मधेस विद्रोह हुनुपूर्वको राजनीतिक परिदृश्य

3.2k
Shares

मधेस आन्दोलनकै कारण मुलुकले संघीयताको अवलम्बन गर्न पायो । समावेशिता र समानुपातिक पनि मधेस आन्दोलनकै देन हो । २०६३ सालयता देशमा तीन सांघातिक मधेस आन्दोलनहरू भए । कैयौँ मधेसी शहीद भए, कैयौँ अङ्गहीन भए । मधेस आन्दोलनका अझै थुप्रै फाइदा र नोक्सानीहरू छन् । तर यो आलेख मधेस आन्दोलन हुनुपूर्वको मधेसको राजनीतिको परिदृश्यमा केन्द्रित रहनेछ ।

मधेस आन्दोलनले उठाएका अधिकांश मुद्दाहरूका मार्गचित्र धेरै अगाडि नै कोरिएका थिए । २०६३ सालको मधेस आन्दोलन नै मधेसी राजनीतिको तोरणद्वार हो भन्ने धेरैको बुझाइ छ । तर यो भाष्य पूर्ण असत्य हो । मधेसीलाई विनिपात गरिएको इतिहास निकै जराग्रस्त छ । जति उकाल्यो त्यति नै मधेसका परिदाहको स्वर सुनिन्छ । मधेसीहरू नेपाली भए पनि उनीहरूलाई हेर्ने दृष्टिकोण अरूभन्दा निकै फरक थियो, अहिले पनि छ । मधेसीहरू भारतीय हुन् भन्ने खाले अनैतिक सोच धेरैमा भएको पाइन्थ्यो । मधेसीको राष्ट्रियतामाथि सन्दिग्धता गर्ने चलन राणा शासनदेखि नै दृढ थियो । यसको विरोधमा राणा शासनको अन्त्य भएदेखि नै मधेसीहरू मधेस केन्द्रित राजनीतिमा पाइला टेकेको देखिन्छ ।

जनताको अटुट र अथक संघर्षले २००७ सालमा राणा शासनको अवसान भयो । जनता प्रफुल्लित भए । अधिकारबाट भोकाएका जनताले समान अधिकार पाउने कुराको गाँठो सँगाले । तर मधेसीले भने त्यस्तो अनुभूति र स्पर्श गर्न पाएनन् । नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनमा मुख्य नायकत्व गरेको थियो । कांग्रेसमा मधेसी, पहाडी, हिमाली सबै क्षेत्रको जमातको अपार सहभागिता थियो । प्रजातन्त्रको स्थापना भएपछि नेपाली कांग्रेसका मधेसी नेताहरूले मधेसी हितका निम्ति केही मुद्दाहरू तत्कालीन सरकारसमक्ष विन्यस्त गरे । यसमा नेपाली कांग्रेसको समर्थन देखिएन । त्यसकै झोकमा मधेसी मूलका कांग्रेसका केही नेताहरू नेपाली कांग्रेसबाट छुट्टिएर तराई कांग्रेस नामक दल गठन गरे । मधेस राजनीतिको संथागत सूत्रपात यहाँबाट आरम्भ भएको देखिन्छ । शुरुवाती चरणमा कुलानन्द झा र बलदेव दासलगायतका मधेसी कांग्रेसी नेताहरूको पहलमा वि.सं. २००८ मा तराई कांग्रेसको प्रवत्र्तन भएको थियो । पछि धेरै मधेसी नेताहरू तराई कांग्रेसमा आबद्ध हुँदै गए । पार्टीको संगठन पनि तराई मधेसमा बलियो हुँदै गयो । पार्टी स्थापना भएको केही महिनापछि कुलानन्द झाका भाइ वेदानन्द झालाई पार्टीको अध्यक्ष बनाइयो । उनी मधेसका समस्याहरूप्रति निकै विदित थिए ।

