जनताको नजिकको सरकारका प्रतिनिधिलाई आग्रह : आशा र भरोसा निभ्न नदेऊ

0
Shares

काठमाडौं । संघीय शासन प्रणालीले संस्थागत रूप लिइरहेको अवस्थामा यो शासन प्रणालीको सफलताको प्रमुख आधार मानिएको स्थानीय सरकारमा नयाँ जनप्रतिनिधि आएको भर्खरै एक वर्ष पुगेको छ ।

स्थानीय तहमा केही विकृति देखिए पनि यो जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित हँुदै गएको छ । स्थानीय शासनका विज्ञहरूले गाउँका सिंहदरबारको भूमिकामा रहेका स्थानीय तहले जनताको आशा र भरोसालाई निभ्न दिन नहुने बताएका छन् । स्थानीय तहले थुप्रै विकासका पूर्वाधारको सुरुवात गरेका छन् । ‘नजिकबाट नागरिकलाई सेवा प्रवाहसमेत दिँदै आएका छन् । जनताका दुःखसुखका साथी बनेका छन्, यति हुँदाहुँदै पनि स्थानीय तहमा केही विकृति देखिएका छन्, अब स्थानीय तहले त्यहाँ देखिएका विकृतिको अन्त्य गर्नुपर्छ’ –विज्ञहरूको सुझाव छ ।

स्थानीय शासनका विज्ञ मानिएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय तह संघीय शासन प्रणालीको महत्वपूर्ण आधार भएकाले स्थानीय तहले आफ्नो जिम्मेवारीलाई कुशलताका साथ बहन गर्नुपर्ने बताउनुहुन्छ । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल बनाउने वा असफल बनाउने मुख्य भूमिका गाउँका सिंहदरबारका रूपमा रहेका स्थानीय तहमा नै निर्भर छ । स्थानीय तहलाई सुशासनमैत्री र जनप्रिय बनाउनुपर्नेमा जोड दिँदै प्रमुख आयुक्त थपलियाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यसका लागि स्थानीय तह आफैं सच्चिनुपर्छ भने प्रदेश सरकार र केन्द्रीय सरकारले पनि आवश्यक सहयोग र समन्वय गर्न जरुरी छ ।’

जनप्रतिनिधिहरू सफल बन्न र आफ्नो स्थानीय तहलाई अगाडि बढाउन प्रचलित ऐन, नियम र कानुनभित्र बसेर गर्न मिल्ने विषयहरू मात्रै कामको रूपमा घोषणा गर्नुपर्ने सुझाव दिँदै उहाँले भन्नुभयो– ‘सस्तो लोकप्रियताको निम्ति काम गर्नुहुँदैन । घोषणा गर्ने तर काम हुन नसक्नेखालका कार्यक्रम घोषणा गर्नै हँुदैन । त्यसले जनप्रतिनिधिलाई जनताको माझमा अलोकप्रिय र बदनाम बनाउँछ । जनप्रतिनिधिले यथार्थपरक र वास्तविक कार्यक्रम मात्रै ल्याउन सक्नुपर्छ ।’

संविधानअनुसार तीन सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयको सम्बन्ध हुनुपर्छ । केन्द्र र प्रदेश सरकारले संविधानको सोही प्रावधानअनुसार स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य स्थापित गर्नुपर्ने विज्ञहरूको सुझाव छ । संघीय शासन प्रणालीअन्तर्गत रहेको यो सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । यो सरकार जनताको वरिपरि घुमिरहने भएकाले यसको विशेष महत्व बढेको हो ।

स्थानीय सरकारले संविधानबमोजिम आफंै कानुन निर्माण गर्ने, स्थानीय बासिन्दाको आवश्यकता, माग र प्राथमिकताका आधारमा योजना तर्जुमा गर्ने, विकास निर्माण कार्य गर्ने, स्वास्थ्य, शिक्षा, कृषिलगायतका क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने, स्थानीय सेवा प्रवाह गर्ने र स्थानीय जनतालाई सुखी र खुसी राख्ने महत्वपूर्ण जिम्मेवारी पाएको छ ।

संविधानले संघीय शासन प्रणाली स्थापित गरेसँगै स्थानीय तहमार्फत केन्द्रको अधिकार गाउँगाउँमा पुगेको छ । त्यसैले पनि स्थानीय तहलाई गाउँका सिंहदरबार भनेर गर्वका साथ भन्ने गरिएको हो ।

