिबसँग लघुवित्त कार्यक्रम सञ्चालन गरिएको छ । विभिन्न प्रशिक्षणमार्फत युवाहरूलाई स्वरोजगारमा जोड्दै आयआर्जनमा सक्रिय गराईएको छ । हामीले बढी कृषिमा जोड दिएका छौं । कृषकहरूलाई मल तथा बिऊमा अनुदान, पशुपंक्षीलाई आवश्यक पर्ने खोप निशुल्क गरेका छौंै । स्मरणीय छ, हामीले भर्खरै मात्र ११ हजार ५ सय पशुहरूलाई पीपीआर खोप लगाएका छौं । नगरभित्र सञ्चालित सबै अस्पतालहरूमा सबै रोगहरूको निशुल्क स्वास्थ्य उपचारको प्रबन्ध मिलाएका छौं ।

कालीगण्डकीभित्र समस्यासँगै प्रचुर सम्भावना छ
खिमबहादुर थापा,
अध्यक्ष कालीगण्डकी गाउँपालिका
बिर्घा, स्याङ्जा

राज्यको पुनःसंरचना गरी मुलुकलाई ७ वटा प्रदेशमा विभाजन गरेपश्चात् गण्डकी प्रदेशको सुदूरपश्चिम स्याङ्जामा अवस्थित यो गाउँपालिका स्थानीय निकाय पुनःसंरचना आयोगले साविक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेवी र चण्डीभञ्ज्याङ गाविस मिलाएर बनाइएको हो । यहाँको जनसंख्या २१ हजार ७ सय २८ छ भने क्षेत्रफल ७३दशमलव ५१ वर्ग किमि छ । पूर्वतर्फ गल्याङ नगरपालिका, उत्तरतर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिमतर्फ पाल्पाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्लाभित्र कालिगण्डकी गाउँपालिका रहेको छ ।

कालीगण्डकीका अध्यक्ष खिम थापा भन्नुहुन्छ– यस पालिकाभित्र समस्यासँगै प्रचुर सम्भावना पनि छ । पालिकाले त्यसको पहिचान गरेको पनि छ । कृषि र पर्यटन पालिका समृद्धिका आधार हुन् । हामीले खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति गरेका छौं । १ घर १ धारा कार्यक्रम पालिकाभर नै सम्पन्न हुने चरणमा छ । पालिकाका ४७ सय घरधुरीमध्ये करिब ४ हजार घरधुरीमा १ घर १ धारा जडान भइसकेको छ ।

स्वास्थ्य बिमा निःशुल्क गरिएको छ । न्यूनतम विद्युत्समेत निःशुल्क गरिएको छ । सबै सामुदायिक विद्यालयहरूमा मन्टेस्वरी कक्षा र सिकाइ पुस्तकालय सञ्चालन गरिएको छ । पालिकाको ४२ किमी मोटरबाटोमध्ये ३७ किमी कालोपत्रे गरिसकिएको छ ।
कालीगण्डकीभित्रका सबै अस्पतालहरूमा उपचार निःशुल्क गरिएको पनि उहाँले बताउनुभयो । ३ वटा नमुना लिफ्टिङ सिंचाइका योजनामध्ये वडा नं. ४ को बिर्घाटार लिफ्टिङ सिंचाइ योजना सम्पन्न भइसकेको छ भने बाँकी २ वटा सम्पन्न हुन बाँकी रहेको बताइएको छ ।

नगर समृद्धिको आधार नै कृषि हो
गुरुप्रसाद भट्टराई
नगर प्रमुख
गल्याङ नगरपालिका

साविक मालुंगा, जगत्रदेवी, पकवादी, तिन्दोबाटे, तुल्सिभन्ज्याङ, निवुवाखर्क, पिडिखोला र पेलाकोट गा.वि.स.मिलाएर नेपाल सरकारले गल्याङ नगरपालिकाको रूपमा घोषणा गरेको थियो । स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा रहेको यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आँधीखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको छ । त्यसैले गर्दा यस नगरपालिकाले विविध सम्भावनाहरू बोकेको देखिन्छ ।

गल्याङका नगरप्रमुख गुरुप्रसाद भट्टराईले नगरको समृद्धिका लागि कृषि नै मुख्य आधार भएको हुँदा किसान र कृषिमैत्री नगर बनाउन आफूहरू सोहीअनुरूप अघि बढेको बताउनुभयो ।

नगरप्रमुख भट्टराई भन्नुहुन्छ– ‘गल्याङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी संख्याको २० प्रतिशत र क्याम्पसमा अध्ययनरत विद्यार्थी संख्याको १० प्रतिशत गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति दिने कार्यक्रम लागु गरिएको छ । सडक डिभिजन कार्यालय पोखरासँगको सहकार्यमा नगरभित्र पर्ने सिद्धार्थ राजमार्गको स्तरोन्नतिको काम गरिएको छ ।

नगरभित्रका तुलसी भञ्ज्याङ खानेपानी ७० लाख, बेलचौर खानेपानी १ करोड ५० लाख, गल्याङ नगर माथिल्लो खानेपानी १ करोड, गेझा बेलचौर खानेपानी १ करोड ५० लाख, जगत्रदेवी खानेपानी १ करोड ५० लाख, कालीगण्डकी भेडाबारी खानेपानी १ करोड, राम्दी खानेपानी २० लाख गरी ७ करोड ४० लाखको खानेपानी योजनाको लागी मन्त्रालय मार्फत बजेट स्विकृत गराई निकट दिनमा काम शुरू हुँदैछ । हरित नगर बनाउने योजनासहित नगरपालिकाको फोहोरजन्य पदार्थ फोहोरमैला व्यवस्थापनको लागि प्रारम्भिक छलफल गरिएपछि सोहीअनुरूप बृहत् परियोजना नै निर्माण गरी अघि बढाउनुका साथै यसैअन्तर्गत सडक छेउमा वृक्षरोपण कार्यक्रम सुरुवात गरिएको पनि उहाँले जानकारी दिनुभयो ।