तराईलाई स्वायत्तकरण गर्नुपर्ने, मुलुकमा संघीय प्रणाली अवलम्बन गर्नुपर्ने, स्वायत्त तराई प्रदेश हुनुपर्ने, मधेसीहरूको छुट्टै सैन्य समूह हुनुपर्ने, नेपाली सेनामा मधेसीलाई समाहित गर्नुपर्ने, हिन्दी भाषालाई कामकाजको भाषाको रूपमा मान्यता दिनुपर्ने, सरकारी सेवामा मधेसीको समानतामूलक सहभागिता हुनुपर्नेजस्ता माग तराई कांग्रेसले शुरुवाती चरणमै अभ्युत्थान गरेको थियो । मधेस विद्रोहबाट प्राप्त संघीयतालाई तराई कांग्रेसले २००८ सालमै मधेसको लागि अनिवार्य छ भनेर पार्टीको मुख्य मुद्दाको रूपमा उत्कर्षण गरेको थियो ।

समयक्रमसँगै तराई कांग्रेसले उठान गरेका मागहरू परिगत हुँदै गए । तराई कांग्रेस केही समयसम्म तराई मधेसमा निकै रूचाइएका पार्टीका रूपमा स्थापित हुन सफल भएको थियो । तर २०१५ सालको आम निर्वाचनमा वेदानन्द झालगायत तराई कांग्रेसका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेनन् । त्यसपछि उक्त पार्टी संघारको बाटोतिर मोडियो । तराई कांग्रेसका केही नेताहरू नेपाली कांग्रेसमै फर्के भने केही २०१७ सालमा राजा महेन्द्रले शुरु गरेको निर्दलीय पञ्चायती व्यवास्थामा सहभागी हुन पुगे । वेदानन्द झा पञ्चायती सरकारका मन्त्री, भारतका लागि नेपाली राजदूतसमेत बने । आफैँले उठाएका मुद्दाहरूप्रति उनी उत्सर्जित हुन सकेनन्, फलस्वरुप तराई कांग्रेस मजबुत हुन सकेन । तर तराई कांग्रेसले नै मधेस राजनीतिक समुत्पत्ति गरेको हो भन्ने तथ्य पूर्णरूपमा सही हो । तराई कांग्रेसले मधेस राजनीतिक मोडालिटीचाहिँ तयार पारेकै हो । तराई कांग्रेस विघटित भए पनि उक्त दलले तयार पारेका मधेस केन्द्रित राजनीतिक मोडालिटी अहिलेका मधेसी नेताहरूले मानचित्रका रूपमा प्रयुक्त गर्दै छन् । संघीयताको धुवाँ तराई कांग्रेसले नै सल्काएका हुन् । त्यसपछि भने पछिका दलहरूले पनि संघीयताका मुद्दा उठाउन थाले ।

तराई कांग्रेसको उदयोन्मुख र पातित्य हुने क्रमसँगै मधेसको राजनीतिमा एउटा अर्को नामको पनि अभ्युदय भयो । नाम थियो रघुनाथ ठाकुर । सुनसरी जिल्लाका रघुनाथ ठाकुर एक निडर मधेसी नेताको रूपमा चिनिन्थे । शोषित मधेसीहरूका चर्को अवाज बनेर राजनीतिमा होमिएका ठाकुरले मधेसीका हक–अधिकारका लागि संघर्ष गरेका थिए । ठाकुरको राजनीतिक सफरको यसरी सूत्रपात हुन्छ । नेपाल सरकारले निर्धन र जेहेनदार विद्यार्थीलाई दिने छात्रवृत्तिमा पदाधिकारीहरूले घोटाला गरेको खबर बाहिरियो । त्यसको विरोधमा ठाकुर राजदरबारअगाडि अनशन बसे । दरबारले उनको कुरा सुन्यो । त्यसपछि उनले छात्रवृत्तिबाटै भारतमा पढ्ने मौका पाए । उनी अनशन बसेदेखि केही हदसम्म भए पनि छात्रवृत्तिको प्रक्रियामा सन्तुलनसमेत देखियो भन्ने जानकारहरूको भनाइ छ । उनी राजनीतिज्ञ मात्र नभएर एक लेखक पनि थिए । उनले धेरै पुस्तक लेखेका छन् । परतन्त्र मधेस और उसकी संस्कृति नामक हिन्दी भाषामा उनीद्वारा लिखित पुस्तक अहिले पनि मधेसी राजनीतिमा कोसेढुंगाको रूपमा प्रयोग हुने गरेको छ । पञ्चायतकालमा उनले मधेसीको आवाज बनेर बोलिरहे । उनले शोषित मधेसीका हक–अधिकार बुलन्द गर्नको निम्ति मधेस मुक्ति मोर्चा र क्रान्तिकारी दलसमेत गठन गरेका थिए । पञ्चायती सरकारका उनी एक कट्टर विद्वेषी र परिलक्षित पात्र थिए ।