स्थानीय शासनका विज्ञ थपलिया स्थानीय तहका जनप्रतिनिधिले जनताको नजिकमा बसेर जनताको हितमा काम गर्नुपर्छ भन्ने सोच निरन्तर राखिरहनुपर्ने आवश्यकता औंल्याउनुहुन्छ । अहिलेका स्थानीय तहका जनप्रतिनिधिले विगतमा ल्याएका कुनै कार्यक्रम कार्यान्वयन हुन नसक्ने भए त्यस्ता कार्यक्रमलाई बन्द गरी कार्यान्वयन हुनसक्ने खालका राम्रा कार्यक्रम ल्याउन सक्नुपर्ने उहाँको भनाइ छ । नयाँ जनप्रतिनिधिले वितरणमुखी योजना तथा कार्यक्रमलाई उत्पादनमुखीमा रूपान्तरण गर्नुपर्ने जिकिर गर्दै उहाँले तत्काल फाइदा दिनेभन्दा पनि दीर्घकालीन हित हुने खालका योजना र कार्यक्रम ल्याउन सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘जनप्रतिनिधिले म यति वृद्धभत्ता वितरण गर्छु भन्दा पनि मेरो पालिकाका सबै ज्येष्ठ नागरिकलाई स्थानीय तहको जुनसुकै स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्छु भन्न सक्नुपर्छ । स्थानीय तहका जनप्रतिनिधिले म विद्यार्थीलाई कापीकलम वितरण गर्छु भन्ने होइन, हाम्रो पालिकाको विद्यालयमा निःशुल्क र गुणस्तरीय शिक्षा दिन्छु र त्यसका लागि जस्तोसुकै दक्ष शिक्षक राख्न पनि म आवश्यक लगानी गर्न सक्छु भन्ने हिम्मत र अठोट लिनुपर्ने आवश्यकता देखिएको छ । जनप्रतिनिधि शिक्षा र स्वास्थ्यको क्षेत्रमा वितरणमुखीभन्दा पनि गुणात्मक सुधारको कार्यमा अग्रसर हुनुपर्छ ।’

विज्ञहरूका अनुसार स्थानीय तहले कृषिको सन्दर्भमा प्रक्रियामा होइन उत्पादन र नतिजालाई जोड दिनुपर्छ, उत्पादनलाई रोजगारीसँग जोड्न सक्नुपर्छ । प्रशासनका विज्ञ पूर्वसचिव श्यामप्रसाद मैनालीले जनप्रतिनिधिलाई आफ्नो घोषणापत्रमा लेखेको कुरालाई हप्तामा एकपटक पढ्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो– ‘विगतमा काम गर्छु भनेर गरेका प्रतिबद्धताहरू आफ्नो कार्यकक्षमा टाँसेर राख्न सक्नुपर्छ । घोषणापत्रमा समेटिएका योजनाहरूको विस्तृतीकरण गर्नुपर्छ ।’

उहाँका अनुसार स्थानीय तहका जनप्रतिनिधिले गर्नुपर्ने अर्को महत्वपूर्ण कार्य भनेको स्रोतको प्रभावकारी परिचालन हो । आन्तरिक र बाह्य स्रोत परिचालन गर्नुपर्छ र यी दुई स्रोतबीच तदात्म्यता कायम गराउन सक्नुपर्छ । धेरैजसो ठाउँमा अनावश्यक रूपमा प्रशासनिक खर्च भइरहेको छ । त्यो कटौती गर्नुपर्छ । स्थानीय तहमा रहने कार्यपालिकाको बैठक र सभाको बैठकमा पनि भत्ता लिन नहुने टिप्पणी गर्दै मैनालीले भन्नुभयो– ‘अनावश्यक भत्ता वितरण गर्ने कार्य पूर्ण रूपमा निषेध नै गर्नुपर्छ । सुधार आफैंबाट गर्नुपर्छ । अनावश्यक रूपमा सल्लाहकारबापत खर्च गर्ने गरिएको छ, त्यो पनि हटाउनुपर्छ ।’

