धूम्रपान र सुर्तीजन्य पदार्थ सेवनले ज्यान र धन जोखिममा

0
Shares

काठमाडौं । सरकार यतिबेला आगामी आर्थिक वर्षका निम्ति बजेट तर्जुमा गर्ने कार्यमा व्यस्त छ । हरेक वर्षजस्तै यस वर्ष पनि मदिरा र सुर्तीजन्य पदार्थमा करका दर वृद्धि हुने विषय ‘ओपन सेक्रेट’ नै छ ।

सरकारले राजस्व संकलनका निम्ति गतिलो आधार बनाएको मदिरा र सुर्तीजन्य पदार्थको कारोबारलाई यसपटक फरक ढंगबाट सोचिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मदिरा र सुर्तीजन्य पदार्थको कारोबार राजस्व संकलनको हतियारका रुपमा मात्रै नहेरेर जनस्वास्थ्यका दृष्टिबाट पनि विश्लेषण गरिनुपर्ने आवाज जनस्तरबाट उठेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा मदिरा र सुर्तीजन्य पदार्थको कारोबारमा करका दर मात्रै वृद्धि नगरेर यसको कारोबारमा समेत कडाइ गर्नुपर्नेमा सरोकारवालाको जोड छ । जनस्वास्थ्यमा निम्ति गम्भीर असर पार्ने मदिरा र सुर्तीजन्य पदार्थसम्बन्धी सरकारले अख्तियार गरेका नीति र कानुन र सरकार आफैंले हस्ताक्षर गरेका अभिसन्धिको पालना गर्नुपर्नेसमेत सरोकारवालाको धारणा छ ।

एक अध्ययनअनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार १ सय ३७ जना मानिसको ज्यान जाने गरेको छ । यो कुल मृत्युको १४ दशमलव ९ प्रतिशत हो । मानिसलाई लाग्ने मुटुरोगको २८ प्रतिशत कारण धूम्रपान देखिएको छ । चुरोट र सुर्तीमा ४ हजार ८ सयभन्दा बढी विषालु रासायनिक तत्वहरू रहेको वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । त्यस्तै चुरोट खाएर निस्केको धुवाँमा ८७ प्रकारका विषालु रसायनिक पदार्थहरू रहेको हुन्छ ।

तथ्यांकअनुसार नेपालमा ४८ दशमलव ४५ पुरुष र २८ दशमलव ७५ महिला धूम्रपान गर्दछन् । त्यस्तै १३ देखि १५ वर्ष उमेर पुगेका केटा १४ दशमलव ५ प्रतिशत र केटीहरू ४ प्रतिशतले धूम्रपान गर्दछन् । साथै २ दशलमलव ५ प्रतिशत केटाकेटीले निःशुल्क रुपमै चुरोट कम्पनी र प्रतिनिधिबाट चुरोट प्राप्त गरेको तथ्यांकले देखाएको छ ।

दिनहुँ चुरोट खाने व्यक्तिले औसत दैनिक ६ दशमलव ५ खिल्ली चुरोट खाने गरेको अध्ययनमा देखिएको छ । नेपालीले आफ्नो आम्दानीको १० देखि १५ प्रतिशतसम्म धूम्रपान र सुर्तीजन्य पदार्थको सेवनमा खर्च गर्दछन् । सुर्ती सेवनबाट वर्षेनी ४७ अर्ब रुपियाँको क्षति हुने गरेको सरकारी तथ्यांक छ । साथै विश्व स्वास्थ्य संगठनका अनुसार धूम्रपानका कारण वार्षिक साढे २ खर्ब डलर स्वास्थ्य उपचारमा खर्च हुँदै आएको छ ।

त्यस्तै सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सरमा १५० प्रतिशतले वृद्धि भएको छ भने सोही क्यान्सरका कारण हुने मृत्यु सन् २०१४ को तुलनामा सन् २०१८ मा ३५ प्रतिशतले बढेको छ । नेपालले सन् २००३ मा विश्व स्वास्थ्य संगठनको सुर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी सन्धिमा हस्ताक्षर ग¥यो र सन् २००६ मा उक्त सन्धिलाई अनुमोदन गरेको थियो ।

सुर्तीजन्य पदार्थको जथाभावी प्रयोग र कारोबार हुँदा सरकारले जनस्वास्थ्यका निम्ति ल्याएका कार्ययोजनाहरू निष्प्रभावी देखिएका छन् भने सरकारले त्यसको कारोबारबाट प्राप्त हुने राजस्वले आफ्नो न्यूनतम् आवश्यकतासमेत पूरा गर्न नसक्ने स्थिति छ ।

आर्थिक एवम् स्वास्थ्यका दृष्टिबाट नोक्सानले नोक्सानमा रहेको सुर्तीजन्य पदार्थलाई रोक लगाउनेतर्फ सरकारले कदम चाल्नुपर्ने पक्षमा जनस्तरबाट आवाज उठेको छ ।

कानुनी अवस्था :

सुर्तीजजन्य पदार्थको नियन्त्रण तथा नियमन ऐन, २०६८ का व्यवस्थाहरू अनुसार सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन गर्न निषेध गरेको छ तथापि, सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको प्रयोग निर्वाध हुँदै आएको छ । सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन ऐन–२०६८ को दफा ४ र ५ कसैले पनि सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न पाइने छैन भन्ने प्रष्ट उल्लेख गरिएको छ । सार्वजनिक स्थाल भन्नाले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, शिक्षण संस्था, सार्वजनिक यातायात र प्रतिक्षालय, सार्वजनिक शौचालय आदि मानिनेछ । यसको उल्लंघन भएको खण्डमा उक्त व्यक्तिलाई १०० रूपियाँ जरिवाना र उक्त स्थानबाट निकाला गरिने व्यवस्था रहेको छ

विश्वव्यापी अवस्था :

ग्लोबल बर्डन अफ डिजिजेज नामक अध्ययनले सन् १९९० देखि २०१५ सम्म १९५ देशमा गरिएका धूमपानका प्रवृतिबारेको अनुसन्धानमा झण्डै एक अर्ब मानिसहहरुले धूमपान गर्ने देखाएको छ । सन् २०१५ सम्म आइपुग्दा धूमपानका कारण ज्यान गुमाउनेको संख्या सन् १९९० को तुलनामा ४.७ प्रतिशतले बढेर ६४ लाख पुगेको छ ।

–नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार १३७ जनाको मृत्यु ।
–सुर्तीजन्य पदार्थको सेवनबाट विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको मृत्यु तथा १२ लाख जनाको मृत्यु धूम्रपान गर्नेका साथी ।
–मुटुरोगको २८ प्रतिशत कारण धूम्रपान ।
–चुरोट र सुर्तीमा ४ हजार ८ सयभन्दा बढी विषालु रासायनिक तत्व ।
–चुरोटको धुवाँमा ८७ प्रकारका विषालु रसायनिक तत्व ।
–सूर्ती सेवनबाट वर्षेनी ४७ अर्ब रुपियाँको क्षति ।
–सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक साढे २ खर्ब डलर स्वास्थ्य उपचारमा खर्च ।
–नेपालीद्वारा आम्दानीको १५ प्रतिशतसम्म सुर्तीजन्य पदार्थको सेवनमा खर्च ।
–नेपालमा ४८.४५ प्रतिशत पुरुष र २८.७५ प्रतिशत महिलाद्वारा धूम्रपान ।