भारतमा उनको रहस्यमय ढंगले मुत्यु भएको थियो । उनी शान्तिप्रिय नेता थिए । उनको लेख र पुस्तकमा हेपिएका, थिचिएका मधेसीहरूका भावना समाविष्ट भएको पाइन्थ्यो । उनले पनि देशलाई संघीयताको आवश्यकता छ भनेका थिए । त्यसको निम्ति कैयौँपटक शान्तिपूर्ण आन्दोलनसमेत गरे । उनले मधेसका समस्यालाई भारतसम्म पु¥याए । मधेस आन्दोलनले उठाएका मुद्दाहरूको कल्पना उनले धेरैपहिला नै गरिसकेका थिए । अहिलेका मधेस केन्द्रित दलहरूले उठाएका मुद्दा उनले आफ्नो पुस्तकमा पहिला नै लेखिसकेका थिए ।

त्यसपछि मधेसमा नेपाल सद्भावना पार्टी नामक एउटा अर्को शक्तिको उदय भयो । नेपाल सद्भावना पार्टी मधेसी राजनीतिमा एक दरिलो स्तम्भको रूपमा लामो समय उभिन सफल भएको दल हो । कति मधेसवादी नेताहरूले सद्भावना पार्टीलाई शिक्षालयका रूपमा हेर्ने गरेको पाइन्छ । हुन त अहिले सद्भावना विलीन भइसकेको छ । तर सद्भावनाले उठाएका मुद्दाहरू अहिले पनि मधेसी राजनीतिका लागि मार्गरेखाका रूपमा प्रयोग हुने गरेका छन् । गजेन्द्रनारायण सिंह, रामजनम तिवारी र थप केही मधेसी नेताहरूको पहलमा शुरूमा नेपाल सद्भावना पार्टी नेपाल सद्भावना परिषद् नामक संस्थाको रूपमा दर्ता भयो ।