यसै गरी स्थानीय तहका जनप्रतिनिधिले गर्नुपर्ने अन्य कार्यमा स्थानीय तहमा काम गर्दा स्थानीय प्रविधिको प्रयोग गर्न सक्नुपर्छ । कतिपय स्थानीय तहले अनावश्यक कर उठाउने काम गरेका छन्, त्यस्तो गर्नुहँुदैन । पूर्वप्रशासक मैनालीले भन्नुभयो– ‘कर बढाउने होइन, करको दायरा बढाउनुपर्छ । अनावश्यक खालका दस्तुर र शुल्क हटाउनुपर्छ । यसरी नयाँ जनप्रतिनिधिले जनताले राहत अनुभूति गर्ने खालका महत्वपूर्ण र यथार्थपरक कार्यक्रम ल्याउनुपर्छ ।’

स्थानीय तहका विज्ञहरूका अनुसार स्थानीय तहमा धेरै सहकारी सञ्चालनमा छन् । हरेक पालिकाले कम्तीमा पनि एउटा वडामा सस्तो बजार सञ्चालन गर्नुपर्छ । त्यसका लागि सहकारीलाई आवश्यकताअनुसार अनुदान दिन सकिन्छ । सस्तो बजारमा अन्यत्रभन्दा हरेक सामान केही सस्तोमा दिन थाल्ने हो भने नागरिकले निकै राहतको अनुभूति गर्न सक्ने छन् । स्थानीय सरकारको मुख्य काम भनेकै स्थानीय बासिन्दालाई राहत र सेवा प्रवाह दिनु नै हो ।

अघिल्ला जनप्रतिनिधिले पाँच वर्षको अवधिमा विधि विधान बनाउने काम गरेको बताउँदै विज्ञहरूले अहिलेका जनप्रतिनिधिले अबको ४ वर्षमा विधिलाई प्रविधिमा जोडेर सोहीअनुसार काम गरेमा स्थानीय सरकार सफल हुने बताएका छन् । विधिलाई प्रविधिसँग जोड्न सकेमा मात्रै स्थानीय तहले समृद्धिको यात्रा सजिलै सफल बनाउन सक्ने भन्दै विज्ञहरूले जनप्रतिनिधिलाई सेवा प्रवाहको व्यवस्थित प्रणाली बनाउन र व्यवस्थापकीय दक्षताका साथै क्षमता देखाउन सुझाव दिएका छन् ।

जनप्रतिनिधिले ध्यान दिनुपर्ने विषय

–जनताको दुःखसुखको साथी बन्नुपर्छ
–सेवा प्रवाहको व्यवस्थित प्रणाली बनाउनुपर्छ
–सुशासन मैत्री र जनप्रिय बन्नुपर्छ
– प्रचलित ऐन नियम कानुनभित्र बसेर काम गर्नुपर्छ
–आफ्नो घोषणापत्र हप्तामा एकपटक पढ्नुपर्छ
–घरको सिरानीमा र कार्यकक्षमा घोषणापत्र राख्नुपर्छ
–कार्ययोजना बनाएर अघि बढ्नुपर्छ
–वितरणमुखी योजना तथा कार्यक्रमलाई उत्पादनमुखीमा रूपान्तरण गर्नुपर्छ
–अनावश्यक खालका दस्तुर र शुल्क हटाउनुपर्छ
–स्वास्थ्य र शिक्षाको गुणस्तमा विशेष ध्यान दिनुपर्छ
–महालेखा र अख्तियारले दिएको सुझावलाई कार्यान्वयन गर्नुपर्छ

यसकारण जनप्रतिनिधि महत्वपूर्ण भूमिकामा छन्

संघीय शासन प्रणाली सफल तथा असफल बनाउने प्रमुख भूमिकामा स्थानीय तहका पदाधिकारीहरू आफैं रहनुभएको छ । तपाईंहरूले राम्ररी काम गर्नुभएन भने आम जनतामा संघीय शासन प्रणालीप्रति नै वितृष्णा जाग्न सक्छ । हिजो जनताले केन्द्रबाट आचरण र सच्चरित्रको अपेक्षा गर्थे ।

आज आफ्नै अगाडि रहेको सरकार र पदाधिकारीबाट सदाचार र सच्चरित्रको अपेक्षा गरेका छन् । परिवर्तित परिवेशमा शासन व्यवस्थालाई थप प्रभावकारी बनाउन पदाधिकारीहरू अझै बढी अनुशासित, कर्तव्यपरायण र उच्च चरित्रयुक्त हुनुपर्छ । नेपाल समाचारपत्र यस विषयमा सधैं नियमित पैरवी गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।