बाल विवाह न्यूनीकरणको लागि किशोरीहरुलाई एक लाख उपहार 



सिन्धुली । 

 सिन्धुलीको मरिण गाउँपालिका ७ कि मन कुमारी कँडेल अहिले त्रिभुवन विश्वविद्यालयमा मास्टर डिग्री तेस्रो सेमिस्टारमा पढ्दै हुनुहुन्छ । २०७६ सालमा स्नातक तहको पढाई आफ्नै गाउँमा रहेको मरिण बहुमुखी क्याम्पसबाट पूरा गर्नुभएकी कँडेललाई शनिबार मरिण गाउँपालिकाले एक लाख रुपैयाँ उपहार दिएको छ ।
विवाह गर्नुभन्दा अघि नै स्नातक तह सम्मको पढाई पूरा गरेको भन्दै गाउँपालिकाले कँडेललाई प्रोत्साहन स्वरूप १ लाख रुपैयाँ उपहार दिएको हो ।

शनिबार आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन) को हातबाट गाउँपालिकाले दिएको प्रोत्साहन रकमको चेक लिँदै गर्दा कँडेलको अनुहार निक्कै हर्षित देखिन्थ्यो । ‘गाउँपालिकाले प्रोत्साहन स्वरूप दिएको रकमले अब मास्टर डिग्री पढ्न सहयोग हुने भएको छ । पढाई बाहेक अरु केही नयाँ काम गरौँ न भन्दा पनि यो प्रोत्साहन रकमले थप बल पुग्ने भयो । गाउँपालिकाको यो कार्यक्रम प्रति खुसी छु । यो कार्यक्रमले म जस्ता किशोरीहरुलाई उच्च शिक्षा पढ्न मद्दत गर्छ’ कँडेलले भन्नुभयो ।

प्रोत्साहन रकम वितरण कार्यक्रममा मरिण गाउँपालिका ६ की विमला तामाङले पनि एक लाख रुपैयाँ पाउनुभयो । उहाँले पनि स्नातक तह सम्मको पढाई मरिण बहुमुखी क्याम्पसमै गर्नुभएको हो । अहिले त्रिभुवन विश्वविद्यालयमा मास्टर डिग्रीको पढाई सुरु गर्नुभएकी तामाङले गाउँपालिकाले दिएको एक लाख रुपैयाँ रकम आफ्नो पडाइमै खर्च गर्ने बताउनुहुन्छ । प्रोत्साहन रकम पाइने भएपछि गाउँपालिकाका किशोरीहरु तथा अभिभावकहरुमा कम्तीमा पनि स्नातक तह सम्म पढेर मात्रै विवाह गर्नु पर्छ भन्ने भावनाको विकास गराउने तामाङले बताउनुभयो ।

२०७९ साल स्नातक तहको पढाई पुरा गर्नुभएकी मरिण गाउँपालिका ७ की अविवाहित किशोरी सुकृता घिसिङले पनि शनिवार प्रोत्साहन रकम पाउनुभयो । आर्थिक अभाव र विभिन्न कारणले बिचैमा पढाई छोडेर विवाह गर्ने किशोरीहरुलाई एक लाख रुपैयाँ लिनकै लागि भए पनि पढ्नु पर्छ भन्ने भावना बढ्ने घिसिङ बताउनुहुन्छ ।

मरिण गाउँपालिकाले बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले शनिवार स्नातक तह उत्तीर्ण गरी विवाह गरेका तथा अविवाहित ५ जना किशोरीहरुलाई जनही एक÷एक लाख रुपैयाँ प्रोत्साहन रकम दिएको हो । गाउँपालिका भित्रको मात्रै क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका विवाहित तथा अविवाहित किशोरीहरुलाई गाउँपालिकाले प्रोत्साहन रकम दिएको छ । आर्थिक वर्ष २०७९÷०८० को गाउँसभाबाट स्वीकृत निति तथा कार्यक्रम अनुसार कार्यविधि बनाएर स्नातक तह उत्तीर्ण किशोरीहरुलाई प्रोत्साहन स्वरूप एक/एक लाख रुपैयाँ दिइएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो । प्रोत्साहन रकमले गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न तथा उच्च शिक्षामा महिलाहरुको पहुँच बढाउन मद्दत पुग्ने गाउँपालिकाका अध्यक्ष मुक्तानको विश्वास छ ।

प्रोत्साहन रकम वितरण गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले स्नातक तह उत्तीर्ण किशोरीहरु प्रोत्साह उपहार दिने कार्यक्रमले बाल विवाह न्यूनीकरणको लागि सामाजिक जागरण पैदा गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्