मधेसमा देखिएका समस्याहरू उक्त संस्थाद्वारा सरकारसमक्ष प्रवाह गरिन्थ्यो । पहिलो जनआन्दोलनपछि उक्त संस्थालाई राजनीतिक दलमा रूपान्तरण गरियो र नाम रह्यो– नेपाल सद्भावना पार्टी । सद्भावना परिषद् गठन हुनुपूर्व गजेन्द्रनारायण सिंह र रामजनम तिवारी नेपाली कांग्रेसमै थिए । उनीहरूले पाउने जति प्रतिष्ठा र समुचित ठाउँ कांग्रेसमा नपाएर र हर्क गुरुङको बसाइँ सराइप्रति असन्तुष्टि जनाउँदै कांग्रेसबाट अलग भई नेपाल सद्भावना परिषद् गठन गरेका हुन् । मधेसमा देखिएको नागरिताको समस्या तत्कालै समाधान हुनुपर्छ, शाही सेनामा मधेसीको समूहगत पदार्पण गराउनुपर्छ, देशमा संघीय प्रणाली अवलम्बन गर्नुपर्छ, सरकारी सेवामा दलित, मधेसी, जनजाति र अन्य सीमान्तकृत समुदायलाई आरक्षणको प्रावधान गर्नुपर्छ, भूमिहीनलाई भूमि उपलब्ध गराउनुपर्छ, जनसंख्याका अधारमा निर्वाचन क्षेत्र कायम गर्नुपर्छ, हिन्दी भाषालाई पनि राष्ट्रिय भाषाको रूपमा मान्यता दिनुपर्छ भन्नेजस्ता उचित मुद्दा सद्भावना पार्टीको मुख्य एजेन्डा थियो । गजेन्द्रनारायण सिंह मधेसका हक–अधिकार प्राप्तिका लागि कैयौँपटक अनशनसमेत बसे । उनी गान्धीवादमा विश्वास गर्थे । उनी अनुशासित र अहिंसात्मक राजनीतिमा आश्रय गर्थे । उनी जहिल्यै आफ्नो राजनीतिक यात्रामा नम्रता र शिष्टतालाई विशिष्ट अस्त्रका रूपमा प्रयोग गर्थे । उनलाई मधेसी राजनीतिको कोचभन्दा कुनै फरक नपर्ला । कारण उनले उठाएका मुद्दाहरू अहिले पनि मधेस केन्द्रित नेता र दलहरुले दिशानिर्देशको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । राज्यद्वारा मधेसीमाथि गरिएका अत्याचार र थिचाइलाई चिर्नु उनको मुख्य समदर्शी थियो । नेपालको दक्षिण भूभागमा बस्ने मधेसका नेपालीलाई अर्थात् मधेसीलाई काठमाडौंका केही मानिसले जहिल्यै पनि विदेशीको रुपमा हेर्थे । अहिले पनि थोरबहुत हेर्ने नजर त्यस्तै छ । मधेसीलाई विहारी, इन्डियन, भैया, भिखारीजस्ता शब्दले सम्बोधन गर्थे । धोती, कुर्ता, गम्छी मधेसको मौलिक पहिरन हो । तर काठमाडौंमा धोती–कुर्ता लगाउनेलाई भारतीय भनेर विनिपात गरिन्थ्यो । मधेसको भाषालाई मजाक बनाइन्थ्यो । यस्ता विभेद हटाउनका लागि उनी कांग्रेसबाट बाहिरिएर मधेस केन्द्रित राजनीतिमा होमिए । उनको मृत्यु हुनुभन्दा पहिलासम्म नेपालमा भएका सम्पूर्ण आन्दोलनमा उनी पूर्णरूपले सक्रिय थिए । उनी मधेस केन्द्रित राजनीतिमा रहँदा पनि मधेसबाहेकका सीमान्तकृत वर्गका लागि समेत अवाज उठाइरहे । उनले आफ्नो राजनीतिक जीवनमा विखण्डन भन्ने शब्दलाई कहिल्यै हाबी हुन दिएनन् । कतिले उनलाई विखण्डनकारी भनेर सम्बोधन गर्थे । तर उनमा यस्तो भाव कहिल्यै जागेन । मधेसीहरूले पनि अरू नेपालीसरह सम्मान पाउनुपर्छ भन्ने उनको मुख्य भास थियो । उनी गान्धीवादका पथमा हिँड्ने नेता थिए । गान्धीजस्तै हिंसाविना पनि राजनीति गर्न सकिन्छ भन्ने कुरा उनको सोचाइ थियो । तर पनि उनी काठमाडौंमा कयौँपटक प्रहरीबाट कुटिए । यो देश सानो भए पनि यहाँ धेरै जातजाति, भाषाभाषी, धर्म–संस्कृति, चाडपर्व, रीतिरिवाज, रहसहन छन् । एउटै किसिमका फूल भएका फूलबारीभन्दा कैयौँ गुणा विलक्षण विभिन्न फूल भएका फूलबारी हुन्छन् । मालीले सेतो फूललाई मात्र हेरचाह ग¥यो भने रातो फूल मर्छ । रातो फूलमा पनि सेतो फूलजस्तै पानी हाल्नुपर्छ । अनि मात्र फूलबारी हराभरा रहन्छ । हो, नेपाल पनि एउटा फूलबारी हो । मधेसी, पहाडी, हिमाली सबै फूलहरू हुन् । सबैलाई एकै दृष्टिकोण हेरेमात्र देशमा अभ्युत्थान र सुसम्पन्नताको जरा गाडिन्छ भन्ने उनको तर्क थियो । उनी धोती, कुर्ता लगाएर संसद् छिर्थे । संसद्मा हिन्दीमै बोल्थे, जसको कारण उनी निकै आलोचित पनि हुन्थे । संसद्मा प्रस्तुत गरिएको उनको मन्तव्य संसदीय अभिलेखमा कहिल्यै रेकर्ड गरिएन । कारण उनी हिन्दी भाषामै प्रस्तुत हुन्थे । मधेसी विदेशी होइनन्, मधेसी यही देशका निक्खर नागरिक हुन्, मधेसीलाई शोषण गर्न कदापि पाइँदैनजस्ता वाक्यांश उनले आफ्नो जीवनको आन्तिमसम्म पुनरावृत्ति गरिरहे । निर्दयिता र अत्याचारविरूद्ध दरिलो स्तम्भ बनेर उभिनुपर्छ भन्ने सन्देश उनले उत्पीडित जमातबीच छोडेर गए । जनआन्दोलनपछिको पहिलो चुनावमा सद्भावना पार्टीले आधा दर्जन सिट जित्यो । उनी सप्तरी कोइलाडीका थिए र सप्तरी जिल्लालाई नै आफ्नो चुनावी थलो बनाएका थिए । सप्तरीको माटोप्रति उनको निकै झुकाव थियो । ‘जय मातृभूमि’ उनको मूल मन्त्र थियो ।

