सहकारीको रकम तिर्न नसकेपछि ढोरपाटनका मेयर फरार

0
Shares

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपाली सहकारीको करोडौं रुपियाँ तिर्न नसकेपछि सम्पर्कविहीन भएका हुन् । कुनै बेला घरको छतमा हेलिकोप्टर रोक्ने, निकै तामझामका नेताहरूलाई आफ्नो प्रभावमा पारेका नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरूको आरोप छ ।

‘जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरूले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले सम्पर्क गर्न खोज्यौं । तर, उहाँ सम्पर्कविहीन हुनुहुन्छ’ –बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भन्नुभयो । श्रेष्ठका अनुसार ४ दिन अगाडि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएका कारणले निरन्तर रूपमा मानसिक तनाव आएको भन्दै मेयर नेपालीले पत्र दिएका थिए । पत्रमा मानसिक तनावका कारण केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने भन्दै उनले आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गरेको श्रेष्ठले बताउनुभयो । ‘उहाँले प्रहरीमा निवदेन दिएर हराउनुभएको रहेछ, नगरपालिकाको तर्फबाट केही जानकारी नआए पनि प्रशासनले निरन्तर खोजिरहेको छ’ –प्रजिअ श्रेष्ठले भन्नुभयो ।

नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले आफूलाई कार्यवाहक नगर प्रमुख दिएर उहाँ अहिले सम्पर्कविहीन भएको बताउनुभयो । ‘उहाँले ५ गते आफू नआउन्जेल कार्यवाहक चलाउनुस् भन्ने पत्र दिएर जानुभएको थियो, त्यसपछि कहाँ हुनुहुन्छ भन्ने थाहा छैन, फोन पनि अफ छ सम्पर्क पनि भएको छैन’ –उपप्रमुख कायतले बताउनुभयो । आफूले सहकारीमा समस्या थियो भन्ने सुनेको, पत्र दिएपछि कहाँ जानुभयो, किन हराउनुभयो भन्ने केहीबारेमा केही थाहा नभएको उपप्रमुख कायतले बताउनुभयो ।