पाकिस्तानी दूतावासद्वारा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान 

0
Shares

काठमाडौं। 

काठमाडौंस्थित पाकिस्तानी दूतावासले काठमाडौँलगायत विभिन्न जिल्लाका ४३ वटा सरकारी विद्यालयमा अध्ययनरत एक सय ९८ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बुधवार राजधानीमा आयोजित एक समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १ देखि १२ कक्षाका एक सय ९८ विद्यार्थीहरूलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले एक जना सर्वोत्कृष्ट विद्यार्थीलाई ल्यापटप हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नेपालको शिक्षा क्षेत्रमा पाकिस्तानले जारी राखेको सहयोगको प्रशंसा गर्दै यस्तो कार्यक्रमले दुई देशमा जनस्तरको सम्बन्ध मजबुत हुने विचार व्यक्त गर्नुभयो ।

राजदूत हासमीले बालबालिकालाई शिक्षा, खेलकुद र सामाजिक क्रियाकलापमा प्रोत्साहन गर्ने उद्देश्यले पाकिस्तानी दूतावासले विभिन्न खाले कार्यक्रमहरु आयोजना गर्ने गरेको जानकारी दिँदै आगामी दिनमा पनि छात्रवृत्तिलाई निरन्तरता दिने बताउनुभयो ।

पाकिस्तानी दूतावासले सन् २०१३ देखि नेपालका सरकारी विद्यालयका विद्यार्थीहरूलाई पढाइमा सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सुरु गरेको हो ।