२०४८ सालको चुनावपछि सद्भावना पार्टीमा केही मतभेद भयो । सरकारमा जाने वा नजाने विषय लिएर गजेन्द्रनारायण सिंह र रामजनम तिवारीबीच पार्टीभित्र वैचारिक द्वन्द्व शुरू भयो । सद्भावना सरकारमा समाहित भए भने रामजनम तिवारी सद्भावना पार्टी त्यागी नेपाली सद्भावना पार्टी (आर) गठन गरे । त्यसपछि सिंह पटक–पटक सरकारमा सहभागी भए । तिवारी आफूले खोलेको पार्टीबाटै मधेसको भलोको लागि अन्तिम समयसम्म संघर्ष गरिरहे । राजनीतिक जानकारहरूका अनुसार तिवारीले पद र सत्ताभन्दा जहिल्यै पर बस्न खोजे । तिवारी र सिंहबीच असन्तुष्टि भएदेखि नै सद्भावनाको फुटको अन्तर्कथा शुरू भयो । सद्भावना पार्टीको फुट–जुटको इतिहास धेरै लामो छ । गजेन्द्रनारायण सिंहको ०५८ माघ १० गते र रामजनम तिवारीको २०५६ वैशाख २९ गते मृत्यु भयो । गजेन्द्रनारायण सिंहलाई कतिले सत्तालुब्ध प्रवृत्तिका नेता थिए भन्ने गर्छन् । जहिल्यै पदकै पछाडि भागे भन्ने तर्क पनि कतिको छ । उनी २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य, २०४८ सालको प्रतिनिधिसभा सदस्य, २०५१ सालको प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्रीसमेत बने । त्यसैले उनलाई अवसरवादी नेताको ट्याग पनि लाग्ने गरेको देखिन्छ । सरकारमा सहभागी भएर पनि मधेसका मुद्दालाई जीवित राख्न सकिन्छ र सरकारमा सहभागी भएपछि जनताका लागि झन् धेरै काम गर्न सकिन्छ भन्ने उनको सोचाइ थियो । त्यसैले उनी सरकारमा सहभागी हुने गर्थे भन्ने धेरै जानकारहरूको बुझाइ छ । उनी आफ्नो सम्पत्ति बेचेर जनता र राजनीतिमा लगानी गर्ने नेता थिए । त्यसैले उनलाई सत्तालुब्ध प्रवृत्तिका नेता भन्नु कदापि उचित होइन । उनको मृत्यु भएको बाइस वर्ष भइसक्यो । उनले उठाएका मुद्दा अहिले कति अपूरा छन् भने कति पूरा पनि भएका छन् । उनको सिद्धान्त, शैली र मुद्दालाई मधेस केन्द्रित दलले मानचित्रको रूपमा अनुशरण गर्दै छन् ।