बेलायतमा विद्यार्थीले ‘डिपेन्डेण्ट’ ल्याउन नपाउने

0
Shares

काठमाडौं । आप्रवासीको संख्यालाई नियन्त्रण गर्न भन्दै बेलायतमा अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरुले अब आफ्ना डिपेन्डेन्ट ल्याउन नपाउने भएका छन् ।

गृहमन्त्री सुयला ब्रेभरम्यानले बेलायती संसदमा पेश गरेको प्रस्तावमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई श्रीमती र छोराछोरी ल्याउन प्रतिबन्ध लगाउने उल्लेख छ ।

उनले अध्यागमन नियन्त्रण गर्ने सरकारको लक्ष्य हासिल गर्न नयाँ नीतिले मद्धत पुर्याउने दाबी गरेकी छन् ।

केही वर्षअघिसम्म अन्डरग्रयाजुएट ब्याचलर र डिप्लोमा कोर्समा बेलायत आउने विद्यार्थीलाई समेत दिइंँदै आएको डिपेन्डेन्ट ल्याउन पाउने सुविधा पछिल्ला वर्षहरुमा भने मास्टर्स डिग्री र सोभन्दा उच्च तहका कोर्स अध्ययनका लागि आउनेहरुले मात्रै पाउँदै आएका थिए ।

नयाँ प्रस्तावमा विद्यार्थीका रूपमा आएकाहरूले अध्ययन पूरा नभई वर्क परमिट वा अन्य रूटमा जान नपाउने प्रावधान राखिएको छ ।

यो प्रस्ताव सन् २०२४ को जनवरीबाट कार्यान्वयनमा ल्याइने सरकारको योजना रहेको छ ।